अब उधारोमा सिमेन्ट बिक्री गर्न नपाइने, उल्लंघन गरे जरिवाना लाग्ने



काठमाडौं । सिमेन्ट उत्पादक संघले साउन १ गते (आज)देखि लागू हुने गरी उधारोमा सिमेन्ट बिक्री नगर्ने निर्णय गरेको छ । साथै सिमेन्ट कम्पनीहरुले दिने वार्षिक तथा मासिक स्किम, बोनसलगायतका सबै प्रकारका स्किमका साथै कमिसनमा समेत कटौती गरेको छ ।

संघको निर्देशन उल्लंघन गरी उधारोमा सिमेन्ट बिक्री गरेमा प्रतिबोरा ५० पैसाका दरले जरिवाना बुझाउनुपर्नेछ । उनीहरुले उल्लंघन भएको महिनाभन्दा अघिल्लो महिनामा बिक्री गरेको कुल सिमेन्ट बोराको प्रतिबोरा ५० पैसाका दरले बुझाउनुपर्ने छ ।

संघले बुधबार निर्णय गर्दै स्किम, बोनस र कमिसन दिए पनि प्रतिबोरा बढीमा २० रुपैयाँ ननाघ्ने गरी दिनुपर्ने उल्लेख गरेको छ । साथै सो रकम भुक्तानी गर्दा अनिवार्य रुपले कर कट्टी गर्नेपर्ने समेत उल्लेख गरेको छ ।

साथै स्किम दिँदा सुनचाँदी, हिरामोति, विदेश टुर वा अन्य कुनै पनि प्रकारको नगद वा जिन्सी स्किम डिलर तथा उपभोक्ताका लागि राख्न नपाइने समेत निर्णय गरेको छ ।

त्यसैगरी निर्माण कम्पनी वा कर्पोरेट ग्राहकलाई कम्पनीले उधारो दिनुपर्ने भएमा अनिवार्य रुपमा बैंक ग्यारेन्टी वा एलसीलाई मात्रै दिनुपर्नेछ भने उधारोको अधिकतम समय ६० दिनसम्मका मात्रै हुनुपर्ने संघले निर्णय गरेको छ ।

त्यसैगरी उद्योगहरुले आफ्नो साउन १ गतेभन्दा अघिको बाँकी उठाउनुपर्ने रकम उठाउन नसकेको अवस्थामा उधारो लिने ग्राहक डिलरको नाम लिस्ट ‘उधारो असुली संयन्त्र’मा जानकारी गराउनुपर्ने छ । र, सो असुलीका लागि अन्य सबै उद्योगहरुले सहयोग गर्नुपर्नेछ । यस्ता ग्राहक डिलरहरुलाई असुली समितिले कालोसूचीमा राख्न सक्नेछ र यस अवस्थामा त्यस्ता ग्राहक र डिलरसँग अन्य कुनै पनि सिमेन्ट उद्योगले कारोबार गर्न नपाइने समेत संघले निर्णय गरेको छ ।

त्यसैगरी उधारो असुली संयन्त्रमा कम्तीमा १ जना सीए, १ जना कानून अधिकृत र एकजना प्रशासकीय अधिकृत रहने छन् भने सो संयन्त्रलाई विशेष अधिकार समेत प्रदान गरिनेछ । संयन्त्रलाई अनुमगन गर्न उद्योगीबाट एक अनुगमन समिति पनि गठन गरिनेछ ।


क्लिकमान्डु