मलाइ जस्तो तनाव शत्रुलाई पनि नपरोस्, हल्ला मात्रै हो राजीनामा: डेपुटी गभर्नर शिवराज श्रेष्ठ



अनियमितताको आरोप लगाउँदै सरकारको निर्देशनमा गत कात्तिक १८ गते राष्ट्र बैंकको सञ्चालक समितिले डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि लागेका आरोपको छानविन गर्न सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा सञ्चालकद्धय सुवोधलाल कर्ण र रामजी रेग्मी सदस्य रहेको छानविन कमिटि गठन गरेको थियो । उक्त कमिटि गठन भएकै दिनदेखि डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा परेका थिए । उक्त समितिले गत मंसिर २४ गते राष्ट्र बैंकको सञ्चालक समिति समक्ष छानविन प्रतिवेदन बुझायो । र, मंसिर २५ गते राष्ट्र बैंकले अर्थ मन्त्रालयमा उक्त प्रतिवेदन बुझायो । अर्थमन्त्रालयले ३ हप्ता प्रतिवेदन होल्ड गरेर प्रधानमन्त्री कार्यालयलाई बुझायो । र, गत साताको मन्त्रिपरिषदले छानविन प्रतिवेदनले डेपुटी गभर्नर श्रेष्ठमाथि लागेका आरोपहरु पुष्टि नगरेको भन्दै उनलाई सफाइ दिने निर्णय गर्यो । सरकारले सफाइ दिएपछि श्रेष्ठ ७७ दिनपछि डेपुटी गभर्नरको कुर्सीमा पुनर्बहाली भएका छन् । पुनर्बहाली भएलगत्तै क्लिकमाण्डूका लागि दिलु कार्कीले डेपुटी गभर्नर शिवराज श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंशः

निलम्बनमा परेपछिका  साढे २ महिना कसरी बिताउनुभयो ?

यो समय तनाव लिएर बित्यो । घरपरिवार साथीभाई सबैलाई तनाव भयो । एउटै कुरा धेरैलाई सम्झाउनुपर्ने भयो । कतिपयले बैंकिङ क्षेत्र बुझेको हुनाले धेरै बुझाउनु परेन । छानबिन हुँदै जाँदा क्लियर हुन्छ भन्नेमा म आफू विश्वस्त थिएँ ।

अढाइ महिनापछि यसरी राष्ट्र बैंक फर्किए डेपुटी गभर्नर श्रेष्ठ (फोटो फिचर)

जसले बुझेको थिएन मलाई साथ दिनेहरुले पनि तनावमा बिताउनुपर्यो । मैले जहिले पनि कानूनको पालना गरेर काम गरेको थिए । त्यो हुँदा मलाई डर थिएन । पत्रपत्रिकामा नियोजित रुपमा गलत रुपले प्रचार समेत गरेको पाइयो । त्यो देखेर कतिले त डराएर मलाई फोन पनि गरे ।

पुर्नबहालीमा सोमबारको दिन साइत हेराएर आउनु भएको त होइन नि ?

आइतबारदेखि हाजिर हुने कुरा थियो । तर अर्थमन्त्रालयबाट पत्र आउन ढिला भएकाले एकदिन ढिलो भयो । सोमबार राम्रो दिन पनि हो । साइत भने हेराएको होइन । आज एकादशी पनि हो । राम्रो दिन पनि छ ।

शिवराज श्रेष्ठविरुद्ध राज्य लाग्यो भन्ने धेरैको बुझाइ थियो । तपाईंको आत्माले के भनेको थियो ?

राज्य लागेको भन्नु भएन । यसमा विभिन्न बेनामे उजुरी पर्यो । यसमा छानबिन गर्ने कुरा भयो । प्रशासनिक कुरामा छानबिन भनेको सामान्य हो । कसैले उजुरी गर्यो सरकारले छानबिन गर्नसक्छ । पहिला पनि यस्ता खाले छानबिन अरुको विषयमा पनि हुन्थ्यो ।

निष्पक्ष रुपमा छानबिन भएको थियो । यसले एउटा सन्देश पनि के दिएको छ भने आफूले कानून अनुसार काम गर्ने हो भने कसैले बेनामे उजुरी हालेको छ भने दुःख दिने खालका मान्छेले दुःख दिन सक्छन् ।

डेपुटी गभर्नर शिवराज श्रेष्ठको पुनर्बहालीमा जे देखियो… भन्छन्- सत्यको जित भयो

कात्तिक १७ गते र अहिलेमा आफूले के भिन्नता पाउनुभयो ?

अहिले सबैले मलाई फसाउन खोजेको कुरा सबैले बुझे । नचाहिँदो उजुरी हालेको स्पष्ट पनि भयो । बैंकिङ सिस्टमले बुझे । राष्ट्र बैंकलाई आक्रामण र हस्तक्षेप समेत थियो । राष्ट्र बैंकमा पारदर्शी तरिकाले काम हुन्छ भन्ने बुझाइ सबैमा भयो ।

सामूहिक निर्णय हुने हुँदा तपाई जोगिनुभयो भन्ने बजारको बुझाइ छ, के त्यस्तै हो ?

राष्ट्र बैंकमा कानून अनुसार काम हुन्छ । हामी गलत काम गर्न सक्दैनौं । जुनियर अफिसरबाट टिप्पणी उठाउने सम्बन्धमा कानून अनुसार उठ्ने हो । कानून मिचेर टिप्पणी उठ्ने काम हुँदैन ।

मैले निर्णय लिँदासम्म धेरै प्रक्रिया पार गरेर आएको हुन्छ । त्यसपछि गभर्नरकहाँ पुग्ने हो । बाँकी निर्णय सञ्चालक समितिले गर्ने हो । एक्लै डेपुटी गभर्नरले केही पनि गर्न सक्दैन । राष्ट्र बैंकको निर्णय प्रक्रियामा सबै सञ्चालकहरु पनि जिम्मेवार हुने हो ।

तपाईंलाई अनुसन्धान शुरु भएपछि राष्ट्र बैंकभित्र २ वटा गुट भयो, तपाईले यसलाई अब कसरी हटाउनुहुन्छ ?

यो भएको होइन । यो हल्ला मात्रै हो । राष्ट्र बैंकका सबै कर्मचारीले मलाई सहानुभूति राखेका थिए । म फसेँ भने सबै फस्ने कुरा हुन्छ भन्ने सबै कर्मचारीलाई भएको थियो । कर्मचारीको मनोबल उच्च राख्ने काम गर्नेछु ।

गभर्नरको रेसमा तपाई अब कसरी अगाडि बढ्नुहुन्छ ?

डेपुटी गभर्नर कानून अनुसार नै गभर्नर बन्ने लाइनमा हुन्छ । कानूनले नै एकजना डेपुटी गभर्नरलाई अनिवार्य गभर्नरका लागि सिफारिस गर्ने व्यवस्था हुन्छ । सो व्यवस्था अनुसार गभर्नर नियुक्त हुने समयमा स्वभाविक रुपले डेपुटी गभर्नर दाबेदार हुन्छ । गभर्नरमा नियुक्ति गर्ने अधिकार सरकारको कुरा हो । सरकारले जो योग्य छ त्यसलाई नियुक्त गर्ने हो ।

मलाई गभर्नर बन्न नदिन ठूलो षड्यन्त्र भयो, गल्ती गरेको छैन: डेपुटी गभर्नर शिवराज श्रेष्ठको अन्तर्वार्ता

तपाई अब गभर्नरमा नियुक्त हुने सम्भावना कत्तिको छ ?

यो क्रिकेट र फुटबल खेलेको जस्तो म फस्ट हुन्छु वा सेकेन्ड हुन्छु भन्ने होइन । म स्वभाविक दाबेदार हो । सरकारले उपयुक्त व्यक्तिलाई नियुक्त गर्न सक्ने अधिकार राख्छ ।

तपाईंलाई सरकारले सफाइ त दियो । अब तपाईंले राजीनामा दिनुहुन्छ भन्ने बजार हल्ला छ नि ?

मलाई पनि १/२ जनाले सोधेका थिए । यत्तिको तनाव लिएर सफाइ पाएपछि राजीनामा दिने कुरा हुँदैन । क्लिनचिट लिनसक्नु नै कर्मचारीका लागि ठूलो कुरा हो । जागिरे जीवनमा यस्ता तनावको काम शत्रुलाई पनि नपरोस् । समाजमा बेइज्जत हुन्छ । तनावबाट मुक्ति पाउनु नै ठूलो कुरा हो ।

७७ दिनसम्म मानसिक तनावलाई कसरी नियन्त्रण गर्न सक्नुभयो ?

तनाव स्वभाविक रुपमा हुन्छ । यो जथाभावी रुपले बोल्दै हिँड्नु भएन । खुसीमा नमात्तिनु र दुःखमा नआत्तिनु भनेजस्तो गरेर अगाडि बढ्ने हो । मलाई साथीहरुले असजिलो पार्ने काम गरे । मैले कसरी अगाडि बढ्ने भनेर कानून तथा नियमहरु अध्ययन गर्दै थिए ।

आफूले गरेको काम सम्झँदा आफूले गल्ती गरेको थिएन भन्ने लागेको थिए । कानूनको अध्ययन गर्ने काम गरे । मलाई स्पष्टिकरण सोधियो । छानबिन समितिले ३० दिनमा रिपोर्ट दियो । मलाई ५ दिनको समय राखेर लिखित स्पष्टिकरण सोधियो । बेलुका ६ बजे मलाई घरमा चिठ्ठी आएको थियो ।

मैले ४ दिनमा लिखित स्पष्टिकरण बुझाएँ । त्यो तयार गर्दा २३० स्पष्टिकरण छ । ९९ पेज जवाफ छ । बाँकी अरु अनुसूचि थिए । यसका लागि ४ दिन ४ रात सुतिएन । पहिलेदेखि अध्ययन गरेको हुँदा मलाई सजिलो भयो । त्यो आरोप मिथ्या भएको पुष्टि भयो ।


पुष्प दुलाल