भदौ १ मा हुने हवाई उडान अन्योलमा, खतिवडाले भने- अति उदार भएर खोल्ने परिस्थिति छैन



काठमाडौं । सरकारले भदौ १ गतेदेखि हवाई उडान सञ्चालन गर्ने भनेपनि सोही मितिबाट नियमितरुपमा सञ्चालन हुनेमा भने अन्योलता छाएको छ ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा तत्कालै सञ्चालन गर्न सकिने अवस्था नदेखिएको भन्दे त्यसबारेमा पछि निर्णय लिने सञ्चारमन्त्री तथा सरकारकाले प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

‘अहिले जुन किसिमको जोखिम बढेको छ, त्यो जोखिमले अहिले अति उदार भएर सार्वजनिक यातायात खोल्ने, विद्यालय सञ्चालन गर्ने, उडान नियमित गर्ने परिस्थिति अहिले बनेको छैन,’ उनले भने ।

उनका अनुसार केही दिनभित्र सीसीएमसीको बैठक बसेर यी सबै विषयमा रिभ्यू गर्छौ र त्यसका आधारमा मन्त्रिपरिषदको बैठकले गर्ने निर्णय गर्ने छ ।

‘जोखिम बढ्दैछ, सार्वजनिक यातायात खोली नहालौं, अन्तर्राष्ट्रिय उडान पनि अति आवश्यक बाहेक सञ्चालन नगारौं, आन्तरिक हवाई सेवा पनि सञ्चालन गरी नहालौं भन्ने पनि कुरा आइरहेको छ । तर केही न्यूनतम कुराहरु गरेनौं भने हामीलाई एकदमै कठीन हुन्छ । आर्थिकरुपमा श्वास फेर्न पनि कठीन हुन्छ भन्ने कुराहरु पनि आइरहेका छन्,’ उनले भने ।

मन्त्री खतिवडाले विदेशबाट आउनेहरुको हकमा पनि निर्णय गर्ने बताए ।

‘शुरुमा अलपत्र परेका नेपाली भन्यौं, त्यसबेलामा ५ हजारबाट ४५ हजार पुगिसकेको अवस्था छ । अझै ४५ हजारको लिस्ट दुतावासमा छ । कति आफ्नो भिसाको म्याद सकिएर त कतिपय स्वभाविकरुपमा फर्कन चाहनु भएको छ । उद्दार गर्नैपर्नेलाई ल्याउनुपर्छ, तर जो केही समय त्यहाँ बस्दा सुरक्षित हुनेलाई अवस्था केही सहज भएपछि ल्याउने पक्षमा छौं,’ उनले भने ।

 


क्लिकमान्डु