भारतमा उत्पादन घट्दा नेपालमा महंगी, प्याजको मूल्य दोब्बर हुने संकेत



काठमाडौं । पछिल्लो केही महिनायता प्याजको मुल्य आकाशिएको छ । दैनिक भान्सामा पाक्ने अधिकांश तरकारीमा आवश्यक पर्ने प्याजको मूल्य ३ महिनामा नै १८५.७१ प्रतिशतले बढेको छ ।

भदौयता मात्रै सुकेको प्याजको मूल्य १०४ रुपैयाँले बढेका छ । गत भदौ ५ गते प्रतिकेजी ५६ रुपैयाँमा खरिद बिक्री भएको सुकेको प्याज मंसिर ५ गते प्रतिकेजी १६० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिले बिहिबारका लागि सुकेको प्याजको मूल्य प्रतिकेजी न्यूनतम १५० रुपैयाँ देखि अधिकतम १६० रुपैयाँ निर्धारण गरेको छ ।

भारतमा प्याजको भाउ दिनहुँ १८ प्रतिशतले बढिरहेको छ । भारतिय सञ्चार माध्यमहरुका अनुसार मंगलबार ५० भारु प्रतिकेजी बिक्री भइरहेको प्याज बुधबार ५९ भारु प्रतिकेजी मूल्यमा खरिद बिक्री भएको छ ।

सुन जस्तै महंगियो प्याज, काट्दा होइन किन्दा पनि आँशु आउने

खासगरी, भारतको महाराष्ट्र, तेलंगाना र कर्नाटकमा प्याजको मूल्य बढेको हो । यी क्षेत्रमा बजारमा आवश्यकता अनुसार प्याज आउन सकिरहेको छैन । भारतमा ६५ प्रतिशत भारी वर्षा भएको कारण महाराष्ट्रको मात्र ५५ लाख हेक्टर प्याज खेती बर्षाको कारणले नष्ट्र भएको थियो । बर्षाले खेती नष्ट्र गरेपछि भारतमा ४० प्रतिशत प्याजको उत्पादन घटेको छ ।

किन बढ्यो ?

प्याजको मूल्य आकासिनुको मुख्य कारण भनेको भारतबाट प्याज आयात कम भएर हो । नेपाली बजारमा आन्तरिक उत्पादनका प्याज नेपालमा नग्य मात्रामा आउने गरेको छ ।

केही महिना अगाडिसम्म नेपालमा भारतबाट मात्र प्याज आयात गरिन्थ्यो । यो बर्ष भारतमा प्याजको उत्पादनमा ४० प्रतिशतले कमि आएपछि भारतिय बजारमा प्याज माग अनुसारको खपत हुन सकेको छैन । आन्तरिक माग नै धान्न नसकेपछि भारत सरकारले नेपालमा प्याज निर्यात घटाएको छ । जसकारण हाल नेपालमा प्याज चीन र नामेबीयाबाट आयात गरिएको छ ।

हाल काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा दैनिक ५५ टन भारतिय प्याज भित्रिने गरेको छ । भारतबाट आउने प्याज घटेपछि केही मात्रामा चीनबाट पनि प्याज कालिमाटी भित्र्याइएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले जानकारी दिए ।

‘भारतले निर्यातमा रोक लगाएपछि नेपालमा प्याजको मूल्य दिनहुँ बढेको हो,’ पौडेल क्लिकमाण्डूसँग भने ‘अझै करिब १ महिना प्याजको मूल्यमा स्थीरता आउँदैन ।’

भारतमा मूल्य बढ्दा नेपालमा पनि बढ्ने हुँदा भारतमा प्याजको मूल्यमा स्थीरता नआउँदासम्म मूल्यवृद्धिले निरन्तरता लिने उनको भनाई छ ।

भारतबाट मात्र नेपालमा वार्षिक अर्बौको प्याज आयात भइरहेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ३६ करोड २ लाख ९४ हजार रुपैयाँ बराबरका ३६ अर्ब ३५ करोड १९ लाख ७६ हजार केजी प्याज भारत, चीन र नामेबीयाबाट आयात भएको छ ।

आयातित प्याजमा सबैभन्दा बढी भारतबाट १ अर्ब ३४ करोड ५४ लाख ९५ हजार रुपैयाँ बराबरको ३६ अर्ब ५ करोड ८२ लाख ५६ हजार केजी प्याज असोज मसान्तसम्म आयात भएको हो ।

यस्तै चीनबाट १ करोड ४४ लाख १२ हजार रुपैयाँ बराबरको २८ करोड १७ लाख २० हजार केजी र नामेबीयाबाट ३ लाख ८७ हजार रुपैयाँको १ करोड २० लाख केजी प्याज आयात भएको भन्सार विभागले जनाएको छ ।

आयात घटेपनि खर्च बढ्यो

विगतमा नेपालमो प्याजको माग एक्लौटी रुपमा भारतले पूर्ति गर्दै आएको थियो । गत वर्षको पहिलो ३ महिनामा भारतबाट १ अर्ब २७ करोड ५८ लाख ८६ हजार रुपैयाँ बराबरका ३९ अर्ब ७८ करोड १७ लाख ७३ हजार केजी प्याज आयात गरिएको थियो ।

भारतबाट हुने गरेको प्याज आयातको परिमाण घटेता पनि नेपालले प्याज आयातमा गत बर्षको पहिलो ३ महिनामा भन्दा चालु आवको सोहि अवधिमा बढी खर्च गर्नु परेको छ । गत वर्ष ३९ अर्ब ७८ करोड केजी प्याज आयातमा १ अर्ब २७ करोड खर्च गरेको नेपालले चालु आवमा ३६ अर्ब ५ करोड केजी प्याजलाई १ अर्ब ३४ करोड ५४ लाख रुपैयाँ खर्च गर्नु परेको छ ।

भारतबाट हुने आयातको परिमाण ९.३५ प्रतिशतले घटेको छ । तर आयातित प्याजमा ५.४५ प्रतिशतले खर्च बढेको छ ।

गत आवको पहिलो ३ महिनामा भन्दा चालु आवको सोही अवधिमा प्याज आयात ३ अर्ब ७२ करोड ३५ लाख १७ हजार केजीले घट्दा खर्च भने ६ अर्ब ६ करोड ९६ लाख ९ हजार रुपैयाँ बढेको हो ।

आर्थिक वर्ष २०७५/७६ मा ५ अर्ब ६२ करोड २५ लाख रुपैयाँको प्याज नेपालमा भारतबाट आयात भएको थियो ।


पुष्प दुलाल