पार्टीले दबाव दिएपछि मात्रै नक्सा पास गर्न ओली तयार हुनु भएको होः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता र पहलमा नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको बताएका छन् ।

पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवशरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले बैठक चलिरहेकै बेला निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताको प्रक्रिया प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्षको पहल र सक्रियातामा भएको दाबी गरे ।

पार्टीमा बैठक चलिरहेका बेला आयोगमा दल दर्ताको प्रकृया सुरु हुनु र देशभरी जिन्दावाद, मुर्दावादको नारा लाग्नुले पार्टी संकटमा रहेको प्रष्ट पारेको उनले बताए । यतिबेला पार्टी संकटमा छ, अहिले ठिकठाक छ भनेर मैले भने पनि त्यो सत्य नभएको उनको भनाइ थियो ।

‘अहिले देशभरी नै मुर्दावाद र जिन्दावादका नारा लगाइएको छ, हामी पार्टीमा छलफलमा छौं, पार्टीलाई कसरी एकतावद्ध बनाउने भन्नेमा केन्द्रित छौं,’ उनले भने ।

अध्यक्ष दाहालले नेपालको अद्यावधिक नक्सा जारी भएको विषयमा कुनै एक व्यक्तिलाई मात्रै जस दिनु न्याय संगत नभएको समेत बताए ।

‘पार्टीले निर्णय गरेर दबाव दिएका कारण प्रधानमन्त्री ओली नक्सा पास गर्न सहमत हुनु भएको हो,’ उनले भने ।

उनले मंसिरमा पार्टीको स्थायी समिति र माघका केन्द्रीय समितिबाट नक्सा जारी गर्नुपर्ने निर्णय गरेपनि सरकारले ‘नक्सा जारी गर्ने होइन भूमि फिर्ता गर्ने ठूलो कुरा हो’ भनेर भनेको स्मरण गरे ।
अन्तिम समयसम्म पनि नक्सा जारी गर्ने तयारी सरकारले नगरेपछि नीति कार्यक्रम सार्वजनिक हुने दिन बसेको सचिवालय बैठकमा नेताहरुले नक्सा जारी गर्नुपर्छ भनेपछि प्रधानमन्त्री तयार भएको बताए ।

प्रधानमन्त्री सहमत भएपछि सचिवालय बैठक चलिरहेकै बेला मुख्य सचिवलाई फोन गरेर नीति कार्यक्रममा त्यो विषय थप्न लगाएको उनले बताए ।

‘भारतले नक्सा जारी गरेपछि हामीले आफ्नो एक इन्च भूमि पनि छोड्न सक्दैनौ भन्ने उद्घोषसहित स्थायी समितिबाट तुरुन्तै नक्सा प्रकाशित गर्नुपर्छ भनेर निर्णय गर्यौं,’ उनले भने, ‘सरकारलाई यो नक्सा प्रकाशित गर्न ढिलो गर्नु हुँदैन भनेर मंसिरर २९ बाट शुरु भएको स्थायी समितिबाट नक्सा निकाल्ने कुरा गरिएको हो ।’

दाहालले पहिले उनीहरुले नक्सा निकाले हामी पनि निकालौँ अनि भूमि फिर्ताको काम पनि हामीले गर्नैपर्छ भनेर माघमै बसेको केन्द्रीय समिति बैठकमा पनि भनिएको बताए । तर अन्तिम समयसम्म पनि सरकारले नक्सा प्रकाशनको तयारी नगरेपछि पार्टीले निर्णय गरेको बताए ।

‘अन्तिम समयमा नीति कार्यक्रम सम्बन्धि राष्ट्रपतिको सम्बोधन हुने दिन विहानै बसेको सचिवालय बैठकमा हामीले नक्सा प्रकाशित गर्ने कुरा नीति कार्यक्रममा पर्नै पर्यो भन्यौँ । अन्तिममा प्रधानमन्त्री पनि सहमत हुनुभयो र बैठकबाटै मुख्य सचिवलाई फोन गरेर त्यसमा थप्ने कुरा भयो,’ उनले भने ।

दाहालले पार्टीको निर्णयपछि भएको नक्सा जारी गर्ने निर्णय कुनै व्यक्तिको खल्तिमा हाल्ने प्रयास भएको बताए ।
‘यो प्रयास इमान्दार प्रयास हुन सक्दैन । त्यसले फेरि अर्को भ्रम पैदा हुन्छ । त्यो पार्टी जसले नक्सा प्रकाशित गर्नुपर्छ भनेर निर्णय गराए उनीहरु राष्ट्रघाती, दलाल जसले नक्सा प्रकाशन गर्न यति महिना ढिला गर्यो उ चाँही देवत्वकरण भन्ने हुन सक्दैन्,’ उनले भने ।

अध्यक्ष दाहालले पार्टीको विवेकले सत्ता सञ्चालन हुनुपर्नेमा त्यसो हुन नसकेको समेत बताए ।सत्ताले पार्टीमाथि हैकम जमाउने अवस्था आएमा कम्युनिष्ट पार्टीको मान्यतावितपरीत हुन आउने उनको भनाइ छ ।


क्लिकमान्डु