कर्मचारीमाथि दुर्व्यवहार नरोकिए बैंक बन्द गरी साँचाे राष्ट्र बैंकलाई बुझाउने चेतावनी


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कर्मचारी युनियनले बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीमाथि भइरहेका आक्रमण र दुर्व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल राष्ट्र बैंकका गभर्नरको ध्यानाकर्षण गराएका छन् ।

पुस २१ गते सोमबार बैंकको कर्मचारी युनियनका अध्यक्ष शिवहरि भण्डारीले हस्ताक्षर गरेको ध्यानकर्षण पत्र राष्ट्र बैंकमा बुझाउँदै बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण चाबीहरु नेपाल राष्ट्र बैंक र जगेडा चाबीहरु अर्थ मन्त्रालयमा बुझाउने चेतावनी दिइएको हो । साथै सबै कर्मचारी धर्नामा बस्ने ध्यानकर्षण पत्रमा उल्लेख छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको घोराही शाखामा कार्यरत कर्मचारीहरूलाई कर्जा असुलीको सिलसिलामा अराजक समूहले ज्यान मार्ने नियतका साथ साङ्घातिक हमला गरेको बताउँदै कर्मचारी युनियनले त्यसको भत्र्सना गरेको छ । यस्ता आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरिएको छ।

‘विभिन्न समूहहरूको प्रहारको केन्द्र बैंकका कर्मचारीहरू बन्दै जानु र नियामक निकाय तथा सरकार मौन रहनु लज्जास्पद विषय हो,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘कर्जा नतिर्ने बहानामा कर्मचारीमाथि गरिने भौतिक आक्रमण, अभद्र व्यवहार र सामाजिक सञ्जालमार्फत दिइने धम्कीले कर्मचारीहरूको कार्य वातावरण खल्बलिएको छ ।’

बैंकको कर्मचारी युनियनले बैंक तथा वित्तीय संस्थाहरूले देशको अर्थतन्त्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै कर्मचारीहरूको पेशागत मर्यादा र सुरक्षाको ग्यारेन्टी गर्न राज्यसँग माग गरेको छ। कर्जा मिनाहाको माग गर्ने र वित्तीय प्रणालीलाई नै धराशायी बनाउन खोज्ने अराजक तत्वहरूलाई राजनीतिक संरक्षण दिनु दुर्भाग्यपूर्ण भएको युनियनको ध्यानकर्षण पत्रमा उल्लेख छ ।

युनियनले आफ्ना मागहरू सम्बोधन नभए र कर्मचारीको सुरक्षा सुनिश्चित नभएमा कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ। ‘यस्तै अराजकता कायम रहिरहेमा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूको साँचो नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयमा बुझाई सम्पूर्ण कर्मचारीहरू धर्नामा बस्न बाध्य हुनेछौं,’ ध्यानकर्षण पत्रमा भनिएको छ ।