ग्राण्ड र किष्टको डुबेको २ अर्ब उठाउन ‘एग्रेसिभ’ बन्यो प्रभु बैंक, सीइओ भन्छन्- अब छाड्दैनौं



काठमाडौं । तत्कालीन किष्ट बैंक र ग्राण्ड बैंकको डुबेको ऋण उठाउन प्रभु बैंक एग्रेसिभ (आग्रमक) रुपमा प्रस्तुत भएको छ । लामो समयसम्म लचिलो भएर ऋणीसँग छलफल र सम्झौता गरेर खराब ऋण असूल्दै आएको प्रभु बैंकले अब भने रणनीति बदलेको हो ।

किष्ट र ग्राण्डका बिग्रिएका धेरै ऋण उठिसके पनि २ अर्ब जति उठ्न बाँकी रहेको प्रभु बैंकका सीइओ अशोक शेरचनले जानकारी दिए ।

‘बिग्रिएका संस्था लिएर पनि सकरात्मक सन्देश दिन सफल भयौं, जुन हाम्रा लागि चुनौतिपूर्ण यात्रा थियो ।’

‘अहिलेसम्म बैंकले ऋणीलाई ऋण तिर्न प्रोत्साहन गर्दै सहज बातावरण बनाइदिँदै आएको थियो । ऋण तिर्ने नियत भएकाहरुले तिरिसके त्यसैले हामीले ऋण असूलीको रणनीति बदल्नु परेको हो,’ सीइओ शेरचनले क्लिकमाण्डूसँग भने, ‘माघ महिना लागेसँगै ऋण असूलीको कानूनी प्रक्रिया अघि बढाउन थालिसकेका छौं ।’

करिब डेढ दर्जन ऋणीबाट २ अर्ब रुपैयाँको हाराहारीमा असूल गर्न बाँकी रहेको उनले सुनाए । शेरचनका अनुसार किष्टको भन्दा बढी ग्राण्डका ऋणहरु समस्यामा रहेको छ ।

मर्जर आवश्यक छ, गर्छौं पनि तर यसकारण एग्रेसिभ भएनौं: प्रभु बैंकका अध्यक्ष भट्टचनको बिचार

‘डेढ दर्जन ऋणीसँग असूल्न बाँकी छ, शतप्रतिशत प्रोभिजनिङ गरिसकेका छौं,’ उनले भने, ‘एउटै ऋणीसँग बढीमा २५/३० करोड रुपैयाँसम्म असूल गर्नुपर्ने छ ।’

तत्कालीन प्रभु विकास बैंकले किष्ट र ग्राण्ड बैंकलाई गाभेर प्रभु बैंक बनेको थियो । किष्ट र ग्राण्ड बैंकका ठूला ऋण बिग्रिएका कारण ती बैंक समस्यामा थिए । प्रभुले लिएर ती बैंकका लगनीकर्तालाई थप नोक्सान हुनबाट जोगाएको थियो ।

समस्यामा रहेका संस्था गाभेका कारण प्रभु बैंकले विगतमा निकै जटिल समस्याहरु भोग्नु परेको शेरचनको अनुभव छ ।

‘प्रभु विकास बैंकले किष्ट र ग्राण्डजस्ता ठूला समस्यामा परेका वाणिज्य बैंक गाभेर ठूलो जोखिम मोलेको थियो, शुरुमा त हामीलाई निकै गाह्रो भयो, खराब कर्जाको मात्रा निकै उच्च पनि भयो, बिजनेशको संभावना पनि निकै कम थियो, अस्तित्व नै रहन्छ कि रहँदैन भन्ने अवस्थामा थियौ हामी,’ शेरचनले सुनाए, ‘तर यो ६/७ वर्षको अवधिमा सबै समस्याहरुलाई समाधान गरेर बैंकले सुरक्षित अवतरण गरिसकेका छौं । वासलातको आकारका आधारमा टप टेन बैंकमा पर्न सफल भएका छौं ।’

सरोकारवालाहरुको सहयोगका कारण प्रभु बैंक सुरक्षित अवतरण गर्न सफल भएको उनको भनाइ छ ।

‘हामीले सरकारी नीति नियमलाई बुझ्न र त्यसलाई पछ्याउन सफल भएका छौं,’ उनले भने, ‘समग्रमा भन्दा बिग्रिएका संस्था लिएर पनि सकरात्मक सन्देश दिन सफल भयौं, जुन हाम्रा लागि चुनौतिपूर्ण यात्रा थियो ।’

‘तुलनात्मकरुमा केही कमजोर प्रफर्मेन्स भएका बैंकहरुसँगै हाम्रो कुराकानी भएको छ, चाँडै रिजल्ट आउनसक्छ।’

चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले प्रवाह गरेकोमध्ये ३.३२ प्रतिशत खराब कर्जा छ । सो अवधिमा बैंकले ९१ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

किन बिग्रेका संस्था रोज्यो प्रभुले ?

शेरचनका अनुसार पहिलो कुरा समस्यामा परेका संस्था मर्ज गर्दा आफ्नो नाम राख्न पाइन्छ । र, त्यतिमात्रै होइन, कतिपय बिग्रेका संस्थामा ठूलो संभावना पनि हुन्छ भन्ने हाम्रो सोच हो । बलिया त आफैं बलिया भइहाल्छन् नि ।

‘समस्यामा परेका संस्थालाई सही बाटोमा हिँडाउन सक्नेवित्तिकै ठूलो संभावना हुन्छ, फास्ट ग्रोथ हुन्छ,’ उनले भने, ‘बजारलाई २/३ वटा कुरामा सकरात्मक सन्देश दिन सकियो भने समस्याको समाधान भइहाल्छ ।’

‘किष्ट र ग्राण्डबाट आएको समस्याका अवषेशहरु २ वर्षभित्र पूर्णरुपमा सकिने छन्, त्यसपछि प्रभु बैंकको स्वरुप नै भिन्नै हुन्छ,’ उनले भने ।

बिग्रेको चीजलाई बनाउनका लागि सही र छिटो निर्णय लिनुपर्ने हुन्छ । जुन कुरामा प्रभु सफल भयो ।

‘सही र छिटो निर्णय हाम्रो सञ्चालक समिति र कर्मचारी दुबैले कन्जुस्याईँ गरेनौं, जसले हामीलाई सफल बनायो,’ उनले भने ।

अबको २ वर्षपछि किष्ट र ग्राण्डबाट आएको रोक पूर्णरुपमा निको हुने उनको भनाइ छ ।

‘किष्ट र ग्राण्डबाट आएको समस्याका अवषेशहरु २ वर्षभित्र पूर्णरुपमा सकिने छन्, त्यसपछि प्रभु बैंकको स्वरुप नै भिन्नै हुन्छ,’ उनले भने ।

चाँडै अर्को वाणिज्य बैंक एक्वायर गर्ने

सीइओ शेरचनका अनुसार प्रभु बैंकले चाँडै नै अर्को वाणिज्य बैंक एक्वायर गर्दैछ ।

‘किष्ट र ग्राण्ड गाभ्दा लामो समयसम्म सेयर रोक्का गर्नु परेकाले प्रभुले एक्वायरको ढोका मात्रै खुल्ला राखेका हौं,’ उनले भने ।

धेरै चरणमा कुरा अघि बढिसकेको र सहमतिको नजिक पुगिसकेकाले चाँडै नै सम्झौता हुनसक्ने उनले जानकारी दिए । प्रभु बैंक आफूभन्दा बलियासँग गाभिएर आफ्नो अस्तित्व गुमाउन नचाहेको उनले सुनाए ।

‘तुलनात्मकरुमा केही कमजोर प्रफर्मेन्स भएका बैंकहरुसँगै हाम्रो कुराकानी भएको छ,’ उनले सुनाए, ‘चाँडै रिजल्ट आउन सक्छ ।’


पुष्प दुलाल