उत्साहपूर्वक शुरु भएको कोरोना बीमा बन्द हुने अवस्थामा, कम्पनीहरु भार थेग्न नसक्ने



काठमाडौं । उत्साहपूर्वक शुरु भएको २ महिना नबित्दै कोरोना बीमा पोलेसी बन्द हुने अवस्थामा पुगेको छ । गत बैसाख ४ गतेबाट शुरु भएको कोरोना बीमा २ महिना नबित्दै बीमा कम्पनीहरुले यसको भार थेग्न नसक्ने बताएका हुन् ।

नेपाल बिमक संघको सम्वन्यमा बीमा समिति कोरोना भाइसर (कोभिड-१९) बीमा लेख जारी गर्दा नेपालमा १६ जना कोरोनाबाट संक्रमित थिए । हालसम्म नेपालमा सो संख्या बढेर १८ सय नाघिसकेको छ ।

संक्रमितको संख्या बढ्दै गएको हुँदा भविष्यमा कम्पनीहरुले दावीको भार थेग्न नसक्ने नेपाल बिमक संघका महासचिव चंकी क्षेत्रीले बताए ।

‘कोरोना बीमाको शुल्क न्यून तोकिएको छ भने बीमा गराउनेको संख्या पनि दिनहुँ बढिरहेको छ,’ क्षेत्रीले क्लिमाण्डूसँग भने ‘भोलिको दिनमा यसको संक्रमण बढ्दै गएर सोही मात्रामा दावी पर्यो भने कम्पनीहरुले भुक्तानी दिने क्षमता नै छैन ।’

कोरोना बीमालाई अब आगामी दिनमा अहिलेकै ढाँचामा सुचारु नै गर्ने सक्ने हुँदा यसको ढाँचा नै परिवर्तन गर्ने हो पोलेसी नै बन्द गर्नु पर्ने हो त्यसमा आवश्यक छलफल भइरहेको उनले बताए ।

हामीले संसारलाई कोरोनाको बीमा गर्न सकिन्छ भन्ने सन्देश दिएका छौंः चिरञ्जीबी चापागाईं

‘नेपालका बीमा कम्पनीहरुले गरेको कोरोना बीमाको अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीले रिइन्स्योरेन्स गर्न मानेका छैनन्,’ उनले भने ‘रिइन्स्योरेन्सको सपोर्ट भयो भने यही अवस्थामा सुचारु गर्न सकिन्छ तर सपोट भएन भने यसको ढाँचा परिवर्तन गर्नै पर्ने हुन्छ ।’

महामारीको बीमा पोलेसीलाई सँधै सुचारु गर्नु पर्ने नियम नभएको हुँदा समितिसँग सम्वन्य गरी बन्द गर्नु पर्ने पनि हुन सक्ने उनको भनाइ छ।

‘अहिलेसम्म कुनै दाबी परेको छैन्, तर यसको संक्रमण भने दिनहुँ दोब्बरले बढिरहेको छ,’ महासचिव क्षेत्रीले भने ‘पहिले जुन अनुमानले बीमा लेख जारी गरिएको थियो अहिले अवस्था त्यो भन्दा जटिल भइसकेको छ ।’

नेपालमा फैलिरहेको कोरोनालाई थेग्न सरकारलाई नै गाह्रो गर्ने अवस्था आइसकेको हुँदा बीमा कम्पनीहरुले त्यस वापतको बीमा दावीको भार थेग्न नसक्ने उनले बताए ।

बीमा कम्पनीहरुले कोरोनाको संक्रमित बढ्दै गएपछि समितिमा यस बिषयमा छलफल गर्न थालिसकेका छन् । बीमा कम्पनीहरुलाई यसले अप्ठ्यारो परिस्थिति नै सिर्जना गरेमा त्यसको ढाँचा परिवर्तन हुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘कम्पनीहरुले यसको अध्ययन गरी हामीलाई रिपोटिङ्ग गरिरहेका छन्,’ उनले क्लिमाण्डूसँग भने ‘अप्ठ्यारो स्थिति नै सिर्जना भएमा ढाँचा परिवर्तन गर्ने हो या अन्य कदम चाल्नु पर्ने त्यो निर्णय हुन्छ ।’

बिमक संघले आवश्यक अध्ययन गरी विस्तृत प्रतिवेदन समितिमा पेश गरेपछि सरकारमा छलफल गरी त्यसमा आवश्यक निर्णय गरिने उनको भनाइ छ ।

‘सरकारले बजेट मार्फत पनि कोरोना बीमाको कार्यक्रम सार्वजनिक गरेको छ,’ पौडेलले भने ‘सरकारले घोषणा गरेको कार्यक्रम साउनदेखि शुरु गर्नु पर्ने हुन्छ, सो समयसम्म केही निचोड आउँछ ।’

आवश्यक परेमा समितिले सरकारसँग सम्वन्य गरेर पोलेसीको खाका परिवर्तनगर्ने या अन्य व्यवस्था गर्ने उनले बताए ।

कोरोना बीमा अन्तर्गत २ प्रकारको कोरोना बीमालेख जारी भएको छ । जसमा ५० हजार रुपैयाँ र १ लाख रुपैयाँ गरी २ प्रकारको बीमालेख खरीद गर्न सकिने सुविधा उपलब्ध छ । जसअन्तर्गत हालसम्म २ लाख ८५ हजार ९ सय ४७ जनाले १५ करोड ६३ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ बराबरको कोरोना बीमा गराइसकेका छन् ।

कोरोना बीमा सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुले गराईरहेका छन् । समितिको निर्देशन अनुसार बीमा पूल अन्तर्गत कम्पनीहरुले गराएको कोरोना बीमाको २० प्रतिशत जोखिम नेपाल पुनरबीमाले कम्पनीले बहन गर्छ । बाँकी ८० प्रतिशत जोखिमको भार २० वटा निर्जीवन बीमा कम्पनीहरुले लिनु पर्छ । जसमा प्रत्येक कम्पनीलाई १ बीमा लेख बराबर ४ प्रतिशत जोखिमको भार पर्न जान्छ ।

कोरोना बीमा लेखको विदेशी बीमा कम्पनीहरुले रि-इन्स्योसको सम्झौता हालसम्म गरेका छैनन् । बीमा ऐन अनुसार कुनै पनि नयाँ बीमा लेख जारी गर्नु अगावै त्यसको नेपालको र विदेशी पुर्नबीमा कम्पनीसँग रिइन्स्योरेन्स गर्ने प्ररम्भिक सम्झौता गरेको विवरण बीमा समितिमा पेश गर्नु पर्ने हुन्छ । त्यसपछि मात्र बीमा समितिले नयाँ बीमा लेख जारी गर्ने अनुमती कम्पनीलाई दिन्छ ।

समितिले कोरोना बीमा लेख जारी गर्ने बेलामा भने आफ्नै नीति नियम बिर्सिएको छ । बिमक संघ र समितिले आपसी सम्झौता गरेर बीमा पुल अन्तर्गत नेपाल पुर्नबीमा कम्पनीले २० प्रतिशत जोखिम बहन गर्ने गरी सो कोरोना बीमा जारी गरेको छ ।

आवश्यकता अनुसार नेपाल पुर्नबीमा कम्पनीले विदेशी रिइन्स्योरेन्स कम्पनीहरुसँग सम्वन्य गरेर सम्झौता गर्ने भनिए पनि हालसम्म सो नभएको नेपाल पुनर्बीमा कम्पनीका सीइओ शंकर कुमार रायमाझीले बताए ।

‘हालसम्म १४/१५ वटा विदेशी रिइन्स्योरेन्स कम्पनीसँग एजेन्सीमार्फत कुरा गरिसकेका छौँ,’ उनले क्लिकमाण्डूसँग भने ‘उनीहरुको कोरोनाको रिइन्स्योरेन्स गर्न कोही पनि तयार भएनन् ।’

महामारीको बीमा गर्न ती विदेशी रिइन्स्योरेन्स कम्पनीहरुले नमाने पनि अन्य विदेशी कम्पनीहरुसँग एजेन्सी मार्फत पुनः समन्यव गरिरहेको उनले बताए ।

‘विभिन्न चरणमा हामीले उनीहरुसँग छलफल गरेका छौँ,’ उनले भने ‘कोरोना बीमा पोलेसीमा अन्तर्गत बिमक कोरोना पोजेटिभ हुने बित्तिकै बीमा दावी गर्ने पाउने व्यवस्थाले गर्दा विदेशी रिइन्स्योरेन्स कम्पनहिरु मानिरहेकका छैनन् ।’

विदेशी रिइन्स्योरेन्समा पुर्नबीमा गराउन कोरोना बीमा पोलेसीको ढाँचा परिवर्तन गर्नु पर्ने उनको भनाइ छ ।

‘सरकारले पनि बजेटमार्फत् कोरोना बीमा कार्यक्रम ल्याएको छ, त्यसको कार्यान्यवनमा समस्या आउने देखिन्छ,’ उनले भने ‘हामी अन्त्यसम्म प्रयास भने गछौँ ।’
प्रयास गर्दा पनि भएन भने नेपालको बीमा पोलेसीलाई अन्तर्राष्ट्रिय बजारले यो कारणले रुचाएन् भनेर कारण खुलाई पोलेसी बन्द गर्ने सुझाव सम्बन्धीत निकायमा बुझाउने उनले बताए ।

हालसम्म भएको कोरोना बीमामा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले ६ हजार ५४ जनाको ३ करोड १६ लाख ५८ हजार ५ सय रुपैयाँ बराबरको बीमा गरेको छ । साथै सबैभन्दा थोरै नेशनल इन्स्योरेन्सले ४ सय ३४ जनाको २१ लाख ७९ हजार ६ सय रुपैयाँ बराबरको कोरोना बीमा गराएको छ ।

कोरोना बीमा कुन कम्पनीको कति ?


पुष्प दुलाल