कौतुहलता बोकेर आएका मेयर उत्साहित हुँदै फर्किए



काठमाडौं । घुम्न रुची हुने अन्तर्राष्ट्रिय नगरका नागरिकलाई नेपाल घुम्न आउन नेपालले निम्तो पठाएको छ ।

इन्द्रजात्रा अबलोकनका लागि आमन्त्रण गरिएका नगरबाट काठमाडौं आएका पाहुनालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटकलाई भ्रमण बर्ष २०२० मा नेपाल आउन निम्तो दिएका हुन् ।

‘तपाईको नगरबाट घुम्न निस्किने नागरिकलाई हामी उत्कृष्ट गन्तव्य दिन्छौं । हामीसँग उहाँहरुको बसाइ, घुमाइ, सुरक्षालगायतका राम्रा प्रबन्ध छन् । म यो सन्देश तपाई प्रमुख-उपप्रमुख-प्रतिनिधि मार्फत तपाईका नागरिकसम्म पु¥याउन चाहन्छु’ पर्यटकलाई निम्तो दिँदै उनले भने ‘काठमाडौंमा भएका मूर्त अमूर्त सांस्कृतिक पहिचानले हाम्रा आधारभूत सांस्कृतिक र ऐतिहासिक चिनारी देखाउँछन् । यीबाहेक प्राकृतिक, कृषि र पर्वतारोहण पर्यटन, सहासी खेल, पैदल मार्गलगायतका ठाउँमा हामी पाहुनालाई घुमाउन सक्छौं ।’

कार्यक्रममा कामनपाका प्रमुख बिद्यासुन्दर शाक्यले इन्द्रजात्राको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक सह–अस्तित्व, मूर्त अमूर्त सम्पदा तथा कलाको संयोग भएको यो जात्रासँगै पर्यटकलाई देखाउने कुरा धेरै भएको उल्लेख गरे । ‘नेपाल आएका पर्यटकका लागि आउँदा आउँदैको पहिलो गन्तव्यभित्र अनतिन्ती बस्तु र सामाग्री छन् ।

ती बस्तुका बारेमा तपाईले केही बुझ्नुभएको छ’ मेयर शाक्यले भने ‘आफूले बुझेका र आफूलाई राम्रा तथा चाखलाग्दा लागेका कुरा तपाईका नगरबासीलाई सुनाइदिनुहोला । हामी तपाईका नगरबासीलाई काठमाडौंका चाखलाग्दा र रोचक कुरा देखाउन चाहन्छौं ।’

कार्यक्रममा नेपाल पर्यटन बर्ष २०२० का संयोजक सुरज बैद्यले काठमाडौं महानगरले अन्तर्राष्ट्रिय नगरका प्रमुख र प्रतिनिधिलाई बोलाएपछि पर्यटन बर्षलाई ठूलो योगदान पुगेको बताए । उनले भने ‘नेतृत्व गर्ने काठमाडौंले नै हो, महानगरले अझै धेरै यस प्रकार प्रबर्धनका कार्यक्रम ल्याओस् भन्ने हाम्रो अपेक्षा हो ।’

महागरको भगिनी सम्बन्ध भएका १५ वटा नगरमध्ये इन्द्रजात्रा अवलोकन गर्न ५ वटा देशका ११ वटा नगरबाट ४ जना मेयर, उपमेयर÷उपाध्यक्षसहित ४१ जना पाहुना आएका थिए । यसरी सहभागी हुनेमा चीनको ल्हासा नगरबाट प्रमुख गुहेओ गुहेआ, चीनकै लाञ्जाउ कमिटि अफ द सिपिपिसिसिका उपाध्यक्ष ज्याङ् सिओहाङ्, भारतको उत्तर दिल्ली नगरका प्रमुख सरदार अभतार सिंह, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जेसहितका अधिकारी थिए ।

बिदाई समारोहमा भुटानको थिम्पु नगरका प्रमुख किन्लेले थिम्पु र काठमाडौंका बीचमा उस्तै चालचलन रहेको उल्लेख गर्दै यी समानतालाई नागरिकको लाभसम्म पु¥याउन प्रयास गर्ने बताए । ‘काठमाडौंबासी धेरै खुसी रहेछन् । यो खुशी हुने उपाय बिस्तार र प्रबद्र्धन गर्नुपर्छ’, मेयर किन्लेले भने ।

इन्द्रजात्रा अवलोकन अनुभव सुनाउँदै बिदाइ अवसरमा भारतको उत्तर दिल्ली नगरका प्रमुख सरकार अवतारले भने ‘कुनै कारणले म जात्रामा आउन नपाएको भए धेरै गुमाउने रहेछु । जात्रा देखेपछि मलाई आत्मीय महसुस भयो । म मेरो नगरमा इन्द्रजात्राका आयामका बारेमा कुरा गर्छु । मेरा नगरबासीलाई काठमाडौं घुम्न जान भन्छु ।’ महानगरको निम्तो पाएपछि कस्तो होला इन्द्रजात्रा भन्ने कौतुहलता बोकेर आएको मेयरहरु जाने बेलामा भने उत्साहित देखिएका थिए । सबै पाहुनाहरु सोमबार फिर्ता भएका छन् ।


क्लिकमान्डु