बीमा कम्पनीमा अब ‘रिस्क बेस सुपरभिजन, समितिले जारी गर्यो यस्तो मार्गदर्शन



काठमाडौं । बीमा कम्पनीहरुमा अब जोखिममा आधारित निरीक्षण (रिस्क बेस सुपरिभिज) हुने भएको छ । यसअघि कम्प्लाइन्स बेस सुपरिभिज हुँदै आएको थियो ।

नियामक बीमा समितिले बिहीबार ‘जोखिम व्यवस्थापन निर्देशिका-२०७६’ लागू गरेसँगै बीमा कम्पनीहरुमा जोखिमम आधारित सुपरिभिजन हुने भएको छ ।

समितिले बीमा कम्पनीहरुमा हुने जोखिमको पहिचान र त्यसको व्यवस्थापनको लागि सो निर्देशिका जारी गरेको हो ।

अबदेखि छुट्टै समिति गठन गरेर जोखिमको पहिचान र त्यसको मुल्यांकन अर्थात् रेटिङ गरी  समितिले त्यसको नियमन गर्नेछ ।

निर्देशिका अनुसार बीमा समितिले बीमा कम्पनीहरुको कर्जाको जोखिम, तरलताको जोखिम, बजारका सम्भावित जोखिम र सञ्चालन जोखिम पहिचान गरी त्यसलाई ५ तहमा वर्गिकरण गर्नेछ ।

बीमा कम्पनीमा अब ‘रिस्क बेस सुपरभिजन ’, यसैहप्ता आउँदैछ यस्तो मार्गदर्शन

त्यसैगरी, बीमा कम्पनीले गरेको पुर्नबीमाको अवस्था, दाबी भुक्तानीको अवस्था, बीमा लेखको मुल्य, अन्डरराइटिङ, कम्पनीको रणनीति, लगायतका अवस्थाको सुपरिवेक्षण गरिनेछ । त्यस्तै, क्रेडिट जोखिममा बिमा कम्पनीले गरेको कर्जाको प्रवाह र असूलीको अवस्थालाई हेरिनेछ ।

कम्पनीहरुले कुनै पनि जोखिम नदेखिएका कम्पनीलाई शून्य अंक र ग्रीन कार्ड दिइनेछ । सामान्य जोखिम भएका कम्पनीलाई १ अंक र लाइट ग्रनि कार्ड , मध्यम खालको जोखिम भएका कम्पनीलाई २ अंक र एल्लो कार्ड प्रदान गरिने छ ।

उच्च जोखिम भएका कम्पनीलाई ३ अंक ओरेन्ज कार्ड र अत्यधिक जोखिम देखिएका कम्पनीलाई ४ अंक र रेड कार्ड दिएर रेटिङ हुने र सोही अनुसारको जोखिम व्यवस्थापनका प्रक्रियामा जानु पर्ने निर्देशिकामा उल्लेख छ ।

कुनै पनि जोखिम नभएको कम्पनी बीमा बजारमा सबैभन्दा राम्रो कम्पनी ठहरिने र सो कम्पनीलाई थप बीमा व्यवसाय गर्ने प्रत्साहन गरिने छ।

रेटिङमा १ अंक पाएको कम्पनीलाई निगरानीको सुचीमा र २ अंक पाएकालाई शुक्ष्म निगरानी समितिले गर्छ । कुनै कम्पनीले ३ अंक प्राप्त गरेमा त्यसको निगरानी र अनुगमन समितिले छिटो0छिटो अनुगमन गर्छ ।

रेटिङमा ४ अंक प्राप्त गरेका कम्पनीलाई भने बीमा ऐनबमोजिम कारबाहीमा पर्ने  छन् ।

बीमा क्षेत्रलाई अझ शशक्त बनाउन रिस्क बेस सुपरभिजन लागू गरिएको समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंले जानकारी दिए । यो व्यवस्था आगामी साउन १ गतेदेखि फुल फेजमा लागू हुने भएपनि अहिले टेस्टिङको काम भइरहेको उनले जानकारी दिए ।

‘यसअघि बीमा कम्पनीहरुले बीमा समितिले जारी गरेका नीति निर्देशनहरुको पालना भएको छ कि छैन, बीमाको सिद्दान्त अनुसार काम भएको छ कि छैन भनेर कम्प्लाइन्स बेस सुपरभिजन गर्थ्यौं,’ अध्यक्ष चापागाईंले क्लिकमाण्डूसँग भने, ‘अब भने जोखिमलाई विभिन्न ५ भागमा बिभाजन गरेर जोखिममा आधारित सुपरभिजन गर्ने भएका छौं ।’

बीमा क्षेत्रमा यूरोप/अमेरिका जस्ता विकसित देशहरुमा सन् २००७/८ तिरै यो प्रणाली लागू भएको थियो । नेपाल राष्ट्र बैंकले सन् २०१३ देखि रिस्क बेस सुपरभिजन शुरु गरिसकेको छ । बीमा समितिको अहिलेको नेतृत्वले ढिलै गरे पनि राम्रो कामको शुरुआत गरेको हो ।

‘हामीले अहिले बीमा समितिका २ दर्जन कर्मचारीहरुलाई रिस्क बेस सुपरभिजन कसरी गर्ने भनेर राष्ट्र बैंक लगायतका निकायबाट विज्ञहरु बोलाएर तालिम दिइसकेका छौं,’ उनले भने, ‘मार्गदशर्न लागू भएपछि बीमा कम्पनीका कर्मचारीहरुलाई हामी यो तालिम दिन्छौं र कार्यान्वयनमा लैजान्छौं ।’

रिस्क बेस सुपरभिजन लागि इस्योरेन्स रिस्क, क्रेडिट रिस्क, लिक्विडिटी रिस्क, मार्केट रिस्क र अपरेशनल रिस्क गरी ५ भागमा जोखिमलाई विभाजन गरेर हेरिन्छ ।

इस्योरेन्स रिस्कभित्र प्राइसिङ, अन्डरराइटिङ, रिजर्भिङ र रि–इस्योरेनस रिस्कलाई हेरिन्छ । यी उपशिर्षकमा देखिएका जोखिमलाई सल्भेन्सि रेसियोले जाँच गर्छ । सल्भेन्सि रेसियो १.५ प्रतिशतभन्दा कम हुनु हुँदैन ।

यदि कुनै कम्पनीको सल्भेन्सि रेसियो तोकिएकोभन्दा कम भयो भने त्यो कम्पनीले पुँजी थप गर्नुपर्छ । होइन भने बीमा समितिले त्यस्तो कम्पनीलाई कारबाही गर्छ ।

त्यसैगरी, क्रेडिट रिस्क अन्तर्गत बीमा कम्पनीहरुले बीमालेख धितोमा प्रवाह गरेको कर्जा के कति जोखिममा छ भनेर हेरिन्छ । साथै, पुनर्बीमाको जोखिम पनि हेरिन्छ ।

‘यो व्यवस्था लागू भएपछि कि पुँजी थप्नुपर्यो, कि पैसा उठाउनू पर्यो, कि त कारबाही भोग्नुपर्यो,’ चापागाईले भने ।

लिक्विडिटी रिस्क अन्तर्गत बीमा कम्पनीले भोलि/पर्सि नै दायित्व भुक्तानी गर्नुपर्छ तर उसले दीर्घकालीन लगानी गरेको हुन्छ । यसबाट के कस्तो जोखिम उत्पन्न भएको छ भनेर हेरिन्छ ।

‘बीमा कम्पनीसँग वर्तमानमा आइपर्ने दायित्व भुक्तानी गर्ने तरलता (लिक्वीडिटी) के कति छ भनेर हेरिन्छ, पर्याप्त लिक्विडिटी छैन भने त्यहाँ बढी जोखिम हुन्छ,’ उनले भने ।

त्यस्तै मार्केट रिस्क अन्तर्गत बजारबाट उत्पन्न हुने जोखिमहरुलाई लिइन्छ । उदाहारणका लागि अहिले बीमा कम्पनीको मोटोर रकम निक्षेपका रुपमा बैंकमा छ । बैंकको ब्याजदर बढ्दा कम्पनीको आम्दानी बढ्छ भने ब्याजदर घट्दा आम्दानी पनि घट्छ । मार्केट रिस्कले यस्तै कुराहरु हेर्छ ।

अपरेशनल रिस्क अन्तर्गत कम्पनीहरुले ऐन कानून, नीति नियमहरु के कति मानेका छन् जस्ता विषय हेरिन्छ । कम्पनी सञ्चालन गर्दा कर्मचारीहरुबाट पनि जोखि आउन सक्छ, तयसलाई पनि हेरिन्छ ।

‘मार्गदर्शन जारी भएकै दिनदेखि बीमा क्षेत्रमा रिस्क बेस सुपरभिजन लागू हुन्छ,’ चापागाईंले भने, ‘यो प्रणाली पछिल्लो समय विकसित भएको अन्तर्राष्ट्रिय अभ्यास हो, अब नेपालको बीमा पनि अन्तर्राष्ट्रियस्तरमा विश्वासयोग्य हुन्छ ।’


पुष्प दुलाल