
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्ज्वलन गर्नुका साथै बेलुन उडाएर महाधिवेशनको संयुक्त रूपमा उद्घाटन गरे ।
काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ ।
संस्थापन पक्षका नेताहरू पनि सहभागी
विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतका शीर्ष पदाधिकारीहरू उपस्थित छैनन् । सभापति देउवा विशेष महाधिवेशनको विपक्षमा उभिँदै आएका थिए।
तर, देउवा निकटकै मानिने पूर्वउपसभापति गोपालमान श्रेष्ठसहित संस्थापन पक्षका धेरै केन्द्रीय सदस्यहरू भने महाधिवेशनमा सहभागी हुन पुगेका छन् । संस्थापन पक्षबाट केन्द्रीय सदस्यहरू तारामान गुरुङ, डा. डिला सङ्ग्रौला, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, अर्जुन जोशी र राजन केसी लगायतका नेताहरू भृकुटीमण्डप पुगेका हुन् ।
इतर समूह र प्रभावशाली नेताहरूको बाक्लो उपस्थिति
महाधिवेशनमा पदाधिकारीका तर्फबाट महामन्त्रीद्वयका अतिरिक्त सहमहामन्त्री फरमूल्लाह मंसुर सहभागी छन् । त्यस्तै, डा. शेखर कोइराला निकट मानिने नेताहरू चन्द्र भण्डारी, सुनिल शर्मा र कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पनि कार्यक्रममा उपस्थित छन् ।
महाधिवेशन स्थलमा पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, पूर्वसभामुख तारानाथ रानाभाट र पुराना नेताहरू ओमकारप्रसाद श्रेष्ठ तथा सुधीर सिवाकोटीको पनि उपस्थिति छन् ।
त्यसै गरि विनोद चौधरी, प्रदीप पौडेल, अजयबाबु शिवाकोटी, उदय शमशेर राणा, भरत शाह, बहादुरसिंह लामा, प्रतिमा गौतम, प्रकाश स्नेही रसाइली, ध्रुव वाग्ले, महेश आचार्य, मुक्ता यादव, आङगेलु शेर्पा, अमृत अर्याल, गोपाल दहित, मोहन आचार्य, महेन्द्रकुमार राय, कर्णबहादुर बुढा, जानकी सिंह, अब्दुल सतार, नानु बास्तोला र योगेन्द्र चौधरी लगायत रहेका छन्।








प्रतिक्रिया