निर्देशन नआएपछि सोमबार विद्यार्थीले एनओसी पाए, मंगलबारदेखि बन्द गर्ने तयारी



सोमबार एनओसी लिन लामबद्ध विद्यार्थीहरु

काठमाडौं । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले उच्च शिक्षाका लागि विदेश जान विद्यार्थीलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) रोक्न निर्णय गरे पनि सोमबार भने विद्यार्थीले एनओसी पाएका छन् ।

बिहान ६ बजेदेखि नै एनओसी लिन लाइनबद्ध विद्यार्थीहरुले सरकारको उक्त निर्णयपछि एनओसी पाउने नपाउने अन्योलमा थिए । बिहान ९ बजेनै शाखा अधिकृत बमशेर राईले विद्यार्थीहरुलाई निर्णय नआएसम्म केही भन्न नसकिने बताएका थिए । यसले एनओसी लिन जम्मा भएका विद्यार्थीमा झन अन्योल थपिदिएको थियो ।

त्यसपछि राई आइतबार पेश भएका र स्वीकृत नभएका एनओसी हेर्न लागेका थिए । तर १० बजेसम्म नै मन्त्रालयबाट कुनै निर्णय नआएपछि निर्देशन नआउँदासम्म विद्यार्थीलाई सेवा दिने निर्णय अनुसार एनओसीको फारम बुझ्न थालिएको थियो ।

झण्डै ४ सयको हाराहारीमा जम्मा भएका विद्यार्थीहरुले सवा १० बजेदेखि मात्रै आवेदन बुझाएका पाएका थिए ।

शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले मन्त्रिपरिषदको निर्णयबारे आफू जानकार रहेको भन्दै दिउँसोसम्म एनओसी नदिने निर्णयबारे मन्त्रालयले सूचना जारी गर्ने बताए ।

‘सोमबार बिहानसम्म सूचना आएको छैन, दिउँसोसम्म एनओसी बन्द गर्ने सूचना आउन सक्छ, सम्भवतः मंगलबारदेखि एनओसी तत्कालका लागि स्थगित हुन्छ,’ उनले भने ।

उनका अनुसार कोरोना भाइरसको बढी प्रकोप भएका देशका लागि एनओसी बन्द गरिनेछ । साथै अन्य देशको हकमा पनि मन्त्रालयले निर्णय लिन सक्नेछ ।

सरकारले केही दिनमै अनअराइभल भिसा समेत बन्द गर्ने निर्णय गरिसकेको छ । साथै अन्तर्राष्ट्रिय उडानमा पनि रोक लगाउने विषयमा नागरिक उड्डयन प्राधिकरणलाई २ दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न निर्देशन दिइसकिएको छ ।

कोरोना प्रभावः विदेश जाने विद्यार्थीलाई एनओसी नदिने सरकारको निर्णय

शिक्षा सचिव महेशप्रसाद दाहालले सोमबार दिउँसोसम्म यसबारे निर्णय हुने जानकारी दिए ।

‘अहिले भर्खरै कार्यालय खुलिसकेकाले केही छलफल गर्न पाइएको छैन, औपचारिक जानकारी आएपछि निर्णय गर्नेछौं,’ उनले भने ।

यसअघि पर्यटन मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्नका लागि परराष्ट्र मन्त्रालयलाई सुझाव दिइसकेको छ । यस्तो ज्ञअवस्थामा एनओसी रोकी विद्यार्थी त्यस्ता देशमा जानबाट रोक्ने सरकारको उद्देश्य हो ।

शिक्षा मन्त्रालयले गत आइतबारदेखि दक्षिण कोरियाका लागि एनओसी दिन बन्द गरिसकेको छ भने साइप्रसका लागि कडाइ गरिरहेको छ । छात्रवृत्ति शाखाका अनुसार जापान, दक्षिण कोरिया, चीनलगायतका देशका लागि एनओसी बन्द हुने सम्भावना बढी छ ।

दुई साता अघि मात्रै चीनमा अध्ययनरत १७५ जना नेपाली विद्यार्थीहरुलाई सरकारले विमान चाटर्ड गरी नेपाल ल्याइसकेको छ । यदी कोरोना प्रभावित देशमा विद्यार्थी जाने हो भने त्यही समस्या नदोहोरियोस र विद्यार्थीहरु नेपालमै सुरक्षित होउन भन्ने उद्देश्यले सरकारले उक्त निर्णय लिएको हो ।

नक्कली एनओसी बोक्ने विद्यार्थीबारे अध्यागमनको अनुसन्धान शुरु, नाम र विवरणसहित

पछिल्लो एक सातायता जापान जानका लागि एनओसी लिनेको संख्या बढेको छ । फागुन ११ गतेदेखि १८ गतेसम्म मात्रै जापानका लागि सबैभन्दा धेरे १२४३ जनाले एनओसी लिएका छन् । जबकी यो अवधिमा अष्ट्रेलियाका लागि जम्मा २७९ जनाले एनओसी लिएका छन् ।

चालु आर्थिक वर्षको फागुत १८ गतेसम्म कुल ४५ हजार ७२२ जनाले एनओसी लिइसकेका छन् । जसमध्ये सबैभन्दा धेरै अष्ट्रेलियाका लागि १६ हजार ७०८, जापानका लागि ७ हजार १४९ र तेस्रो नम्बरमा साइप्रसका लागि ३ हजार ७७ जनाले एनओसी लिएको तथ्यांक छ ।

त्यस्तै, दक्षिण कोरियाका लागि २ हजार १२३, भारतका लागि १ हजार ९४३, बेलायतका लागि १ हजार ७५२, चीनका लागि १ हजार ७०२, क्यानडाका लागि १ हजार ६६७ र अमेरिकाका लागि १ हजार ४८८ जनाले एनओसी लिएका छन् ।


क्लिकमान्डु