कोरोना बीमाबारे समिति अध्यक्षको गैरजिम्मेवार जवाफ: बीमा गरेको भए फिर्ता गर्नुस्



काठमाडौं । बीमा समितिले शुरु गरेको कोरोना बीमाको दायित्व रकम बढेपछि निर्जीवन बीमा कम्पनीको भविष्यमाथि नै प्रश्न उठेको छ ।

बीमा समिति र निर्जीवन बीमा कम्पनीले अति उत्साहित भएर सुरु भएको कोरोना बीमाले संक्रमितको संख्या बढेसँगै समस्या निम्तत्याउने खतरा बढेको छ ।

कोरोना बीमा सुरु गर्दा विश्वलाई सन्देश दिएको बताएका बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाँई गैरजिम्मेवार जवाफ दिँदै जिम्मेवारीबाट पन्छिन थालेका छन् ।

कोरोना बीमा जारी भएको २ महिना पुग्न लाग्दा समेत विदेशी पुनर्बीमा कम्पनीसँग पुनर्बीमा भएको छैन । यसरी पुनर्बीमा नभएपछि बीमा गराउने कम्पनीहरु जोखिमको दायित्व बढी भएको भन्दै पछि हट्ने संकेत गर्न थालेका छन् ।

उत्साहपूर्वक शुरु भएको कोरोना बीमा बन्द हुने अवस्थामा, कम्पनीहरु भार थेग्न नसक्ने

कोरोना बीमाको जोखिमको दायित्व र यसको पुनबीमाको बारेमा समितिका अध्यक्ष चापागाँईलाई क्लिकमाण्डू संवाददाताले प्रश्न गर्दा उनले गैरजिम्मेवारी जवाफ दिएका छन् ।

समितिका अध्यक्षले क्किलमाण्डूका संवाददातालाई दिएको प्रश्नको जवाफ जस्ताको त्यस्तै :

संवाददाता:  कोरोना बीमाको त कम्पनीहरुले हामी सक्दैनौँ भन्ने कुरा गरेका छन्, यस बारे समितिमा केही कुरा भएको छ ?

अध्यक्ष चापागाँई: मलाई थाहा छैन्, बीमा कम्पनीहरुले गरिरहेका छन् । डाटा अनुसार नै गरिरहेका छन् अरु मलाई थाहा छैन् ।

संवाददाता:  यसको त इन्टरनेश्नल रि पनि भएको छैन रहेछ, नेपाल रि ले पनि हामी विदेशी रि पनि भेटाएका छैनौँ भनिरहेको छ, रि भएन भने क्लोज गर्नु भनेर सुझाव दिनु पर्ने हुन्छ भनिरहेका छन्, के होला भोलिको दिनमा ?

अध्यक्ष चापागाँई: इन्टरनेश्नल रि हुँदैन हुदैन नि, कोरोनाको कसरी रि हुन्छ ? गाह्रो हुन्छ नि ।

संवाददाता: यसरी संक्रमण बढी रहेको छ भोलीको दिनमा……

अध्यक्ष चापागाँई: मलाई केही पनि थाहा छैन, मलाई केही थाहा छैन ।

संवाददाता: हजुरलाई केही थाहा छैन ?

अध्यक्ष चापागाँई: तपाईहरुले समाचार लेखिरहनु भएको छ । त्यही समाचार ठिकै होला नि त ।

संवाददाता: हैन, समाचार ठिकै भएपनि हजुरलाई थाहा नभए कसलाई थाहा हुन्छ ?

अध्यक्ष चापागाँई: तपाईले कोरोना गर्नु भयो कि भएन ?

संवाददाता: हामीले गरिसक्यौ ।

अध्यक्ष चापागाँई: फिर्ता गर्नु न त उसो भए ।

संवाददाता: फिर्ता सबैले हुन्छ भन्यो भने हामी पनि गर्छौ ।

अध्यक्ष चापागाँई: हैन ठिक छ फिर्ता गर्नुस् है ।

यसरी गैरजिम्मेवारी दिने समितिका अध्यक्षले बैसाख ११ गते क्लिकमाण्डूको अन्तवार्तामा समितिले संसारलाई कोरोनाको बीमा गर्न सकिन्छ भन्ने सन्देश दिएको बताएका थिए ।

हामीले संसारलाई कोरोनाको बीमा गर्न सकिन्छ भन्ने सन्देश दिएका छौंः चिरञ्जीबी चापागाईं

उनले अन्तवार्ता दिदैँ भनेका थिए ‘भारत र थाइल्याण्डमा पनि केही कम्पनीले बीमा शुरु गरेको कुरा भयो र २ दिनमै शुरु गर्ने निर्णय भयो । तर भोलिका दिनमा महामारीको सीमा पनि नहुने भयो, प्रक्षेपण पनि भएन । त्यसैले न्यून आय भएका वर्गलाई, फ्रन्टलाइनमा बसेर काम गर्नेहरु स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलगायतलाई लक्षित गरी ल्याउने भयो ।

र, त्यसमा पनि हरेक १५ सम्पूर्ण तथ्यांक संकलन गरी अध्ययन थाल्यौं । बीचमा के भइदियो भने बीमक संघका साथीहरुले अनलाइनमार्फत् प्यानालिस्टका रुपमा काम गर्नु भएन । विदेशमा पनि हाम्रो बारेमा प्रशंसा भयो । विदेशीहरुले पनि हाम्रो अनुसरण गर्न सक्छन् ।’

यसरी संसारभरी अनुसरण तथा प्रशंसा पाएका अध्यक्षलाई २ महिना पनि नबित्दै आफैले जारी गरेको पोलीसीको बारेमा केही थाहा छैन् ।

अडियो सुन्नुहोस्


क्लिकमान्डु