मन्त्रिपरिषद् पुनर्गठन गर्ने अन्तिम तयारी, यी हुन् ‘रेड जोन’मा परेका मन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको पुनर्गठन गर्ने तयारी गरेका छन् । मन्त्रिपरिषद् पुनर्गठनका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएपछि प्रंधानमन्त्री र अध्यक्ष दाहाल दुवै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन राष्ट्रपति कार्यालय गएका छन् ।

राष्ट्रपतिसँग मन्त्रिपरिषद गठन लगायतका विषयमा छलफल गरेर मन्त्रिपरिषदलाई नयाँ आधारमा पुनर्गठन गर्ने तयारी गरेको बुझिएको छ ।

जानकार स्रोतहरुका अनुसार प्रधानमन्त्रीले रेड जोनमा परेका केही मन्त्रीलाई हटाउने तयारी गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको मूल्यांकनमा भौतिक पूर्वाधार तथा यातायाता मन्त्री रघुवीर महासेठ, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, कृषि मन्त्री चक्रपाणी खनाल र खानेपानी मन्त्री बिना मगर रेड जोनमा छन् ।

असफल भए अर्थमन्त्री: आर्थिक गतिविधिमा सुस्तता, ऋणको माग र उत्पादनको बिक्री दुबै घट्यो

यस्तै प्रधानमन्त्रीले श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, वन मन्त्री शक्तिबहादुर बस्नेतलाई समेत हटाउन खोजेका छन् ।

राष्ट्रपतिसँगको छलफलका आधारमा के निष्कष आउँछ सोही आधारमा आज नेकपा सचिवालयको बैठक बस्ने र सोही बैठकले मन्त्रिमण्डलको विषयमा अन्तिम निर्णय गर्ने भएको छ । आम चासो भनेको अर्थमन्त्री डा. युवराज खतिवडा हट्छन कि हट्दैनन् भन्ने रहेको छ । आर्थिक क्षेत्र तहसनहस पारेको उनीमाथि गम्भीर आरोप लागेको छ ।

यस्तै उपसभामुख रहेका शिवमाया तूम्बाहाम्फेलाई राजीनामा गराएर महिला बालबालिका तथा समाजकल्याण मन्त्री बनाउने चर्चा पनि उत्तिकै चलेको छ । यस्तै, कार्यक्षमतामा अब्बल रहेका केही मन्त्रीलाई भने नहटाइने चर्चा पनि उत्तिकै चलेको छ । तर नेकपा सचिवालयले अन्तिम निर्णय नगर्दा सम्म यस्तै होला भन्ने अवस्था भने नरहेको बताइन्छ ।

अर्थमन्त्री खतिवडाबारे नेकपाकै नेताको टिप्पणीः मन परेको केटो जेठाजु पर्यो !

त्यसो त मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले आफू केही नयाँ तरिकाले चल्न लागेको बताएका थिए । उनीहरुले मन्त्रिपरिषदका सदस्यलाई तपाईहरुलाई हटाउँदैछु नभने पनि बुधबार केही निर्णय हुने बताएका थिए ।

त्यस आधारमा पनि बुधबार मन्त्रिपरिषद् पुर्न गठन हुने तयारी छ । अन्तिम समयमा कुनै कारण देखाएर आजको लागि मन्त्रिपरिषद् पुनर्गठन नभए पनि केही दिन भित्रै हुनेमा भने कुनै दुविधा देखिदैन । दुइतिहाई जनमत प्राप्त सरकारको गतिविधि औसतमा सिमित भएकाले पनि नागरिक स्तरमा केही न केही देखाउन पनि सरकारको सक्रियता जरुरी रहेको बताउन थालिएको छ ।


पुष्प दुलाल