अर्थमन्त्रीलाई बजेट बनाउने चटारो, यस्तो छ कोर टिम



काठमाडौं । यतिवेला अर्थ मन्त्रालय नयाँ बजेट बनाउन व्यस्त छ । बजेट बनाउनका लागि अर्थ मन्त्रालयले मूल ढोका थुनिसकेको छ ।

कोरोनाले अर्थतन्त्रमा ठूलो असर पारेपछि कहाँबाट स्रोत जुटाउने र खर्चको प्राथमिकतामा कुन क्षेत्रलाई राख्ने भन्नेमा बजेट निर्माणमा संलग्न अधिकारीहरु ठाउँ खोजिरहेका छन् ।

२ महिना प्रत्यक्ष अर्थतन्त्र ठप्प हुँदा र त्यसपछि देखिने समस्याका कारण सरकारलाई स्रोत जुटाउन पनि समस्या पर्ने देखिएको छ । तर, अर्कातिर कोरोना प्रभावितलाई बजेटमार्फत् ठूलो राहत प्याकेज दिनुपर्ने दायित्व छ ।

त्यसका लागि सरकारले अन्तरिक ऋण, बाह्य सहायता र करको दायरा बढाएर स्रोत जुटाउँदैछ ।

‘कोरोनाले अर्थतन्त्रमा संकुचन ल्याउने निश्चित छ, यस्तो अवस्थामा अर्थतन्त्रलाई पम्प दिनसक्ने बजेटको आवश्यकता छ, हामी अर्थतन्त्रलाई चलायमान बनाउने, आन्तरिक उत्पादन तथा रोजगारी बढ्ने बजेट बनाउँदैछौं,’ अर्थ मन्त्रालयका एक सहसचिवले क्लिकमाण्डूसँग भने ।

आगामी बजेट रोजगारी सिर्जनामा केन्द्रित रहने अर्थमन्त्रीले बताइसकेका छन् । त्यसका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममा बजेट थपेर देशैभरि पुर्याइने भएको छ । कृषि र उत्पादनमा जोड दिइने र आयात निरुत्साहित गर्नमा बजेट केन्द्रित हुनेछ ।
आगामी बजेटले केही विलासी वस्तुको आयातमा उच्च दरले कर बढाउने छ भने राजस्व बढाउनका लागि करको दर नभई दायरा बढाउने छ ।

राष्ट्रिय योजना आयोगले यसअघि दिएको सिलिङमा पुनरावलोकन गरिँदैछ । आगामी आर्थिक वर्षको बजेट पनि चालु आर्थिक वर्षकै हाराहारीमा आउने आउने संभावना छ ।

‘बजेटको आकार खासै बढ्दैन, हामी आकारमाभन्दा बजेटको उत्पादकत्वमा केन्द्रित छौं,’ बजेट निर्माणमा संलग्न एक अधिकारीले भने, ‘अनावश्यक योजनाहरु काटिनेछन्, कोरोनासँग सम्बन्धित बाहेक खासै नयाँ कार्यक्रमहरु आउने छैनन् ।’

आगामी आर्थिक वर्षको बजेट बनाउनका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्ना जोरीज्वाईंसमेत रहेका राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेललाई काजमा अर्थ मन्त्रालय झिकाइसकेका छन् । गत बैशाख ११ गतेदेखि खरेल अर्थमन्त्रालयमा बजेट बनाउन सक्रिय छन् ।

मन्त्री खतिवडाले पनि बजेट बनाउनका लागि थप समय निकालेर दुई सचिव, बजेट महाशाखा प्रमुख, बैदेशिक सहायता समन्वय विभागका प्रमुख, राष्ट्र बैंकका गभर्नर र अन्य सहसचिवहरुसँगको छलफललाई बाक्लो बनाएका छन् ।

अरु मन्त्रीहरु लागि अर्थ मन्त्रालयको संयन्त्रले तयार पारेको बजेटको ड्राफ्ट मात्रै सरसर्ती हेरेर केही नयाँ राजनीतिक कार्यक्रम राख्थे । तर, खतिवडा भने बजेटभित्रका शब्दशब्दहरुलाई माइन्यूटली हेर्छन् । त्यसका लागि उनले आफ्ना विश्वासपात्रसमेत रहेका ज्वाईंलाई मन्त्रालय तानेक हुन् ।

‘अर्थमन्त्रालयको संयन्त्रभित्रै छिरेर खरेलजी पनि बजेट बनाउन सक्रिय हुनुहुन्छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘अर्थमन्त्रीज्यू हामीले गरेको भन्दा खरेलजीले गरेको काममा बढी विश्वास गर्नुहुन्छ ।’

लामो समयपछि राष्ट्र बैंकका गभर्नर पनि प्रत्यक्षरुपमा बजेट निर्माण प्रक्रियामा सहभागी भएका छन् । नेपालमा कहीले अर्थमन्त्री र गभर्नरको राजनीतिक दल नमिल्ने त कहिले दलभित्र पनि गुट नमिल्ने गरेका कारण बजेट निर्माणमा गभर्नरको भूमिका खासै देखिँदैनथ्यो ।

तर, यो पटक अर्थमन्त्री र गभर्नरको लाइनमात्रै होइन, गुट र सोच पनि मिल्छ । त्यसैले गभर्नर महाप्रसाद अधिकारी पनि बजेट निर्माणमा सक्रिय छन् ।

‘लामो समयपछि गभर्नरले पनि बजेट निर्माणमा सक्रिय भूमिका पाउनुभएको छ,’ गभर्नर निकट राष्ट्र बैंक स्रोतले भन्यो ।

अर्थसचिव शिशिर ढुंगाना स्वभाविकरुपमा बजेट बनाउन सक्रिय हुने नै भए । त्यसबाहेक निमित्त राजस्व सचिव रहेका रामशरण पुडासैनीको सक्रियता अलि बढी छ । पुडासैनी अर्थमन्त्रीका विश्वासपात्र पनि हुन् ।

त्यसैगरी, बजेट महाशाखा प्रमुख धनीराम शर्माको सक्रियता त हुने नै भयो ।

यसरी आगामी बजेट बनाउनका लागि अर्थमन्त्रीले आफूसहित आधा दर्जनको कोर टिम बनाएका छन् । यो टिमका केही सदस्य बजेट लेखनमा सक्रिय छन् भने केही विभिन्न क्षेत्रका माग, सल्लाह, सुझावको शुक्ष्म विश्लेषण गर्न व्यस्त छन् ।

यसबाहेकका व्यक्तिहरुलाई आवश्यकताअनुसार सहभागी गराइएको छ ।

अर्थमन्त्री खतिवडाले यही जेठ १५ गते संघीय संसदको प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दैछन् ।


पुष्प दुलाल