बुध्द एयरले तोक्यो न्यूनतम भाडादर, सुरक्षित यात्राका लागि हवाई उडानको विकल्प छैनः बीरेन्द्र बस्नेत



काठमाडौं । विभिन्न स्थलमार्ग भइ काठमाडौं उपत्यकामा प्रवेश गर्नेहरुका कारण कोरोना संक्रमणको जोखिम बढेको भन्दै बुध्द एयरले त्यसको एकमात्र विकल्प सुरक्षित हवाई यात्रा भएको बताएको छ ।

बुध्द एयरका प्रबन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेतका अनुसार १०औं हजार रुपैयाँ खर्च गरी २/३ दिनसम्म लगाएर काठमाडौं प्रवेश गर्नेका कारण कोरोना जोखिम बढेको भन्दै त्यसको विकल्पमा आन्तरिक हवाई उडान सूचारु गर्नुपर्ने आवश्यकता भएको छ ।

उनका अनुसार अहिले मानिसहरु बाहिरी जिल्लाबाट ठूलो रकम खर्चेर काठमाडौं आइरहेका छन् । तर हवाई उडान भयो भने एकातिर सस्तो भाडादरमा काठमाडौं आउन पाउँछन् भने ट्रेसिङका लागि पनि समस्या पर्दैन् ।

यद्यपि पूर्वतयारी स्वरुप बुध्द एयरले लामो समयदेखि गृहकार्य गरिरहेकाले संक्रमणको कुनै सम्भावना नहुने गरी सेवा प्रवाह गर्ने बताएको छ ।

लकडाउनका कारण ५ महिनायता आन्तरिक हवाई उडान बन्द भएको छ भने चार्टर्डलगायतका अन्तर्राष्ट्रिय उडान भने दैनिक १० देखि १२ वटासम्म भइरहेका छन् ।

बस्नेतका अनुसार आन्तरिक हवाई उडान सूचारु हुनु भनेको समग्र पर्यटन तथा आर्थिक क्षेत्रका लागि आत्मविश्वास बढाउनु पनि हो, यसले पर्यटन क्षेत्रसँगै समग्र क्षेत्रको आत्मविश्वास पनि बढ्छ ।

‘अहिले लुकिछिपि उपत्यका प्रवेश गर्ने बढेका छन्, उनीहरु कति संख्यामा कसरी प्रवेश गर्ने भन्ने तथ्यांक पनि छैन, तर हवाई उडानमा स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरिनुका साथै सम्पूर्ण यात्रुको विवरण राखिने भएकाले कन्ट्रयाक ट्रेसिङ गर्न समेत सहयोग हुन्छ,’ उनले भने, ‘यात्रुहरु सस्तो भाडादरमा काठमाडौं आउन सक्ने भएकाले हवाई उडान सूचारु हुन अति आवश्यक भएको छ ।’

कम्पनीले हवाई यात्रामा हरेक यात्रुलाई पहिचान गर्नका लागि एकद्वार प्रणाली अपनाएको जनाएको छ ।

जसअनुसार कम्प्युटर सिस्टम पनि अपडेट गरिएको छ भने यसले महामारी रोकथामका लागि गर्नुपर्ने परीक्षण, पहिचान र कन्ट्रयाक ट्रेसिङ कम्प्युटर सिस्टमबाट केही क्षणमै राज्यलाई उपलब्ध गराउन सकिने कम्पनीको भनाइ छ ।

यसबाट राज्यलाई महामारी समूदायमा फैलिनबाट रोक्न मद्दत पुग्नेछ भने देशको अर्थतन्त्र पनि चलायमान हुने कम्पनीको भनाइ छ ।

‘आन्तरिक वायु सेवालाई बन्द गरिएको अवस्थामा सर्वसाधारण नेपालीहरु यात्राका लागि तरकारी भ्यान, एम्बुलेन्स, ट्रक, बसमा कोचिएर मात्रै होइन, १०औं हजार रुपैयाँ खर्च गरी घण्टाभरमै यात्रा गर्न सक्नेमा केही दिन लगाएर यात्रा गर्न बाध्य छन्,’ बुध्द एयरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता यात्रुहरुलाई राज्यले यात्रा गर्नबाट रोक्नु भनेको मौलिक अधिकारको हनन गर्नु हो । तसर्थ यात्रालाई सहज बनाउँदै, कोभिड-१९ को चेकजाँचको दायरा फराकिलो बनाउनु राज्यको दायित्व हो ।’

बीरेन्द्र बहादुर बस्नेत, प्रबन्ध निर्देशक/बुध्द एयर

संक्रमित व्यक्तिसँग असुरक्षित तवरले घण्टौ यात्रा गर्दा संक्रमण फैलन सक्ने जोखिम बढेको भन्दै बुध्द एयरले पछिल्लो समय काठमाडौं उपत्यका तथा देशभित्र दिनहुँ संक्रमित बढ्नुमा यो नै मुख्य कारण रहेको कम्पनीको भनाइ छ ।

बुध्द एयरले कोभिड-१९ विरुद्ध सुरक्षा निर्देशिका बनाई पूर्व अभ्यास समेत गरिरहेको छ ।

‘हरेक उडान अगाडि जहाज, ब्यागेज ट्रली, कार्यस्थलको संक्रमणरहित सरसफाई, कर्मचारीहरुलाई सुरक्षा तालिम, तथा पिपिई प्रदान गरिसकेको छ । संक्रमणरहित हवाई यात्राका लागि हामी प्रतिवद्ध छौं । यसका लागि हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, दोहरो तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइज तथा फेसशिल्डको प्रयोग अनिवार्य बनाएको छौं । विदेशमा पनि यसैगरी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सुचारु भइसकेको छ,’ कम्पनीले भनेको छ ।

बुध्दले घटायो भाडादर

बुध्द एयरले काठमाडौंदेखि उडान हुने विभिन्न गन्तव्यका लागि शुरुवाती भाडादर घटाएको छ ।

भदौ १ गतेदेखि आन्तरिक र बाह्य हवाई उडान खुला गर्ने सरकारको निर्णयसँगै बुध्द एयरले न्यूनतम भाडादरमा सेवा उपलब्ध गराउने उद्देश्यले सबै गन्तव्यका लागि न्यूनतम भाडादर कायम गरेको हो ।

बुध्द एयरले अहिले काठमाडौंदेखि विभिन्न गन्तव्यका लागि शुरुवाती एकतर्फी हवाई भाडादर कायम गरेको हो ।

जसमध्ये बुध्द एयरले बिराटनगरका लागि न्यूनतम ३ हजार रुपैयाँ, भैरहवाका लागि २७ सय रुपैयाँ, नेपालगञ्जका लागि ४२ सय रुपैयाँ, पोखराका लागि १९ सय रुपैयाँ, भद्रपुर ३४ सय रुपैयाँ भाडादर कायम गरेको छ ।

त्यसैले बुध्द एयरले जनकपुरका लागि २७ सय रुपैयाँ, धनगढीका लागि ५४ सय रुपैयाँ कायम गरेको छ ।


क्लिकमान्डु