भेनेजुएलाको कच्चा तेल फेरि किन्नका लागि भारतको रिलायन्सले अमेरिकीहरूसँग छलफल गर्ने


एजेन्सी । भारतको रिलायन्स इन्डस्ट्रिजले भेनेजुएलाको कच्चा तेल खरिद गर्नका लागि अमेरिकाको सहमतिको खोजी गरिरहेको रोयटर्स समाचार संस्थाले समाचार प्रकाशन गरेको छ ।

रुसी तेल आयात कटौती गर्न भारतमाथि परेको पश्चिमी दबाबका बीच यो निजी तेल प्रशोधनकर्ताले आफ्नो आपूर्ति सुरक्षित गर्ने प्रयास गरिरहेको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएपछि वाशिङटन र काराकासबीच ५ करोड ब्यारल तेल पठाउने वार्ता अघि बढिरहँदा रिलायन्सका प्रतिनिधिहरू अनुमति प्राप्त गर्न अमेरिकी विदेश र अर्थ मन्त्रालयहरूसँग छलफलमा रहेको स्रोतहरूले रोयटर्सलाई बताएका छन् ।

रिलायन्स इन्डस्ट्रिजले विश्वकै सबैभन्दा ठूलो आफ्नो रिफाइनिङ कम्प्लेक्सका लागि अमेरिकी प्रतिबन्ध लागेको भेनेजुएलाबाट कच्चा तेल आयात गर्न विगतका वर्षहरूमा वाशिङटनबाट इजाजतपत्र प्राप्त गरेको थियो ।

भेनेजुएलाको सरकारी तेल कम्पनी पीडीभीएसएको आन्तरिक रेकर्ड अनुसार, ती अनुमतिहरू अन्तर्गत सन् २०२५ को पहिलो चार महिनामा रिलायन्सलाई चारवटा कच्चा तेलका कार्गोहरू (दैनिक करिब ६३ हजार ब्यारल) उपलब्ध गराइएको थियो ।

अमेरिकाले मार्च र अप्रिलको बीचमा पीडीभीएसएका अधिकांश व्यापारिक साझेदारहरूको इजाजतपत्र निलम्बन गरेको थियो । मदुरोमाथि दबाब बढाउँदै भेनेजुएलाका तेल खरिदकर्ताहरूलाई भन्सार शुल्क) लगाउने धम्की दिएको थियो ।

भेनेजुएलाको तेल बोकेको रिलायन्सको अन्तिम कार्गो मे २०२५ मा भारत आइपुगेको थियो ।

अमेरिकी नियमहरू अन्तर्गत गैर–अमेरिकी खरिदकर्ताहरूलाई बिक्री गर्न अनुमति दिइएमा भेनेजुएलाको कच्चा तेल खरिद पुनः सुरु गर्नका लागि विचार गर्ने रिलायन्सले जनाएको छ ।

शेभरन, भिटोल, ट्राफिगुरा र अन्य तेल कम्पनीहरू भेनेजुएलाको तेल निर्यातको इजाजतपत्र र नियन्त्रणका लागि प्रतिस्पर्धा गरिरहेका छन् । ट्रम्पले शुक्रबार नै ह्वाइट हाउसमा तेल कम्पनीका कार्यकारीहरूसँग भेट गर्दैछन् । दक्षिण अमेरिकी उत्पादक भेनेजुएलासँग जमिनमा रहेका ट्यांक र जहाजहरूमा लाखौं ब्यारल कच्चा तेल थन्किएर बसेको छ ।

अमेरिकी अधिकारीहरूले भेनेजुएलाको तेल निर्यातलाई अनिश्चितकालका लागि नियन्त्रण गर्ने र केही तेल गैर–अमेरिकी खरिदकर्ताहरूलाई दिइने बताएका छन् । ट्रम्पले भेनेजुएलाको तेलको सबैभन्दा ठूलो खरिदकर्ता चीनलाई तेलबाट वञ्चित नगरिने बताएका छन् ।

आकर्षक दरमा कच्चा तेल प्रस्ताव गरियो भने रिलायन्सले अमेरिकी कम्पनीहरू र भेनेजुएलामा उत्खनन अधिकार भएका अन्य कम्पनीहरूबाट तेल किन्न इच्छुक रहेको बताइएको छ ।

भेनेजुएलाको तेल आपूर्तिले भारतलाई केही रुसी आपूर्ति प्रतिस्थापन गर्न मद्दत गर्न सक्छ । रिलायन्स रुसी तेलको सबैभन्दा ठूलो भारतीय खरिदकर्ता थियो । तर, ट्रम्पबाट रुसी तेल आयात बन्द गर्न भारतमाथि दबाब परेकाले यो महिना रुसी कच्चा तेलको कुनै पनि कार्गो प्राप्त नगर्ने उसले जनाएको छ ।

गुजरात राज्यमा रहेका रिलायन्सका दुईवटा रिफाइनरीहरूको दैनिक करिब १४ लाख ब्यारल कच्चा तेल प्रशोधन गर्ने कुल क्षमता छ । भेनेजुएलाको मेरे जस्ता सस्तो र भारी कच्चा तेल प्रशोधन गर्न त्यो सक्षम छ ।

रिलायन्स र पीडीभीएसएबीच लामो समयदेखिको सम्बन्ध छ । अमेरिकाले तेल व्यापारमा प्रतिबन्ध लगाउनुअघि भारत भेनेजुएलाको कच्चा तेलको लागि तेस्रो सबैभन्दा महत्त्वपूर्ण बजार थियो । उसले दैनिक करिब ४ लाख ब्यारल तेल आयात गर्थ्यो ।