ग्लोबल आइएमइलाई बैंकर्स संघका अध्यक्ष ढुंगानाले भने- अरु बैंक पनि मर्ज गर्नुहोस्



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले ग्लोबल आईएमई बैंकलाई अन्य वाणिज्य बैंकपनि मर्जर गर्न सुझाव दिएका छन् ।

ग्लोबल र जनता बैंकको एकीकृत कारोबारको सुरुवात गर्न आयोजना गरेको कार्यक्रममा ग्लोबल आईएमइ बैंकलाई अन्य वाणिज्य बैंकपनि मर्ज गर्न सुझाव दिएका हुन् ।

यसअघि ‘ख’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु निकै मर्जरमा गएको र वाणिज्य बैंकमा पनि मर्जर सुरु भएको उनको भनाई छ ।

‘ग्लोबल र जनता बैंक जसरी अरु बैंकपनि मर्जरमा जान सक्छन् । ग्लोबल बैंकलाई अन्य बैंकपनि मर्जर गर्न मेरो थप सुझाव छ, पहिला पनि कमर्ज एण्ड ट्रष्टसहित १८ वटा बैंक तथा वित्तीय संस्था मर्ज गरिसकेको छ’ उनले भने ।

बैंक बढी हुँदा अस्वस्थ प्रतिस्पर्धा हुने र निक्षेप पनि तानातान हुने समस्या कम हुने उनको बुझाई छ । बैंकहरुले आत्मकेन्द्रित हुनुभन्दा पनि संस्था केन्द्रित भयो भने मर्जर सफल हुने उनको भनाई छ ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंक ठूलो भएसँगै जिम्मेवारी पनि बढेको बताए ।

उनले भने ‘बैंक ठूलो भएसँगै पूर्वाधारमा लगानी बढ्छ । अब उद्योगीले सस्तोमा ऋण पाउने छन्, लगानीकर्ताले पनि राम्रै प्रतिफल पाउने छन् । अब उद्योगी निराश नहुने अपेक्षा पनि रहेको छ ।’

अहिले साना र मझौला उद्यमीलाई सरकारले दिएको सहुलियत पूर्ण कर्जा थाहा नभएको र त्यस्ता उद्यमीलाई बैंकले सहजै कर्जा दिनुपर्ने उनको तर्क छ ।

उनले भने ‘अहिले व्यवसायमा लागत बढेको छ । कच्चा पदार्थमा पनि समस्या नै छ, बैंकको ब्याज पनि बढी नै छ, लगानी निकै सुस्त छ, लगानी निकै सुस्त छ । यो अवस्थामा बैंक मर्ज हुनु राम्रो विषय हो ।’


पुष्प दुलाल