कोरोनाको कारण जागिर गुमाउनेलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् रोजगारी दिइने



काठमाडौं । सरकारले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको मोडालिटी परिवर्तन गर्ने भएको छ ।

कोरोनाको कारण ठूलो संख्यामा रोजगारी गुमाउनेको संख्या बढ्ने भएकाले यसलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् समेट्ने तयारी सरकारले गरेको गरेको छ सरकारले गरेको छ । कार्यक्रम श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत छ ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विश्व बैंकसँग १२० मिलियन अमेरिकी डलर ऋण लिने सम्झौता गरिसकेको छ ।

‘संविधानमा उल्लेख भएअनुसार सरकारले न्यूनतम रोजगारीको ग्यारेन्टी गर्नका लागि अघिल्लो वर्षदेखि यो कार्यक्रम ल्याएको हो, यो पटक कोरोनाले गर्दा रोजगारी गुमाउनेलाई पनि रोजगार कार्यक्रममार्फत् समेट्ने तयारी सरकारको छ,’ अर्थमन्त्रालय स्रोतले भन्यो ।

चालु आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब १ करोड रुपैयाँ बिनियोजन भएको थियो ।

यो पटक प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि १० अर्ब रुपैयाँ न्यूनतम पनि बिनियोजन गर्ने तयारी अर्थमन्त्रालयको छ ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमबाहेक कोरोनाबाट गुमेको रोजगारीलाई पुनस्थापिन गर्नका लागि साना तथा मझौला उद्योगलाई प्रोत्साहन सरकारले दिने छ ।

‘कोरोनाको कारण रोजगारी गुमाउनेलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् न्यूनतम रोजगारी दिने हाम्रो तयारी हो, जसले गर्दा यो पटकको बजेटमा यसका लागि यो वर्षभन्दा दोब्बर रकम बिनियोजन हुन्छ,’ स्रोतले भन्यो ।

गतवर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् १ लाख ७१ जनाले रोजगारी पाएका थिए । ७५३ वटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालित छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तहबाट सञ्चालित हुन्छ । कोरोनाबाट रोजगारी गुमाएकाले स्थानीय तहमा आफूले रोजगारी गुमाएको दर्ता गर्नुपर्ने हुन्छ । स्थानीय तहले न्यूनतम रोजगारी दिनेछ । सरकारले यसअघि नै रोजगारी गुमाउनेलाई काममा आधारित राहत दिने घोषणा गरिसकेको छ ।


क्लिकमान्डु