नक्कली एनओसी बोक्ने विद्यार्थीबारे अध्यागमनको अनुसन्धान शुरु, नाम र विवरणसहित



काठमाडौं । विद्यार्थी भिसामा नक्कली एनओसी बोकी साइप्रस जान लागेका र विमानस्थलस्थित फर्काइएका ५ जना विद्यार्थीबारे अध्यागमन विभागले अनुसन्धान शुरु गरेको छ ।

गत फागुन ९ गते र १० गते साइप्रस जान लागेका उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नो अब्जेन्सन सर्टिफिकेट (एनओसी) नक्कली भएको आंशकामा पक्राउ गरिएको थियो ।

अध्यागमन विभागले नक्कली एनओसी भएको आशंकामा फागुन ९ गते ९ जना र फागनु १० गते ५८ जनालाई सोधपुछ गरेको थियो । जसमध्ये फागुन ९ गते ९ जनामध्ये ४ जना र फागुन १० गते ५८ जनामध्ये १ जनाको नक्कली भएको पाइएको थियो ।

‘नक्कली एनओसी विद्यार्थीले बनाए वा कन्सलटेन्सीले बनाउन सहयोग गरे, यसबारेमा अनुसन्धान शुरु भइसकेको छ,’ विभागका महानिर्देशक ईश्वरराज पौडेलले क्लिकमाण्डूलाई जानकारी दिए ।

उनका अनुसार उनीहरु विद्यार्थी भिसामा साइप्रास जान लागेका थिए । विभागले अहिले उनीहरुले बनाएको नक्कली एनओसी र पासपोर्ट जफत गरी अनुसन्धान शुरु गरिसकेको छ ।

विभागका अनुसार उनीहरु अहिले सम्पर्कमा आएका छैनन् । विद्यार्थीहरुले नक्कली एनओसी बनाइ साइप्रसस्थित कलेजमा विभिन्न बैंकमार्फत पैसा पठाइसकेका थिए ।

उनीहरुले विभिन्न बैंकबाट ३ हजार यूरोदेखि ४ हजार ५०० यूरो अर्थात झण्डै ४ लाख रुपैयाँदेखि ५ लाख ७३ हजार रुपैयाँसम्म बैंकमार्फत् कलेजमा पठाएको देखिएको छ ।पाँचै जना विद्यार्थीहरुले बोकेको एनओसीमा शाखा अधिकृताको हस्ताक्षर समेत फरक-फरक पाइएको छ ।

एनओसी विदेशीस्थित कलेजमा शुल्कवापतको पैसा पठाउनका लागि शिक्षा मन्त्रालयले जारी गर्दछ । यसको प्रयोजन मुद्रा सटहीका लागि मात्रै हो । सोही पत्र अनुसार विभिन्न वाणिज्य बैंकबाट विदेशस्थित कलेजमा पैसा पठाउनका लागि शिक्षा मन्त्रालयले अनुमति दिन्छ ।

को हुन् ती विद्यार्थीहरु
५ जना विद्यार्थीहरु साइप्रसस्थित सिटी युनिटी कलेजमा इन्टरनेशनल हस्पिटालिटी एन्ड टुरिजम म्यानेजमेन्ट कलेजमा स्नातक तह अध्ययन गर्न जान थालेका थिए । उनीहरु सबै कतार एयरवेजबाट साइप्रस जान थालेका थिए ।

उनीहरु १९ वर्षदेखि ३८ वर्ष उमेरका छन् ।

उनीहरुले दुईतर्फी टिकट समेत काटेका थिए । उनीसँग मार्च ७ तारिखमा दोहा हुँदै काठमाडौं फर्कने टिकट समेत थियो । उनीहरुले फेब्रुअरी १५ मा साइप्रसको भिसा पाएका थिए । भने उनीहरुलाई साइप्रस पुगेको १५ दिनसम्म त्यहाँ बस्ने अनुमति समेत दिइएको उल्लेख छ ।

नक्कली एनओसी बोक्नेमा सुनसरीका २१ वर्षे अभिजित कुमार यादव छन् । उनले यसका लागि सिद्धार्थ बैंकबाट कलेजमा गत डिसेम्बर २४ मा ४५०० यूरो पठाएका थिए ।

त्यस्तै, महोत्तरीका १९ वर्षे अंशु पाण्डेले सोही कलेजमा अध्ययन गर्नका लागि ४५०० यूरो पठाएका थिए भने पर्साका २९ वर्षे चेतनाथ दुलालले समेत गत जनवरी ८ मा ३ हजार यूरो बुझाएका थिए ।

साथै नवलपरासीका २७ वर्षे बिलोम थापाले पनि ट्युसन फिका लागि भन्दै ३ हजार यूरो पठाइसकेको एनओसीमा छाप लगाइएको छ ।

त्यस्तै, नवलपरासीकै ३८ वर्षे यज्ञराज पौडेलले पनि नक्कली एनओसी बनाइ पैसा पठाएको एनओसीमा छाप लगाइएको छ । उनीहरुले फरक–फरक बैंकबाट पैसा कलेजमा पठाएको देखिएको छ ।

अध्यागमनका अनुसार उक्त घटनापछि परीक्षण गर्नका लागि शिक्षामन्त्रालय छात्रवृत्ति शाखाका ४ जना उप सचिव र सह सचिवको हस्ताक्षरको नमूना विमानस्थलस्थित अध्यागमन शाखामा लगिएको छ ।

साथै शिक्षामन्त्रालयले पनि एनओसी जारी भएपछि परीक्षणका लागि ‘रिड अन्ली’को अनुमतिसहित एनओसी जाँचका लागि विमानस्थलस्थित अध्यागमन विभागलाई दिएको छ ।

त्यस्तै, शिक्षामन्त्रालयले एनओसी परीक्षणका लागि नयाँ सफ्टवेयर विमानस्थलस्थित अध्यागमन कार्यालयमा राख्ने तयारी गरेको  छ ।

साथै शिक्षामन्त्रालय छात्रवृत्ति शाखाका उपसचिव गिरवान थापाका अनुसार मन्त्रालयबाट जारी हुने एनओसीको वाणिज्य बैंक तथा अध्यागमन कार्यालयमा समेत रेकर्ड हुने गरी सफ्टवेयर निर्माण गर्न लागिएको छ ।

त्यस्तै, शिक्षामन्त्रालयले एनओसी परीक्षणका लागि नयाँ सफ्टवेयर विमानस्थलस्थित अध्यागमन कार्यालयमा राख्ने तयारी गरेको छ । मन्त्रालयका अनुसार यही २/३ दिनभित्रै अध्यागमन कार्यालयमा राख्ने तयारी भइसकेको छ ।

शिक्षा मन्त्रालयले केही समयभित्रै अनलाइनबाट एनओसीको फारम भर्न सकिने, जसमा पासपोर्ट तथा शैक्षिक उपलब्धीको विवरण समेत राख्ने र सम्बन्धित शैक्षिक परामर्श दातृ संस्थाको नाम समेत उल्लेख गर्ने गरी सफ्टवेयर निर्माणको काम गरिरहेको छ ।

मन्त्रालयका अनुसार एक महिनाभित्र उक्त सफ्टेयर निर्माण भइ सक्नेछ ।


क्लिकमान्डु