सरकारले तोकेभन्दा १ हजार सस्तोमा पीसीआर परीक्षण गर्दै विध म्यानेजमेन्ट, ५ घन्टामै रिपोर्ट



काठमाडौं । सरकारले तोकेभन्दा १ हजार रुपैयाँ सस्तो शुल्कमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्नका लागि विध म्यानेजमेन्ट कम्पनीले अनुमति पाएको छ ।

कम्पनीका अनुसार साउन १५ गतेदेखि औपचारिक रुपमा परीक्षण शुरु गर्नेछ । हाल कम्पनीले दैनिक ४ हजारभन्दा बढी नमूनाको पीसीआर परीक्षण गर्ने लक्ष्य लिएको छ । कम्पनीका अनुसार सरकारबाट ५ हजार ५ सय रूपैयाँमा पीसीआर परीक्षण गर्न अनुमति दिए पनि सहजरूपमा सबैले परीक्षण गर्न पाउन भन्ने ध्ययेले १ हजार रूपैयाँ सस्ताे गरी ४ हजार ५ सय रूपैयाँमा नै परीक्षण गर्न पाउने व्यवस्था मिलाइएको छ ।

कम्पनीले काठमाडौंको युएनपार्क नजिकै रहेको हालसम्मकै ठूलो र अत्याधुनिक प्रयोगशाला स्थापना गरेको छ । सरकारले ७ वटा निजी प्रयोगशालालाई पीसीआर परीक्षण गर्न अनुमति दिएको छ ।

‘विपदको समयमा सकिन्छ भने सस्तो मूल्यमै परीक्षण गरौं भन्ने सोचका लागेका छौं,’ ल्यावका प्रमुख विके भण्डारीले भने ।

उनका अनुसार हाल प्रयोगशालामा ५ वटा पीसीआर परीक्षण गर्ने मेसिन छन् । ५ वटा मेसिनले दैनिक ४ हजार २ सय वटा नमूना परीक्षण गर्न सक्छन् ।

उनका अनुसार प्रयोगशालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार १२ गते नै स्थापनाका लागि आशयपत्र दिएको थियो । उक्त आशय पत्र प्राप्त भएको एक सातामै कम्पनीले प्रयोगशाला तयार पारेको थियो ।

प्रयोगशालामा ५ थान अटोमेटिक आर एन ए एक्ट्याक्सन मेसिन समेत जडान भइसकेको छ । हाल मुलुकभर विभिन्न २३ वटा प्रयोगशालामा पीसीआर परीक्षण भइरहेको छ ।


क्लिकमान्डु