मास्क र सेनिटाइजरमा भन्सार छुट दिइने, दैनिक १४ हजार ग्यास सिलिन्डर उत्पादन बढाइने



काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै सरकारले मास्क र सेनिटाइजरको आयातमा भन्सार छुट दिने भएको छ ।

यसका लािग उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयले अर्थमन्त्रालयमा अनुरोध गर्ने भएको छ । साथै बजारमा मास्कको अभाव हुन नदिनका लागि अनुगमनलाई प्रभाविकारी बनाउने समेत मन्त्रालयले निर्णय गरेको छ ।

साथै व्यवसायीहरुलाई अनुचित मूल्य नबढाउन र बजारमा कृतिम अभाव सिर्जना नगर्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले बजारमा पेट्रोलियम पदार्थ, नून, चिनी, चामललगायत खाद्यान्नको आपूर्तीमा समस्या नरहेको समेत दाबी गरेको छ । मन्त्रालय अनुसार खाद्या व्यवस्था तथा व्यापार कम्पनीसाग २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दात छ ।

साथै मुलुकमा पेट्रोल डिजल, मट्टितेल, हवाई इन्धनको भण्डारन क्षमता ६८ हजार ३६४ केएल रहेको र यसले कम्तीमा ९ दिन पुग्ने मन्त्रालयको भनाइ छ ।

साथै बजारमा ग्यासको अभाव हुन नदिने काठमाडौं उपत्यकामा मात्रै दैनिक ४४ हजार सिलिन्डर उत्पादन गरिने मन्त्रालयको भनाइ छ । हाल दैनिक ३० हजार सिलिन्डर उत्पादन भइरहेकोमा अब १४ हजार थप सिलिन्डर उत्पादन बढाइने छ ।


क्लिकमान्डु