होटल व्यवसायी र ट्रेड युनियनबीच सहमतिः ५ तारे होटलमा काम गर्नेले १० हजार पाउने



काठमाडौं । होटल व्यवसायी र ट्रेड युनियनबीच लकडाउनको समयमा तलब सुविधाको विषयमा सहमति भएको छ ।

यो समझदारी ‘बाँचौं र बचाऔं’ भन्ने अभियान अन्तर्गत होटल संघ नेपाल र कामदार तथा कर्मचारीहरुको तर्फबाट केन्द्रीय ट्रेड युनियनहरुबीच सहमति भएको हो ।

होटल संघ नेपालका अध्यक्ष सृजना राणा, नेपाल स्वतन्त्र होटल मजदुर युनियनका तर्फबाट अध्यक्ष सूर्य कुँवर, अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट मजुर संघको तर्फबाट अध्यक्ष माधव पाण्डे र नेपाल पर्यटन तथा स्वतन्त्र होटल सम्बद्ध श्रमिक संघका तर्फबाट अध्यक्ष खेमराज खड्काका साथै अन्य जिम्मेवार पदाधिकारीहरुको रोहबरमा संयुक्त रुपमा हस्ताक्षर भएको छ ।

सम्झौता अप्रिल १३ २०२० देखि डिसेम्बर ३१ सम्म लागु हुने छ । जस अनुसार ) डिलक्स पाँचतारे (दुईसय भन्दा माथि कोठा भएको) होटल तथा सोहि स्तरको रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक १० हजार तलब पाउने छन् ।

दुई सय कोठा भन्दा कम भएको पाँचतारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक ९ हजार पाउने छन् ।

सय कोठा भन्दा बढि भएको चार तारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक ८ हजार ४५५ रुपैयाँ पाउने छन् । एक कोठा भन्दा कम भएको चार तारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक ८ हजार तलब सुविधा पाउने छन् ।

तीन तारे तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक ५ हजार तलब पाउने छन् । दुई तारे तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक ४३ सय रुपैयाँ पाउँनेछन् ।

एक तारे र पर्यटक स्तरीयको होटल तथा रिर्सोटहरूले आपसी समझदारीमा रकम उपलब्ध गराईनेछ । यो सम्झौता अवधिभरी माथी उल्लेखित रकम बाहेक अन्य सुविधा उपलब्ध गराइने छैन ।

होटल सञ्चालन गर्नको लागि आवश्यकता बमोजिम व्यवस्थापनले चक्रीय प्रणाली अनुसार आलोपालो गरी काममा लगाइएका श्रमिक, कर्मचारीहरुलाई साबिक अनुसार पारिश्रमिक भुक्तान गर्नुपर्नेछ । काममा नबोलाइएको ⁄ नलगाएको श्रमिक, कर्मचारीहरुलाई यसै सम्झौतामा उल्लेख गरिए बमोजिमको रकम भुक्तान गनुपर्नेछ । प्रतिष्ठान व्यवस्थापन पक्षले काममा बोलाएको अवस्थामा उपस्थित भई आफ्नो कार्य गर्नु श्रमिक, कर्मचारीहरुको कर्तव्य हुने सहमतिमा उल्लेख छ ।


क्लिकमान्डु