सुन जस्तै महंगियो प्याज, काट्दा होइन किन्दा पनि आँशु आउने



काठमाडौं । आइतबार भारतले प्याजको निर्यातमा रोक लगाएसँगै त्यसको मार नेपाली भान्सासम्म देखिएको छ ।

दशैंको समयमा यसरी प्याज किनिनसक्नु गरी महंगो भएपछि नेपालीहरुको दशैंमा खान्की निकै महंगो हुने देखिएको हो । भारतले प्याज महंगो भएसँगै नेपाली बजारमा प्याजको भाउ ह्वात्तै बढेको हो ।

भारतले प्याजको निर्यातमा लगाएको प्रतिबन्धसँगै बजारमा प्याजको मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलको भनाइ छ ।

पौडेलका अनुसार अब दशैंअघि प्याजको मूल्य घट्ने सम्भावना न्यून रहेको छ ।

‘अब प्याजको मूल्य घट्ने सम्भावना छैन’ उनले क्लिकमाण्डूसँग भने । उनले यदि सरकारले नै भारतलाई विशेष आग्रह गर्ने र केही समयका लागि भारतले प्याज पठाउने भने मात्रै बजारमा प्याजको मूल्य घटन सक्ने बताए ।

भारतबाट प्याज मगाउने हो भने पनि त्यसको पहल सरकारले नै गर्नुपर्ने उनको तर्क छ ।

उनका अनुसार भारतबाट प्याज नआउँदा अर्को विकल्प भनेको चीनबाट मगाउने हो । चीनबाट प्याज मगाउँदा पनि दशैंअघि प्याज आउने सम्भावना न्यून प्राय रहेको छ ।

चीनबाट प्याज आयात गर्ने विषयमा कुनै पनि व्यवसायीले औपचारिक रुपमा प्रस्ताव नगरेपनि त्यो विषयमा आन्तरिक छलफल भएको पौडेलेको भनाइ छ । अन्य खाद्यान्न जस्तो नभएकाले प्याजलाई कोल्ड स्टोरमा पनि राख्न नसकिने पौडेलले बताए ।

एकातिर खसीको मूल्य प्रतिकेजी २ हजार रुपैयाँ पुग्ने संकेत देखिएका बेलामा प्याजको भाउ अकाशिएसँगै भान्सा अत्यधिक महंगो हुने देखिएको हो । दशैंको मुखैमा बजारमा दैनिक खाद्य उपभोग्य सामग्रीको मूल्य बढ्दा समेत सरकारले केही गर्न नसकेको भन्दै आलोचना समेत भएको छ ।

कालिमाटी फलफुल तथा तरकारी विकास समितिका अनुसार असोज १२ गते सुकेको प्याज थोकमा प्रतिकेजी ९० रुपैयाँ थियो । आइतबार नै भारतले प्याज निर्यातमा रोक लगाएको थियो ।

आइतबार भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको भाउ एक्कासी अकासिएको थियो । समितिका अनुसार सोमबार प्याजको थोकमा प्रतिकेजी १२० रुपैयाँ पुगेको छ ।

खुद्रा बजारमा भने प्रतिकेजी १५० रुपैयाँ पुगेको छ । अहिले बजारमा प्याज प्रतिकेजी १५० रुपैयाँमा खरिद गर्न उपभोक्ता बाध्य छन् । दशैंको समयमा सबै खाले दैनिक उपभोग्य खाद्यान्नको भाउ रोक्न सरकारले कुनै कदम चालेको छैन ।

नेपालले गत आर्थिक वर्षमा ५ अर्ब २६ करोड रुपैयाँ बराबरको १६ करोड ८० लाख किलो प्याज आयात गरेको थियो । भने नेपालले सोही अवधिमा २१ लाख २३ हजार रुपैयाँ बराबरको ६१ हजार ७०१ किलो प्याज निर्यात गरेको थियो ।

किन बढ्यो भारतमा प्याजको भाउ
अहिलेको समयमा नासिक र गुजराजबाट भारतभरी प्याजको आपूर्ति हुन्छ । यस वर्ष यी दुबै राज्यमा भारी वर्षा भयो । जसको असर प्याजको उत्पादनमा पर्यो । जसले गर्दा भारतीय बजारमा प्याजको आपूर्ति घटेको हो । त्यस्तै, दिल्ली, राजस्थानका स्थानीय व्यापारीले बजारमा आपूर्ति कमी भएका कारण प्याजको भण्डार बढाइदिए । यस्तोमा बजारमा माग अनुसार प्याजको आपूर्ति भएको छैन । जसले गर्दा प्याजको भाउ एक्कासी बढेको हो ।

भारतमा प्याज उत्पादक राज्यबाट आपूर्तिमा बाधा आएपछि पछिल्लो १० दिनमा नयाँ दिल्लीमा प्याजको थोक मूल्य २३ रुपैयाँ प्रतिकेजी पुगेको थियो । एसियाको सबैभन्दा ठूलो प्याजको मन्डी भारतको नासिक जिल्लाको लासलगाउँमा प्याजको भाउ २२ रुपैयाँ भारु नाघिसकेको छ । जबकी एक वर्ष अगाडि मात्रै प्याजको भाउ १५ रुपैयाँ भारु थियो । भारतमा महाराष्ट्र, गुजरात, ओडिशा, कर्नाटन, उत्तरप्रदेश,

आन्ध्र प्रदेश, तमिलनाडू, बिहार तथा राजस्थान प्याज बढी उत्पादन हुने राज्य हुन ।

प्याजको भाउ बढेसँगै जनतामा समस्या सिर्जना भएसँगै दिल्ली सरकारले प्रत्येक एक जनालाई बढीमा ५ केजीसम्म खरिद गर्न पाउने गरी २३.९० रुपैयाँ भारुमा प्याज बिक्री गरिरहेको छ । जबकी बजारमा प्रतिकेजी ६० रुपैयाँ भारु अर्थात १ सय रुपैयाँ भाउ पुगेको छ ।


क्लिकमान्डु