कोरोना भाइरसका कारण ४ विमान कम्पनीको साढे ५ अर्ब ऋण ‘नेगेटिभ वाच’मा



काठमाडौं । कोरोना भाइरसको सबैभन्दा ठूलो असर होटल तथा हवाई क्षेत्रमा देखिएको छ । जसका कारण हवाई कम्पनीहरुले ऋण तिर्न नसक्ने अवस्थामा पुगेको छन् ।

यसअघि राम्रो रेटिङ पाएका हवाई कम्पनीहरु यतिबेला आम्दानी ठप्प हुँदा रेटिङमा ‘वाच विथ नेगेटिभ इप्लिकेशन’मा राखिएको छ ।
कोरोना भाइरसका कारण व्यापार ठप्प हुँदा हवाई कम्पनीहरु साढे ५ अर्ब रुपैयाँको ऋण तिर्न समस्या हुँदा रेटिङमा नकारात्मक वाच प्रभावमा राखिएको हो । चार कम्पनी यति, बुद्ध,तारा र सिम्रिक एयरलाइन्सको आम्दानी खुम्चिँदा ऋणको रेटिङलाई नकारात्मक वाचमा राखिएको हो ।

इक्रा नेपालले गरेको रेटिङमा यति एयरलाइन्सको १६.८८ मिलियन अमेरिकी डलर, तारा एयरलको ६.१६ मिलियन अमेरिकी डलर, सिम्रिक एयरलाइन्सको ६.३३ मिलियन अमेरिकी डलर र बुद्ध एयरको १७.१ अमेरिकी डलरको ऋणलाई नकारात्मक प्रभाव अन्तर्गत वाच लिस्टमा राखिएको छ ।

यसलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्ने हो भने ५ अर्ब ५७ करोड रुपैयाँ हुन आउँछ । यी कम्पनीहरुले सर्ट टर्म र लङ टर्म अन्तर्गत ऋण लिएका थिए । जसमा ऋण डलर र नेपाली रुपैयाँ दुबैमा थियो ।

कोरोना भाइरसको महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा नराम्रो असर परेको छ । अन्तर्राष्ट्रिय सीमा बन्द गरिएको छ भने अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको छ । लकडाउनका लागि आन्तरिक उडानमा पनि ठप्प छ । जसका कारण विमान कम्पनीहरु ग्राउन्डेड भएका छन् ।

साथै सन् २०२० मा मनाउने तयारी गरिएको नेपाल भ्रमण वर्ष २०२० समेत स्थगित भइसकेको अवस्थामा नेपालमा पर्यटक आगमन वर्षको पहिलो २ महिनामा सन्तोषजनक भए पनि त्यसयता भने शुन्य प्रायः भएको छ । जसले गर्दा खर्चमा बढोत्तरी भए पनि आम्दानी भने ठप्प जस्तै भएको छ ।

यसले विदेशी मुद्रा आर्जन समेत ठप्प भएको छ भने यसले मासिक रुपमा बुझाउनु पर्ने ऋणको किस्ता पनि तिर्न नसक्ने अवस्था देखिएको छ ।

आन्तरिक र अन्तर्राष्ट्रिय उडानमार्फत स्वदेशी र विदेशी मुद्रा आर्जन गरिरहेका कम्पनीहरुले आम्दानी ठप्प हुँदा ऋणलाई नराकारात्मक वाचमा राखिएको उल्लेख छ ।

यद्यपि केन्द्रीय बैंकले ऋण तिर्ने किस्तालाई तीन महिना पछि सार्ने नीतिगत निर्णय गरिसकेको छ । तर यो तत्कालका लागि अल्पकालीन राहत भए पनि दीर्घकालीन राहत नभएको उनीहरुको भनाइ छ ।

आम्दानी सुस्तता हुँदा विमान कम्पनीहरुको कुल आम्दानी कति होला भन्नेमा अझै निश्चिता हुन सकेको छैन । नेपालमा पर्यटकका लागि राम्रो सिजन मानिने समयमा कोरोना भाइरसको महामारी फैलिएसँगै यसले निकै ठूलो असर पारेको रेटिङ रिपोर्टमा उल्लेख छ ।


क्लिकमान्डु