कृषि विकास बैंक लुट प्रकरणः भारतमा बनेको थियो ५ अर्ब लुट्ने योजना, नविल बैंक जोगियो



काठमाडौं । कृषि विकास बैंक लुट प्रकरणले नयाँ मोड लिएको छ । भारतमा बसेर बैंकको ५ अर्ब रुपैयाँ लुट्ने योजना बनाएर एउटा ठूलो गिरोहले आइतबार कृषि विकास बैंकबाट ४ करोड ७३ लाख रुपैयाँ लुटेको तथ्य फेला परेको छ ।

बैंकको सिराहासिस्थत लाहान शाखाको कम्युटर ह्याक गरी उक्त शाखामा कार्यरत कर्मचारीको युजरनेम र पासवर्ड चोरी गरेर लुटेराको समूहले रकम चोरी गरेको प्रहरीले जनाएको छ ।

बैंकका कर्मचारीको युजरनेम र पासर्वड प्रयोग भएको देखिएपनि ती कर्मचारीको संलग्नता भएको हो कि हैन भन्ने विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सहकुल थापाले जानकारी दिए ।

‘भारतमा बसेर बैंककोा ५ अर्ब रुपैयाँसम्म लुट्न सक्ने योजना बनाएको अनुसन्धानका क्रममा खुल्न आएको छ,’ एसपी थापाले भने, ‘पक्राउ परेका लुटेराहरुसँगको वि-च्याट वार्तामा भारतमा बस्ने काले नाम गरेका व्यक्तिसँग ५ अर्बसम्म निकाल्न सकिने कुराकानी भएको देखिन्छ ।’

प्रहरीका अनुसार भारतमा बस्ने काले यो घटनाका मूख्य योजनाकार हुन् । लुटेराको समूहले नविल बैंकलाई लुट्ने प्रयास गरेको तर असफल भएको प्रहरीले जनाएको छ ।

‘लुटेराहरुले धेरै बैंक लुट्ने प्रयास गरेका हुन सक्छन्, तर अहिलेसम्म नविल बैंकमा लुट्ने प्रयास गरेको तर असफल भएको हाम्रो अनुसन्धानमा देखिएको छ,’ थापाले भने ।

बैंक लुटपाट प्रकरणमा संलग्न १२ जनालाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ । मनि चेञ्जर कम्पनीमा भएको शंकास्पद कारोबारको प्रहरीले अनुसन्धान गर्ने क्रममा कृषि विकास बैंक लुटिएको कुरा पत्ता लागेको हो ।

‘पानस रेमिट्यान्सबाट एकै व्यक्तिले एकै दिनमा ६०/६० हजारका दरले ६ पटक रकम झिकेको खबर हामीलाई आयो, हामी तत्काल अनुसन्धानमा खटियौं,’ थापाले भने, ‘पैसा झिक्ने व्यक्तिने नुवाकोटका लवाङ तामाङलाई बुझाउनका लागि रकम निकालेको बताए । हामीले नुवाकोट प्रहरीलाई खबर गरेर त्यसैदिन राति १० बजे उनलाई पक्राउ गर्यौं ।’

ती व्यक्तिलाई पक्राउ गरेपछि उनले सर्लाही हरिवनका पुष्पराज खड्कालाई आफूले रकम दिनका लागि निकालेको बताए । र, प्रहरी पुष्पसम्म पुग्यो । उनले भने भारतमा रकम पठाउन रकम निकालेको बताए । ती व्यक्तिले कृषि विकास बैंकबाट रकम निकालेको बताए ।

र, असोज ६ गते प्रहरीको टोली कृषि विकास बैंक पुग्यो । प्रहरीले शंकास्पद कारोबारको विवरण माग्दा शुरुमा त बैंकका कर्मचारीले पत्याएनन् । प्रहरीले विवरण मागेपछि बैंकले सिस्टम चेक गर्दा सिराहाको लाहान ब्राञ्चमा भएको अधिकांश रकम विभिन्न शाखामा रहेको कृषि विकास बैंककै ११ वटा खातामा पठाइएको । र, ४ करोड ७३ लाख रुपैयाँ निकालिसकेको तथ्य फेला पर्यो ।

‘बैंकका साथीहरुले हामीलाई राम्रो सहयोग गर्नुभयो,’ एसपी थापाले भने ।

यसरी खातामा गएका व्यक्तिको प्रहरीले खाता रोक्का गर्यो । र, बैंकका कर्मचारीलाई प्रहरीले भन्यो कि– यी व्यक्ति रकम निकाल्न आउँदा हामीलाई खबर गर्नु, हामी उपस्थित हुन नसकेको खण्डमा तपाईंहरुले नियन्त्रणमा राख्नू ।’

तर, जुन शखामा भएको खातामा रकम ट्रान्सफर भएको छ । ती खातामा प्रहरी पनि तैनाथ भएर बस्यो । अर्को दिन जसको खातामा रकम जम्मा भएको हो उनीहरुल बैंकमा पैसा निकाल्न गए । प्रहरीले उनीहरुलाई रकम निकाल्दा निकाल्दै पक्राउ गर्यो ।

‘पक्राउ परेका व्यक्तिका साथबाट ६० लाख रुपैयाँ बरामद गरेका छौं,’ एसपी थापाले भने, ‘१५ लाख रुपैयाँ कैलाश विकास बैंकमा जम्मा भएको छ । यसबारे हामी थप अनुसन्धान गरिरहेका छौं ।’

भारतमा बसेर लुटको योजना बनाउने वयक्तिलाई हुण्डीमार्फत् रकम पठाएको भेटेपछि प्रहरीले उक्त हुण्डीका सञ्चालकलाई पनि पक्राउ गरिसकेको थापाले जानकारी दिए ।

‘समयमै थाहा पाएर लुटेर पक्रिन नसकेको भए ठूलो क्षति हुने देखिन्थ्यो,’ उनले थपे, ‘किनभने उनीहरुको यो ह्याकिङ सिस्टमको प्रयोग गरेर ५ अर्ब लुट्ने योजना थियो ।’

प्रहरीले लुटेराहरुको उल्टो पिरामिड शैलीको संरचना भएको बताएको छ । भारतमा बसेर नेपालमा विभिन्न लेयरका एजेन्ट खडा गरेर बैंक लुटिएको प्रहरीले जनाएको छ ।

‘नेपालको मूख्य एजेन्टले भारतको कुनै शहरमा बसेर योजनाकारसँग मिटिङ गरेको छ र उसले यहाँका विभिन्न एजेन्टहरुलाई प्रयोग गरेको छ,’ थापाले भने, ‘तपाईंको खातामा यति रकम हालिदिएका छौं, १०/१५ प्रतिशत आफूले राखेर बाँकी रकम हामीलाई पठाइदिनू भन्ने वार्तालाप भएको देखिन्छ । र, त्यसैअनुसार एजेन्टहरुले रकम पठाएको देखिन्छ ।’

युजर नेम र पासवर्ड प्रयोग भएका कर्मचारीलाई भने प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन ।

पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय लुटेराहरु सक्रिय भएका छन् । विदेशमा योजना बनाएर नेपाली बैंक लुट्ने गिरोहले एक महिनाको अविधमा

३ हप्ताअघि चिनियाँ ह्याकरहरुले नेप्सको सिस्टम नै ह्याक गरेर विभिन्न बैंकको एटीएममार्फत् भिसा कार्ड प्रयोग गरी साढे ३ करोड रुपैयाँ चोरी गरेको घटना सेलाउन नपाउँदै फेरि अर्को बैंकको ५ करोड रुपैयाँ लुटिएको छ ।

लुटेराहरुलाई प्रहरीले बुधबार सार्वजानिक गरेको छ । लुटेरा सार्वजानिक गर्ने पक्रकार सम्मेलनमा बैंककमा उच्च अधिकारीहरु पनि उपस्थित थिए ।

बैंकका डीजीएम दीर्घ अर्यालका अनुसार प्रहरीले अनुसन्धानका लागि विवरण मागेपछि मात्रै बैंकले घटना थाहा पाएको हो । घटना थाहा पाउनेवित्तिकै लाहान शाखाका सबै कर्मचारीलाई निलम्बन गरिएको र राजविराजबाट कर्मचारी पठाएर कारोबार शुचारु गरिएको जानकारी दिए ।

‘अनुसन्धानका लागि प्रधान कार्यालयबाट मंगलबार नै ४ जनाको टोली लाहान पठाएका छौं,’ डीजीएम अर्यालले भने, ‘जनताको पैसा एक रुपैयाँ पनि तलमाथि भएको छैन । साउन र भदौको ऋणको ब्याज लुटेराहरुले लुटेका हुन् ।’

बैंकको सिस्टम ह्याक नभएको उनले जानकारी दिए । बैंकका देशभर २६७ शाखा छन् ।

‘अरु शाखा सुरक्षित छन्, ह्याकरको आक्रमणमा परेका छैनन्,’ उनले भने, ‘हामीले केन्द्रबाट पठाएको टोलीले रिपोर्ट तयार पारिरहेको छ । रिपोर्ट आएपछि सत्यतथ्य खुल्छ ।’

पक्राउ पर्नेहरु

-लवाङ तामाङ (४३), मेघाङ–४ नुवाकोट,

-लक्ष्मी लामा तामाङ (४०) नौकुण्ड–५ रसुवा,

-सञ्जय घले (२६) तारकेश्वर– २ काभ्रेस्थली काठमाडौं,

-निर्मला तामाङ (२०) नौकुण्ड–५ रसुवा,

-नीमा तामाङ (१८) नौकुण्ड–५ रसुवा,

-पुष्पराज खड्का (४२) हरिवन–२ सर्लाही,

-विद्यासागर लामिछाने (२३) दोर्दी–३ लमजुङ,

-श्रवणकुमार श्रेष्ठ भानु–९ तनहुँ,

सुनिता श्रेष्ठ (३२) ठिमी–४ भक्तपुर,

शुबन्कर पञ्जा (३०) कलकत्ता भारत,

विजय शाह (२२) भजनी–३ कैलाली,

चन्द्रबहादुर बुढा (४५) भजनी–१ कैलाली


पुष्प दुलाल