आन्तरिक उडानका लागि बुध्द एयरले बुकिङ शुरु गर्यो, अन्य कम्पनी तयारीमा, भाडा कति ?



काठमाडौं । सरकारले करिब ५ महिनापछि आन्तरिक र बाह्य हवाई उडान सूचारु गर्ने निर्णय गरेसँगै विमान कम्पनीहरुले टिकट बुकिङ शुरु गरेका छन् । सोमबार मन्त्रिपरिषदको बैठकले भदौ १ गतेदेखि हवाई उडान शुरु गर्ने र त्यसका लागि पर्यटन मन्त्रालयलाई प्रोटोकल बनाउन निर्देशन दिएको थियो ।

यसैबीच आन्तरिक उडानका लागि निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले बुकिङ शुरु गरिसकेको छ । बुध्द एयरका अनुसार भदौ १ गतेदेखिका लागि टिकट बुकिङ शुरु भइसकेको छ ।

बुध्द एयरका प्रबन्ध निर्देशक बीरेन्द्र बस्नेतका अनुसार भदौ १ गतेदेखिका लागि आन्तरिक उडानतर्फका सबै गन्तव्यका लागि टिकट बिक्री शुरु भइसकेको छ ।

‘सरकारले भदौ १ गतेदेखि आन्तरिक उडान शुरु गर्ने भनिसकेको अवस्थामा हामीले पनि टिकट बिक्री शुरु गरेका हौं,’ बस्नेतले भने ।

तर यता बुध्द एयरले टिकट बुकिङ शुरु गरे पनि यति र श्री एयरलाइन्सले भने अझै बुकिङ शुरु गरिसकेका छैनन् ।

यति एयरलाइन्सका सीइओ अनोज रिमालले भने आफूहरु तयारी अवस्थामा रहेको तर टिकट बुकिङ भने खुला नगरिसकेको बताए ।

‘सोमबार सञ्चारमाध्यममा अगस्ट १७ देखि हवाई उडान शुरु हुने समाचार आयो तर हामीलाई सञ्चालनका लागि कुनै सूचना आएको छैन, तर सरकारले भनेकै समयमा हामी सेवा दिन तयारी अवस्थामा छौं,’ रिमालले क्लिकमाण्डूसँग भने ।

त्यसैगरी श्री एयरलाइन्सले पनि हालसम्म कुनै पनि गन्तव्यका लागि टिकट बुकिङ गरेको छैन ।

‘हालसम्म सेड्युल फिक्स भएको जानकारी नआएकाले टिकट बिक्री तथा बुकिङ गरेका छैनौं,’ एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले भने । उनका अनुसार आफूहरु तयारी अवस्थामा रहेको र सरकारले भनेकै समयमा उडान गर्न सक्ने बताए ।

यसअघि वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले पर्यटन क्षेत्र संकटमा परेको भन्दै कुनै पनि हालतमा हवाई उडान सूचारु गर्नुपर्ने बताए । उनले कोरोनाका कारण यात्रु नपाए पनि सेवा सूचारु गर्न तयार रहेको बताए ।

यसअघि गत साउन १ गते विभिन्न तीन दर्जन जति पर्यटन व्यवसायी संघ संस्थाले साउन १५ गतेदेखि आन्तरिक र ३१ गतेदेखि बाह्य उडान हुनुपर्ने माग गरेका थिए । उनीहरुले पर्यटन क्षेत्रको विकासका लागि हवाई उडान प्रमुख भएकाले सबैभन्दा पहिले हवाई उडान सुचारु गर्नुपर्ने तर्क गरेका थिए ।

बुध्द एयरको भाडा कति ?

बुध्द एयरले काठमाडौंदेखि भद्रपुर जानका लागि ८ हजार ६३८ रुपैयाँ कायम गरेको छ । त्यसैगरी भैरहवाका लागि ५ हजार ६५९ रुपैयाँ, भरतपुरका लागि ३ हजार ३४२ रुपैयाँ, बिराटनगरका लागि ६ हजार ७१७ रुपैयाँ, धनगढीका लागि १० हजार ९६६ रुपैयाँ भाडा कायम गरेको छ ।

त्यसैगरी जनकपुरका लागि ३ हजार ८७१ रुपैयाँ, नेपालगञ्जका लागि ९ हजार ३१२ रुपैयाँ, पोखराका लागि ४ हजार ६३० रुपैयाँ, सिमराका लागि २ हजार ८५२ रुपैयाँ, सुर्खेतका लागि १० हजार २९२ रुपैयाँ भाडा कायम गरेको छ ।


क्लिकमान्डु