डेढ महिनामा बैंककाे निक्षेप ८ अर्बले घट्दा कर्जा लगानी ३४ अर्बले बढ्यो



काठमाडौं । डेढ महिनाको वाणिज्य बैंकमा निक्षेप ८ अर्बले घट्दा कर्जा भने ३४ अर्ब रुपैयाँले बढेको छ । गत असार मसान्तसम्ममा बैंकहरुको निक्षेप २७ खर्ब ६४ अर्ब रुपैयाँ रहेको थियो । भदौ २० सम्म आइपुग्दा ८ अर्ब रुपैयाँले घटेर २७ खर्ब ५६ अर्ब रुपैयाँमा आएको छ ।

साउन ३ गते २७ खर्ब ५० अर्ब रुपैयाँ रहेको निक्षेप संकलन १० गतेसम्म आइपुग्दा भने थोरै बढेको देखिएको छ । साउन १० गते बैंकहरुको निक्षेप २७ खर्ब ५४ अर्ब रुपैयाँ थियो ।

त्यसको ७ दिनपछि पुनः साउन ३ को अवस्थामा पुगको थियो । यता साउन २४ मा भने निक्षेप झनै घटेर २७ खर्ब ४९ करोडमा झरेको थियो । साउन मसान्तमा आउँदा साउन ३ को तुलनामा ३ अर्बले घटेर २७ खर्ब ४६ अर्ब मात्रै निक्षेप संकलन भएको थियो ।

साउन महिनाको अधिकांश दिन घटेको २८ वटा वाणिज्य बैंकहरुको निक्षेपमा भदौ लागेपछि भने केही सुधार देखिएको छ । भदौ ५ गते बैंकहरुको निक्षेप साउन मसान्तको जस्तै २७ खर्ब ४६ अर्ब नै थियो । त्यसको १ सातापछि नै ३ अर्बले बढेको २७ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ भने भदौ २० मा आइपुग्दा ७ अर्ब रुपैयाँले बढेर २७ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ ।

भदौमा बैंकहरुको निक्षेप बढेपनि असार मसान्तको तुलनामा भने घटेको छ । यो अवधिमा बैंकहरुको निक्षेप संकलनमा गिरावट आएपनि कर्जा लगानी भने सुधार भएको छ ।

असार मसान्तमा २८ वटा वाणिज्य बैंकको कर्जा लगानी २४ खर्ब २२ अर्ब रुपैयाँ थियो । यो अंक भदौ २० सम्म आइपुग्दा ३४ अर्ब रुपैयाँले बढेर २४ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ ।

असार मसान्तमा रहेको बैंकहरुको कर्जा लगानी २४ खर्ब २२ अर्ब रुपैयाँबाट साउन १० मा पुग्दा घटेर २४ खर्ब ५ अर्ब रहेको थियो । पुन साउन १७ मा भने ४ अर्ब रुपैयाँले बढेर २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको थियो ।

यसपछि बैंकहरुको बढ्न थालेको कर्जा लगानी भदौ २० सम्म पनि निरन्तरता पाएको छ । साउन मसान्तमा २४ खर्ब २६ अर्ब रुपैयाँ रहेको बैंकहरको कर्जा लगानी भदौ ६ मा आइपुग्दा बैंकहरुको कर्जा लगानी बढेर २४ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै भदौ १३ मा यो क्रम झनै बढेर २४ खर्ब ४७ अर्ब पुगेको थियो भने भदौै २० मा आइपुग्दा बैंकहरुको कर्जा लगानी २४ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ ।

नयाँ आर्थिक वर्ष लागेसँगै बैंकहरु निक्षेप संकलनमा कमजोर देखिएपनि कर्जा लगानीमा क्रमैसँग आक्रमक हुन लागेको देखिएको छ ।


क्लिकमान्डु