अर्थमन्त्री खतिवडाबारे नेकपाकै नेताको टिप्पणीः मन परेको केटो जेठाजु पर्यो !



काठमाडौं । नेपाली समाजमा एउटा चर्चित उखान छ, ‘मन परेको केटो जेठाजु पर्यो !’

खाइलाग्दो ज्यान, हेर्दै हँसिलो केटोलाई मनैले खाएर, मनमनै सजाएकी केटीलाई उसैको भाइसँग बिहे हुने भएपछिको पीडालाई सम्बोधन गर्न रचिएको उखान थियो यो ।

उखानसँग हाम्रा प्रधानमन्त्रीको पनि उत्तिकै साइनो छ । उखानका अनेकन टुक्काले विरोधीलाई खुत्रुक्कै पार्ने प्रधानमन्त्री केपी शर्माको बोली सुन्दा सबैका लागि रोचक लाग्छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाको सम्बन्धमा उखानको यो टुक्का ठ्याक्कै र दुरुस्तै देखिएको छ ।

अर्थतन्त्र बुझेको विद्धानको उपमा पाएका अर्थमन्त्री खतिवडा उखानमा भनिए जस्तै मन परेको केटो त भए । तर अन्तिममा जेठाजु भएर निस्के । टाढैबाट हेर्दा मन कटक्कै खाने देखिए, तर आफ्नो नभएपछि त्यसको के अर्थ ?

खतिवडा अर्थमन्त्री बन्दा सबैको आशा थियो, अर्थन्त्रका नाडी केलाउन सक्ने, सुक्ष्म ढंगले विश्लेषण गर्न सक्ने र मुलुकको लडबडाएको अर्थतन्त्रलाई सही मार्गमा हिँडाउनेमा धेरैको आशा थियो । र, उत्तिकै भरोसा पनि ।

तर अर्थमन्त्री बनेपछि भने उनी मन परेको केटो त भए तर नातामा जेठाजु भएर निस्के । मन परेको केटो भए पनि अर्थतन्त्रका लागि आफ्नो हुन सकेनन् ।

अर्थमन्त्री भएयता खतिवडाको चर्को आलोचना भइरहेको छ । करको दर बढाएको, पुँजी बजार धरासायी बनाएको, नागरिकलाई करको बोझ थपेको भन्दै उनको जनस्तरमा विरोध पनि उत्तिकै छ । जसलाई चिर्न अर्थमन्त्रीले केही पनि गरेनन् ।

अर्थमन्त्री भएपछि खतिवडाले देशको अर्थतन्त्रको अवस्था अति नै कमजोर भएको भन्दै श्वेतपत्र जारी गरे । श्वेतपत्र खतिवडाको नेगेटिभ एटिच्यूटको लामो फेहरिस्त थियो । त्यही श्वेतपत्रले देशी विदेशी लगानीकर्ताहरुमाझ ठूलो अविश्वासको भ्वाङ पार्यो । जुन अहिलेसम्म इतिहासकै बलियो दुईतिहाइको सरकारले टाल्न सकेको छैन । दुइतिहाइको सरकार गठन भएपछि देशी तथा विदेशी लगानी घटयो । जसले अर्थतन्त्र थप चलायमान हुन सकिरहेको छैन ।

तर, अर्थमन्त्रीले राज्य सञ्चालनका लागि करको दर र दायरा दुबै बढाएका छन् । खुम्चिँदो आम्दानीमा पनि अर्थमन्त्रीले करको भारले थिचेपछि आम सर्वसाधारण सरकारप्रति नै रिसले चुर भएका छन् ।

जाने बेलामा खतिवडाले पक्कैपनि अर्को श्वेतपत्र जारी गरेर मुलुकको अर्थतन्त्रको अवस्थाको बेलिबिस्तार लगाउने नै होलान् ? र, तयसपछिका अर्थमन्त्रीले पनि अर्थतन्त्रको बारेमा टिप्पणी गर्लान् नै ।

नेकपाका नेताहरु भन्छन्– ‘राजनीति गरेर । चुनाव फेस गरेर आएको भए पो भोलि चुनाव कसरी जित्ने भनेर सोच्नुहुन्थ्यो अर्थमन्त्रीज्यूले ? उहाँले अहिले सोच्ने भनेको त कसरी प्रधानमन्त्रीलाई खुसी बनाउने हो भन्ने मात्रै हो । हामीलाई प्रधानमन्त्री खुसी पार्ने होइन, देश र जनता खुसी पार्ने मन्त्रीहरु चाहिएको छ ।’

त्यसैले अहिले आम जनमानसमा मन परे पनि जीवनमा काम नलाग्ने अर्थमन्त्री फेरिदिए हुन्छ जस्तै भाव परेको छ ।

केही सातायता प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्री परिवर्तन गर्ने तयारीमा रहेका भनिएका प्रधानमन्त्री ओलीले अर्थमन्त्रीलाई पनि हटाउँछन कि अनुमान धेरैको छ ।

यसका लागि प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाललगायतका नेताहरुसँग नियमित जसो नै छलफल गरिरहेका छन् ।

नेकपाका केही नेताहरुको भनाइलाई आधार मान्ने हो भने दुई परस्पर विरोधी तर्क आएका छन् । एकथरी नेताहरुको विश्लेषण छ, मन्त्रिपरिषदको सम्पूर्ण सेट नै परिवर्तन गर्ने तयारीमा प्रधानमन्त्री र पार्टी अध्यक्ष छन् । अर्को थरी नेताहरुको भनाइ छ कार्यसम्पादन क्षमता कम भएका केही मन्त्री परिवर्तन गरेर केही नयाँ नेतालाई मन्त्रिपरिषदमा सहभागी गराउने ।

मन्त्री परिवर्तन गर्ने विषयमा शुक्रबार बिहान नेकपा सचिवालयको बैठक बोलाइएको थियो । तर अन्तिम समयमा आएर बैठक स्थगित भयो । आज साँझसम्म बैठक बस्न सक्ने बताइएको छ ।

दुईतिहाई जनमत प्राप्त गरे पनि अपेक्षा अनुसार काम गर्न नसकेको र विभिन्न विवादमा फसेको भन्दै पार्टी भित्रैबाट सरकारको चर्को आलोचना भएको छ । सोही आलोचनाका कारण पनि केही मन्त्री फेर्नैपर्ने बाध्यतामा नेकपा पुगेको हो ।

राष्ट्रियसभाको सदस्यबाट अर्थमन्त्री हुने सौभाग्य पाएका अर्थमन्त्री खतिवडालाई पनि हटाउनुपर्ने पक्षमा नेकपा पुगेको छ । तर प्रधानमन्त्री ओलीले उनलाई हटाउलान् वा नहटाउलान् भन्ने बारेमा नेकपाका नेताहरुमा मतैक्य देखिदैन ।

आगामी माघमा राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि सकिदा डा. खतिवडाको पनि पद स्वतः जानेछ । यद्यपि संवैधानिक व्यवस्था अनुसार ६ महिनाभित्र निर्वाचित हुनुपर्ने प्रावधानका कारण उनलाई आगामी आर्थिक वर्षको बजेट बनाउने दिने वा नदिने भन्ने बारेका नेकपा सचिवालयको निर्णय नै अन्तिम हुनेछ ।

अत्यधिक जनमत प्राप्त सरकारलाई रक्षात्मक बनाउन भूमिका खेलेका अर्थमन्त्री डा. खतिवडालाई हटाएर राजनीतिक पुष्ठभूमि भएका नेतालाई नै अर्थमन्त्री बनाउनुपर्ने चर्को दबाव पनि परेकै छ । यस आधारमा हेर्दा अर्थमन्त्री खतिवडाका लागि पनि अवस्था सहज छैन ।

समाचार स्रोतहरुका अनुसार यसअघि अर्थमन्त्री खतिवडालाई हटाउन तीब्र लबिङ गर्दै आएका नेकपाका अर्का अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच खतिवडालाई निरन्तरता दिएर राष्ट्र बैंकको गभर्नरमा प्रचण्डले भनेको मान्छे ल्याउने भन्ने सहमति हुन लागेको गाइँगुइँ हल्ला सुनिन थालेको छ । यदि यस्तो सहमति भयो भने प्रचण्डको चाहनाअनुसार डा. मिनबहादुर श्रेष्ठ आगामी गभर्नर हुनेछन् ।

नेकपाका नेताहरुका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महिला बालबालिका मन्त्री थममाया थापा, कृषि मन्त्री चक्रपाणी खनाल, वन मन्त्री शक्तिबहादुर बस्नेत र खानेपानी मन्त्री बिना मगरको कार्यसम्पादन असाध्यै कमजोर रहेको छ । यस्तै खेलकूदमन्त्री जगत विश्वकर्माको पनि कार्यसम्पादन कमजोर रहेको छ ।

त्यसो छ, मन्त्री बन्ने सूचीमा सुरेन्द्र पाण्डे, जनार्दन शर्मालगायतको नाम अग्रपंक्तिमा छ । अर्थमन्त्रीका रुपमा पाण्डेले विगतमा निभाएको भूमिका स्मरणीय नै छ । त्यस्तै लोडसेडिङ हटाएका जनार्दन शर्मा काम गर्न सक्ने काविल भन्दै उनलाई मन्त्री बनाइने राजनीतिक बजारमा चर्चा छ ।

यद्यपि अहिलेसम्म कुन कुन मन्त्री हट्दैछन् र नयाँ को को थपिँदैछन् भन्ने बारे नेकपाकै शीर्ष नेताहरु अनविज्ञता प्रकट गर्छन् । भन्छन्, ‘यो कुरा प्रधानमन्त्रीलाई मात्रै थाहा छ ।’


पुष्प दुलाल