सरकारलाई बढी कर बुझाउनेमा एनसेलको अधिपत्य कायमै, उत्कृष्ट १० मा ५ वटा बैंक



काठमाडौं । सरकारलाई बढी कर बुझाउने कम्पनीमा एनसेलले आफ्नो अधिपत्य कायम राखेको छ । एनसेल पछिल्ला वर्षहरुमा सबैभन्दा बढी आयकर बुझाउने कम्पनी हो ।

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ३३ अर्ब ९५ करोड रुपैयाँ आयकर बुझाएको छ । यसमा एनसेलको खरिदबिक्री हुँदा बुझाएको २२ अर्ब रुपैयाँ जोडिएको छ । २२ अर्ब रुपैयाँ घटाउने हो भने गतवर्षको नाफाबाट एनसेलले ११ अर्ब ९५ करोड रुपैयाँ आयकर बुझाएको छ ।

दोस्रोमा भने सरकारी लगानीको नेपाल टेलिकम रहेको छ । नेपाल टेलिकमले गतवर्षको नाफाबाट ८ अर्ब ७ करोड रुपैयाँ आयकर वापत बुझाएको छ । आयकरतर्फ एनसेल र नेपाल टेलिकमले गतवर्षको नाफाबाट ४२ अर्ब रुपैयाँ बुझाएका छन् ।

तेस्रोमा पूर्ण सरकारी लगानीको नेपाल आयल निगम छ । आयल निगमले ५ अर्ब ४३ करोड रुपैयाँ राजस्व बुझाएको छ ।

चौथोमा टेलिकम क्षेत्रको नियामक निकाय दुरसंचार प्राधिकरण रहेको छ । प्राधिकरणले ३ अर्ब ८२ करोड रुपैयाँ बुझाएको छ ।

पाँचौं स्थानपछि भने बढी आयकर बुझाउने कम्पनीमा वाणिज्य बैंकहरुको अधिपत्य छ । विगतमा पनि वाणिज्य बैंकहरुको संख्या नै बढी हुने गरेको थियो ।

गतवर्ष नाफाबाट नबिल बैंकले २ अर्ब १८ करोड रुपैयाँ आयकर बुझाएको छ । बढी आयकर बुझाउनेमा छैटौ कम्पनी रहेको नबिल बैंक वाणिज्य बैंकहरुमा सबैभन्दा बढी आयकर बुझाउने बैंक हो ।

यस्तै सातौमा ५१ प्रतिशत सरकारी लगानी रहेको कृषि विकास बैंक रहेको छ । कृषि विकास बैंकले २ अर्ब ५ करोड बुझाएको छ ।

आठौं स्थानमा पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक छ । राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब २ करोड रुपैयाँ आयकर बुझाएको छ ।

यस्तै नवौं स्थानमा ५१ प्रतिशत सरकारी लगानी रहेको नेपाल बैंक छ । नेपाल बैंकले १ अर्ब ८६ करोड रुपैयाँ आयकर बुझाएको छ ।

गतवर्ष बिग मर्जर गरेको ग्लोवल आइएमई बैंक बढी आयकर बुझाउने कम्पनीको १० नम्बरमा पर्न सफल भएको छ । ग्लोवल आइएमई बैंकले १ अर्ब ८१ करोड रुपैयाँ बुझाएको छ ।

ठूला करदाता कार्यालयका अनुसार यसरी आयकर बुझाएको रकम भने पूर्णरुपमा लेखापरीक्षण हुँदा फरक पर्छ । पुस मसान्तभित्रमा लेखापरीक्षण गर्नुपर्ने व्यवस्था छ ।

बिक्रीको आधारमा उपभोक्ताबाट उठेको मूल्य अभिवृद्धि कर(भ्याट) बढी बुझाउनेमा सूर्य नेपाल रहेको छ । सुर्य नेपाल प्रालिले ३ अर्ब ८७ करोड रुपैयाँ गतवर्ष भ्याट बुझाएको छ ।


दोस्रोमा रहेको एनसेलले ३ अर्ब २१ करोड तथा नेपाल टेलिकमले २ अर्ब ३३ करोड रुपैयाँ भ्याट बुझाएको छ ।

गोर्खा ब्रुअरीले १ अर्ब ९३ करोड रुपैयाँ भ्याट बुझाएको छ । आयल निगमले १ अर्ब ६५ अर्ब रुपैयाँ भ्याट बुझाएको छ । श्रीराम टोबाको ६१ करोड रुपैयाँ भ्याट बुझाएर भ्याट बुझाउने कम्पनीमा छैटौ कम्पनीमा परेको छ । श्रीराम टोबोकोलाई गतवर्ष नै कर छलेको आरोपमा राजस्व अनुसन्धानले मुद्दा समेत दायर गरेको थियो ।

गाडीको व्यापार गर्ने सिपद्री ट्रेडिङ ५९ करोड रुपैयाँ भ्याट बुझाएर आठौं स्थानमा छ । शिवम् सिमेन्ट ५८ करोड रुपैयाँ भ्याट बुझाएको छ । सिजी ब्रुअरीले ५० करोड भ्याट बुझाएर नवौं स्थानमा आएको छ । १०औं स्थानमा ४७ करोड रुपैयाँ भ्याट बुझाएर इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक छ ।


क्लिकमान्डु