राजधानीका सम्पदा हेर्दा विदेशी मेयर भए मोहित, भने–यहाँ आउन पाउँदा निकै खुसी लाग्यो



काठमाडौं । इन्द्रजात्रा पर्व अवलोकनका लागि काठमाडौं महानगरपालिकाको निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरूले चन्द्रागिरी, स्वयम्भू, पाटन र भक्तपुरको भ्रमण गरेका छन् ।

विदेशी पाहुनालाई शुक्रबार काठमाडौंको पुरानो भित्री शहरका विभिन्न स्थानहरुको अवलोकन भ्रमण गराएको महानगरपालिकाले शनिबार चन्द्रागिरी र स्वयम्भू तथा आइतबार पाटन र भक्तपुरको अवलोकन भ्रमण गराइएको छ । नेपालको भ्रमणमा रहेका विदेशी पाहुनाहरुले नेपाल भ्रमणबाट निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

चीनको लाञ्जाउ कमिटी अफ द सिपिपिसिसिका उपाध्यक्ष ज्याङ् सिओहाङले नेपाल भ्रमणबाट उत्साहित भएको प्रतिक्रिया दिइन् । ‘नेपाल कला, संस्कृति र सम्पदाको धनी देश रहेछ’ उनले भनिन्र, ‘म नेपाल भ्रमणबाट निकै उत्साहित छु । काठमाडौं बसाइ धेरै रमाइलो भयो । इन्द्रजात्रामा नेपाली जनताको उत्साह र नेपाली जनताको सम्पदाप्रतिको सम्मान देखेर म थप प्रभावित भएँ ।’

उपाध्यक्ष ज्याङ् सिओहाङले आफूले यहाँको सस्कृति सम्पदाका बारेमा पहिला पनि सुनेको र यहाँ आउँदा थप प्रभावित भएको बताइन । उनले पर्यटन वर्ष २०२० लाई लक्षित गरेर काठमाडौँ महानगरपालिकाले इन्द्रजात्राको अवसर पारेर विदेशी पाहुना बोलाएर राम्रो गरेको पनि उल्लेख गरिन् । उनले नेपालीले गरेको सम्मानबाट प्रभावित भएको समेत बताइन् ।

त्यसैगरी भारतको नर्थ दिल्ली नगरपालिकाका मेयर सरदार अवतार सिंहले नेपालको प्रकृति र सम्पदाबाट प्रभावित भएको भन्दै आफ्नो देश र नगरका जनतालाई पनि यसबारेमा जानकारी दिने बताए । उनले विज्ञान संग्राहलयको अवलोकनपछि थप प्रभावित भएको भन्दै नेपाल भ्रमण वर्ष २०२० को सफलताको कामना व्यक्त गरे ।

त्यसैगरी भूटानको थिम्पु नगरका मेयर किन्ले दोर्जीले सम्पदाको संरक्षण गर्ने र विकासको गतीमा अघि बढेको देशका जनता खुशी हुने भन्दै नेपाली जनताको मुहारमा खुशी देखेको बताए ।

आफू पनि बौद्धमार्गी भएकाले नेपालको संस्कृतिबाट थप प्रभावित भएको बताए । मेयर किन्ले दोर्जीले काठमाडौंका पुराना बौद्ध बहाःबहीहरूमा पुग्दा आफूमा आध्यात्मिक भावना उत्पन्न भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘म आफू पनि बौद्धमार्गी भएकाले होला, ती बहालहरूमा पुग्दा मलाई अत्यन्तै आत्मिक महसुस भयो ।’

काठमाडौँ महानगरपालिका मेयर शाक्यले विदेशी पाहुनलाई बोलाएर नेपालको संस्कृति, संम्पदा र परम्पराका बारेमा जानकारी गराउन पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।

‘हामीले विदेशी पाहुनालाई यहाँ बोलाउनुको प्रमुख उद्देश्य भनेको यहाँको पर्यटन क्षेत्रलाई उद्योगका रुपमा विकास गराउनु हो’ उनले भने, ‘त्योसँगै इन्द्रजात्रालाई हामीले विश्वसामू चिनाउनका लागि पनि यसरी विदेशी पाहुनालाई बोलाएका हौं ।’

उनले काठमाडौँमा हेर्न लाएकका सम्पदा धेरै छन भन्ने सन्देश दिनका लागि पनि विदेशी पाहुनालाई बोलाएको जानकारी दिए । ‘हामी पर्यटन प्रर्वद्धनसँगै यहाँको सम्पदा चिनाउन चाहन्छौं । त्यसैको प्रयास पनि हो, यो ।’

आइतबार भक्तपुरको दरबार स्क्वायर, दत्रोतय, तौमडी स्क्वायरको पनि भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा भक्तपुरको मेयर सुनिल प्रजापतिले उक्त क्षेत्र पर्यटकको लागि निकै नै राम्रो भएको बताए । उक्त क्षेत्रमा विभिन्न देशका पर्यटकहरुको निकै आकर्षण रहेको उनको भनाइ छ ।

मेयर प्रजापतिले २०७२ सालको भूकम्पनले भक्तपुरका ११५ वटा सम्पदामा क्षति पुर्याएको र अहिले ८७ वटा सम्पदाको पुर्ननिर्माण सकिएको बताए । उनले भने, ‘हामीले यहाँ घुम्न आउने पर्यटकबाट उठाएको प्रवेश शुल्कले यहाँ क्षति पुगेका सम्पदाको पुननिर्माण गर्ने गरेका छौं ।’


क्लिकमान्डु