जोखिमको क्षेत्र हेरेर लकडाउन खोल्न निजी क्षेत्रको माग, लकडाउन नखोले ठूलो समस्या आउन सक्ने



काठमाडौं । निजी क्षेत्रले कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरीय समन्वयन समितिमा लकडाउन खुकुलो गर्न सुझाव दिएको छ ।
उपप्रधानमन्त्री इश्वर पोखरेलले बोलाएको बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरुले लकडाउन खुकुलो नबनाए व्यवसायीहरुले आफै उलंघन गर्न सक्ने र स्थिती झन डरलाग्दो हुनसक्ने चेतावनी दिएका छन् ।

लकडाउनको मोडालिटी परिवर्तन गर्न सकारात्मक रहेका उपप्रधानमन्त्री पोखरेलले छलफल गरेर आवश्यक निर्णय लिइने जानकारी दिए ।
सरकारले कोरोना भाइरस नियन्त्रणको लागि चैत ११ देखि लकडाउन घोषणा गरेको छ । जसको समयसिमा जेठ ३२ सम्म पुर्याइएको छ ।
बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरुले जोखिम हेरेर लकडाउन खुकुलो बनाउन सुझाव दिइएको छ ।

मंगलबारमात्रै विभिन्न क्षेत्रका व्यवसायीहरुले लकडाउनको विरोधमा सडकमा उत्रेका थिए । काठमाडौंमा पनि जोरपाटी क्षेत्रमा विरोध गरेका थिए । सुर्खेत उद्योग वाणिज्य संघले संस्थागत रुपमा नै लकडाउनको तोड्ने जनाएको छ ।

चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले लकडाउन खोल्नको सुझाव सहितको प्रतिवेदन बुझाएको बताए ।
सरकारले अब ग्रिन,अरेन्ज र रेड जोनमा विभाजन गरेर लकडाउन खुकुलो बनाउनुपर्ने श्रेष्ठले बताए ।

उच्चस्तरिय समितिले निजी क्षेत्रको सुझावको आधारमा लकडाउन खुकुलो बनाउने प्रस्ताव मन्त्रीपरिषद्मा लैजाने आश्वासन दिएको छ ।


क्लिकमान्डु