मल्होत्राले झिकाएको मास्क उत्पादन गर्ने मेशिन नेपाल आइपुग्यो, सोमबारदेखि ६ रुपैयाँमै मास्क पाइने



काठमाडौं । अब मास्कको हाहाकार नहुने भएको छ । नेपाल चेम्बर अफ कमर्शको सहकार्यमा व्यवसायी दिपक मलहोत्रालगायतले हप्तामा ५ लाख थान सर्जिकल मास्क उत्पादन गर्नका लागि भारतबट झिकाएको मेशिन नेपाल आइपुगेको छ ।

‘आज दिउँसो मात्रै मास्क उत्पादन गर्ने मेशिन भैरहवास्थित सुनवल नाकाबाट भन्सार क्लियरेन्स भइसकेको छ, रातिसम्ममा काठमाडौं आइपुग्छ,’ मल्होत्राले क्लिकमाण्डूसँग भने, ‘ शुक्रबार र शनिबारसम्ममा मेशिन जडान हुन्छ । ढिलोमा सोमबारदेखि हामी बजारमा मास्क पठाउँछौं ।’

ब्यापारीहरुलाई पठाउँदा ७ रुपैयाँमा १३ प्रतिशत भ्याट जोडेर पठाउने र आइएमएस ग्रुप र चेम्बरले बिक्री गर्नेमा ५ रुपैयाँमा भ्याट जोडिने मल्होत्राले जानकारी दिए ।

अब मास्कको अभाव नहुने, मलहोत्राले सातामै ५ लाख मास्क उत्पादन गर्ने मेशिन झिकाए, मूल्य कति ?

‘हामीले बिक्री गर्ने मास्क उपभोक्ताले ६ रुपैयाँसम्ममा पाउँछन्,’ मल्होत्राले भने ।

अहिले मास्कमा ब्यापक कालोबजारी भएको छ । २ रुपैयाँ पर्ने मास्कलाई व्यवसायीहरुले ५० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । मास्कमा भएको कालोबजारी रोक्न नेपाल चेम्बर अफ कमर्शमा आवद्ध मल्होत्रा लगायतका व्यवसायीहरु सक्रिय भएका हुन् ।

‘बिमानस्थलमा विदेशबाट आउने प्रत्येक यात्रुलाई आइएमएस ग्रुपको तर्फबाट एउटा मास्क सित्तैमा दिन्छौं,’ उनले भने ।

चेम्बरले मलहोत्राको संयोजकत्वमा कोरोनाका कारण बजारमा उत्पन्न हुने समस्यामा सहयोग गर्न कमिटि नै गठन गरेर तीब्र गतिमा काम गरिरहेको छ ।

नेपालमै एक हप्तामा ५ लाख पिस मास्क उत्पादन गर्ने र सो परिणामको मास्क उत्पादन भएपछि बजारमा अभाव नहुने उनले जानकारी दिए ।

मास्क र सेनिटाइजरमा भन्सार छुट दिइने, दैनिक १४ हजार ग्यास सिलिन्डर उत्पादन बढाइने

‘हामीले उत्पादन शुरु गरेपछि बजारमा मास्कको भाव हुँदैन, हामी परल मूल्यमै मास्क बिक्री गर्छौं,’ मलहोत्राले भने ।’

अहिले फ्याक्ट्री नै सञ्चालन गरेर माक्स उत्पादन गर्न असम्भव भएकाले ललितपूरको लुभुमा रहेको एक कार्मेन्ट फ्याक्ट्रीमा मेशिन राखेर माक्स उत्पादन गर्न लागिएको मलहोत्राले जानकारी दिए ।

चेम्बरका व्यवसायीहरुलाई सरकारले पनि सहयोग गरेको छ ।

मास्क उत्पादन हुने मेसिनमा सरकारसँग केही छुट नलिने र कच्चा पदार्थ आयातमा भने भन्सार छुट लिने गरी काम अगाडि बढाउन लागिएको उनले जानकारी दिए ।

त्यसैगरी, स्यानिटाइजर र कोरोना भाइरस न्यूनिकरणका लागि आवश्यक पर्ने अन्य सामाग्री पनि बिक्री वितरण गर्ने तयारी गरिरहेको मल्होत्राले जानकारी दिए ।


पुष्प दुलाल