कुनै समय विश्वकै छैठौं धनी अनिल अम्बानीको बयानः मेरो नेटवर्थ शून्य छ, कसरी ऋण तिरुँ ?



काठमाडौं । आजभन्दा १२ वर्षअघि अर्थात् सन् २००८ मा अनिल अम्बानी विश्वका धनाड्यहरुको सूचीमा ६ नम्बरमा थिए । भारतीय टेलिकमको दुनियाँमा रिलायन्स कम्युनिकेशनले स्थापना गरेको साम्म्राज्यले अनिललाई त्यो स्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको थियो ।

उनको प्रगति र सफलतालाई हेर्ने कोहीलाई पनि लाग्दैनथ्यो कि मात्रै एक दशकमा उनी ऋणमा चपेटामा पर्छन । र, केही गर्न नसक्ने अवस्थामा पुग्छन् ।

बाउको सम्पत्तिले धनी भइरहन सकिँदैन भन्ने उदाहारण बनेका छन् अहिले अनिल अम्बानी । भारतीय अर्बपति धिरुभाई अम्बानीले स्थापना गरेको साम्राज्यले कान्छा छोरा अनिललाई अर्बपति बनाएको थियो ।

तर, उनले बाउले अंश गरेर दिएको सम्पत्ति जोगाउन सकेनन् । र, टाट पल्टिनु पर्यो । अनिलका दाई मुकेशले भने सम्पत्ति बढाउँदै लगेका छन् । मुकेश अहिले एशियाकै सबैभन्दा धनी व्यक्ति हुन् ।

गत शुक्रबार मात्रै अनिलले बेलायस्थित हाई कोर्टमा आफ्नो नेट वर्थ जिरो भएको बयान दिए । निकै भावुक मुद्रामा प्रस्तुत भएका अम्बानीले नेटवर्थ जिरो भएका कारण बैंकहरुको रकम भुक्तानी गर्नसक्ने कुनै उपाय आफूसँग नरहेको बयान दिए ।

‘मेरो नेट वर्थ जिरो छ, मसँग कुनै अर्थपूर्ण सम्पत्ति पनि छैन, जसलाई बेचेर यो सबै ऋण भुक्तानी प्रक्रियामा जान सकियोस्’ अम्बानीले न्यायधीशसमक्ष दिएको बयान हो यो ।

पछिल्ला १२ वर्षमा अम्बानीले ४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति सकेका छन् ।

३ वटा चिनियाँ बैंकको ७ सय मिलियन अमेरिकी डलरभन्दा बढी ऋण नतिरेपछि बैंकहरुले बेलायनको उच्च अदालतमा मुद्दा हालेका थिए ।

इन्डस्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइना आइसीबीसी, चाइना डेभलपमेन्ट बैंक तथा एक्पोर्ट इम्पोर्ट बैंक अफ चाइनाले रिलायन्स कम्युनिकेसन्न ९आरकम० लाई दिएको ऋण फिर्ता नपाएको अम्बानीलाई मुद्दा हालेका हुन्।

अनिलको बयानपछि अदालतका न्यायाधीश डेबिड वाक्समेनले उनलाई १०० मिलियन डलर ६ हप्ताभित्र कोर्टमा जम्मा गर्न आदेश दिए ।

अनिलका वकिल रोबर्ट होवे कोर्टले आफ्ना क्लाइन्टसँग उनले तिर्न नसक्ने रकम जम्मा गर्न आदेश दिनु नहुने तर्क गर्छन् । अनिलले अदालतसमक्ष अपिल गर्ने तयारी गरेका छन् ।

अनिलले निजी ग्यारेन्टीमा रिलायन्स कम्युनिकेसन्सका लागि सन् २०१२ मा ९२५ मिलियन डलर ऋण लिएका थिए।

यसरी डुबे

पिता धिरुभाई अम्बानीले २८ हजार करोड भारुको रिलायन्स कम्पनीको रकम सन् २००५ मा दुई भाईमा भागबण्डा भयो । जसमा दुबै भाई २८ हजार करोड भारुको बराबरीका हिस्सेदार थिए । तत्कालिन समयमा नाफा कमाउने सम्भावना भएका कम्पनी टेलिकम सेक्टर अनिल अम्बानीको हातमा आएको थियो ।

दुबै भाईमा के सहमति भएको थियो भने आगामी १० वर्षसम्ममा जेठो दाई मुकेश अम्बानीले यस क्षेत्रमा हात हाल्ने छैनन् । अर्थात् अनिल अम्बानीका लागि यो निकै राम्रो अवसर थियो । तर अनिलले नाफा कमाउनु त परै जाओस भएको सम्पत्ति पनि विस्तारै गुमाउन थाले ।

पैसा त लगाए तर तरिका गलत

जानकारहरुको के भनाइ छ भने रिलायन्स इन्फोकमको सुरुवात २००२ मा भएको थियो । अनिल अम्बानीले सीडीएमएम टेक्नोलोजीलाई छनोट गरे र प्रतिष्पर्धा एयरटेल, हच म्याक्सले जीएसएम टेक्नोलोजी छनोट गरे । सीडीएमए टेक्नोलोजीको समस्या यो टु जी र थ्री जीमा मात्रै चल्थ्यो तर भारतमा तत्कालिन समयममा फोर जीको सुरुवात हुँदै थियो । अनिल अम्बानीको व्यापारमा यो समस्या थियो कि उनले लगानी गरे पनि लगानीपछिको तरिकामा निकै पछाडि भए ।

इन्फ्रास्टक्चर र इन्टरटेन्मेन्टमा लाग्यो झट्का

अनिल अम्बानीले एकै सथा ठूलो व्यापार विस्तार गरे । उनको मुख्य कम्पनीहरु सोही समय घाटामा आए जसले गर्दा उनी दुबैतर्फबाट एकै साथ मारमा परे । उनले सन् २००५ मा एड्ल्याव र सन् २००८ मा १.२ अर्ब डलरमा करार ड्रिमवक्ससँग काम गरे । त्यसपछि इन्फ्रास्टक्चर व्यवसायमा पनि आए । मनोरञ्जन र इन्फ्रास्ट्रक्चरमा उनी राम्रो काम गर्न सकेनन । दोस्रोतर्फ सन् २०१४ मा उनको उर्जा र इन्फ्रास्ट्रक्चर कम्पनी ऋणमा डुबे । त्यो ऋण तिर्नका लागि उनीसँग कम्पनी बिक्री गर्नुको विकल्प थिए । व्यापार बलियो थिएन र अरु पनि कम्पनी घाटामै थिए । तर पनि उनले कम्पनी बिक्री गर्नका लागि तयार भएनन ।

जियोले दियो अन्तिम चोट

अनिल अम्बानी यही संकटसँग जुधिरहेका थिए कि दाजु मुकेश अम्बानी टेलिकम क्षेत्रमा प्रवेश गरे । सम्झौता अनुसार १० वर्षसम्म उनी यस क्षेत्रमा आएनन । तर १० वर्ष सकिएपछि जियोलाई लिएर उनी यस क्षेत्रमा आए । र, पूरे बजारमा आफू मात्रै छाए । एयरटेल, भोडाफोन जस्ता ठूला कम्पनीहरु जियोको आँधीमा बेरिए र घाटामा जान थाले । अनिल अम्बानीको व्यापारका लागि यो निकै ठूलो झट्का थियो । संकटबाट अगाडि बढ्ने कोसिस गरिरहेका अनिल तीव्र गतिमा तर झर्न थाले । विगत केही वर्षमै अनिल अम्बानीको विग सिनेमा, रिलायन्स विग ब्रोडकास्टिङ जस्तै कम्पनी बिक्री गर्न पर्यो ।

रिलायन्स कम्युनिकेशनका साथमा ग्रुपको अन्य कम्पनीमा पनि विस्तारै विस्तारै ऋणको बोझ बढ्न थाल्यो । अनिल अम्बानीलाई सन् २०१४ मा नोक्सानी अझ ठूलो भयो । एक रिपोर्ट अनुसार सन् २०१८ मा रिलायन्ससँग १.७२ लाख करोड भारुको ऋण थियो । आरकम कम्पनीको सन् २००८ मा कुल मार्केट भ्याल्यू १ लाख ६५ हजार ९१७ करोड भारु थियो । जुन सन् २०१९ मा आइपुग्दा १ हजा ६८७ करोडमा सीमित भएको थियो । कम्पनीमा कुल ३५ हजार ६०० करोडको ऋण थियो । त्यसपछि कम्पनीको लिलामी प्रक्रिया सुरु गरिएको थियो ।

आरकमसँग ३५ हजार ६०० करोड भारु, रिलायन्स पावरसँग ३० हजार ३०० करोड भारु, रिलायन्स इफ्रासँग १७ हजार ८०० करोड भारु, रिलायन्स क्यापिटलसँग ३८ हजार ९०० करोड भारु, रिलाइन्स नोवेल एन्ड इन्जिनियरिङसँग ७००० करोड भारुको ऋण छ ।

दुबै भाइमा भिागबन्डा पछि अनिल अम्बानी अन्तर्गतको रिलायन्स ग्रुप अफ कम्पनीको मार्केट क्याप मार्च २००८ मा २ लाख २६ हजार ३४५ करोड भारु थियो भने फेब्रअुरी २०१९ मा यो घटेर २४ हजार ९२२ करोड रुपैयाँ पुगेको थियो । जुन महिनामा त कम्पनीको मार्केट क्याप ६ हजार १९६ करोड भारुमा झरेको थियो । यसै समय अनिल अम्बानी अर्वपतिको सूचीबाट बाहिरिए । र, उनको निजी सम्पत्ति १ अर्ब डलरभन्दा पनि कममा पुग्यो । अहिले शून्यमा झरेको छ ।


पुष्प दुलाल