फोहोर फलास्टिकलाई इँटा बनाउने आइडियाले जित्यो पुरस्कार, प्रतिष्पर्धीका यस्ता छन् आइडिया




काठमाडौं । इन्फ्रास्ट्रक्चर आइडिया ह्यान्डका विजेता द टीम आवासका विधी मण्डल र सन्तोष पाण्डे भएका छन् ।

नेपाल लगानी सम्मेलनमा आफ्नो आइडिया प्रस्तुत गर्नेमध्ये उनीहरु विजेता भएका हुन् । नेपालका प्रमुख सहरहरुमा प्लास्टिक खेर गइरहेको र त्यसलाई उपयोग गरेर ६० प्रतिशत प्लास्टिक र ४० प्रतिशत वालुवा र अन्य मिश्रण प्रयोग गरी इँटा बनाउन सकिने योजना प्रस्तुत गरेकी थिइन् ।

उनले अहिले परीक्षणका रुपमा इँटा उत्पादन गरिसकेको भन्दै यसमा ८० जनाले रोजगारी पाइरहेको जानकारी समेत दिइन् ।

विजेतालाई नेपाल उद्योग परिसंघले पुरस्कृत गर्दै १ लाख ५० हजार रुपैयाँ समेत प्रदान गरेको थियो ।

युवा उद्यमीहरुले विभिन्न ५ वटा नविनतम विधामा आफ्ना नमुना उद्यमशील अवधारणा (आइडिया हण्ट) प्रस्तुत गर्दै पीपीपीमा लगानी गर्न सकिने बताएका थिए ।

कार्यक्रममा कर्णाली प्रदेशलाई प्रतिनिधित्व गर्दै हेमन्त तिवारीले कर्णाली प्रदेशमा यातायात क्षेत्रमा लगानी गर्न आवश्यक भएको बताए ।

उनले कर्णाली प्रदेशको समृद्धिका लागि सडक सञ्जाल विस्तार र यातायात सञ्चालनका लागि २४ अर्ब ९ करोड रुपैयाँ तत्काल लगानी गर्न सकिने उल्लेख गरे ।

कर्णाली प्रदेशका १० जिल्ला र अन्य प्रदेशसँग जोडिने २० जिल्लाका अन्तर प्रादेशिक यातायात सञ्जालमा जोडिनका लागि पनि निजी क्षेत्रले लगानी गर्न सक्ने उनको सुझाव छ ।

प्रदेश राजधानी सुर्खेत उपत्यकामा अहिले रिक्सा र टेम्पो मात्रै सञ्चालन भएको र अन्य जिल्लामा जोडिने गरी यातायात सञ्चालन गर्न सके प्रतिफल पनि प्राप्त हुने तिवारीको तर्क छ ।

यस्तै ‘दिगो पूर्वाधारका लागि कृषि र इञ्जिनियरिङको संयोजन’ शीर्षकमा आफ्नो योजना प्रस्तुत गर्दै किशोर पौडेलले नेपालमा स्याउको बजार उल्लेख्य रहेको र यसले पर्यावरण संरक्षणमा सहयोग पु¥याउने हुँदा पूर्वाधार निर्माण पनि सुरक्षित हुने बताए ।

तराई तथा चुरे क्षेत्रमा स्याउ उत्पादनको प्रचुर सम्भावना रहेका भन्दै अहिले वार्षिक ७ अर्ब स्याउ आयातलाई घटाउन र सस्तोमा स्याउ उपलब्ध गराउन सघाउने उनको भनाइ छ ।

बायो इञ्जिनियरिङको रुपमा स्याउमा लगानी गर्न सकिने भन्दै उनले यस अध्ययनले बिजनेश हाउस, किसान र कम आय स्रोत भएका व्यक्तिहरु पनि लगानीका लागि आउन सक्ने बताए । यसका लागि पीपीपी अवधारणामा लगानी गर्न सकिने उनको तर्क छ ।

युनाइटेड वल्र्ड स्कुल नेपालका निर्देशक मञ्जितराज पाण्डेले निर्माण व्यवस्थापनमा उच्चस्तरको प्रविधिको प्रयोग नेपालमा कम भएकोले यो क्षेत्र पनि लगानीका लागि उपयुक्त हुने तर्क गरे । प्रविधिको प्रयोगले ग्रामीण क्षेत्रमा निर्माणका काम र तथ्यांक संयोजनमा सहयोग पुग्ने उनको भनाइ थियो ।

यसैगरी स्मार्ट सेवाका संस्थापक यासिर फिरोजले ‘समयको वचत र पैसाको बचत’ शीर्षकमा योजना प्रस्तुत गर्नु भएको छ । प्रविधिको प्रयोग गरेर पूर्वाधार निर्माणलाई सहज बनाउन सकिने विचार प्रस्तुत गरे । उनले आफ्नो सेवा रियल स्टेट, हाउजिङ तथा अन्य निर्माणका क्षेत्रमा काम गरिरहेको बताए ।

टीम आगमनकी संस्थापक सोनिया अधिकारीले ठूला होटेल तथा सडकहरु निर्माण गर्दा जमिन भासिने समस्या समधानका लागि नयाँ प्रविधिको प्रयोगका विषयमा योजना प्रस्तुत गरिन् ।

उनले सिमेन्ट, ढुंगा प्रयोग गर्दा जमिनलाई थप भार पार्ने भएकोले केमिकल प्रयोग उपयुक्त हुने बताइन् ।

विदेशबाट आयात गर्दा महंगो हुने भएकोले नेपालमै उत्पादन गर्नका लागि अध्ययन भइरहेको भन्दै उहाँले यो क्षेत्रमा पनि लगानी गर्न सकिने सम्भावना देखाएइन् ।

स्मार्ट घर समूहकी श्रृष्टि अवालेले होम अटोमेशनको प्रयोगले दैनिकी निकै सहज हुने बताइन् ।

उनले स्मार्ट घरले मोबाइल एपको विकास गरेकोले न्यूनतम ६० हजार रुपैयाँको लगानीबाट यो सुविधा लिन सक्ने बताइन् ।

एपको प्रयोगबाट घरको ढोका, झयालदेखि, आइरन, बत्ति, पानीको ट्यांकी पनि बन्द गर्न विर्सिएको भए पनि जुनसुकै स्थानबाट पनि बन्द गर्न मिल्ने उनको भनाइ छ ।

इनर्जी एक्सका सञ्जयराज भण्डारीले स्वच्छ इन्धनः स्वदेशी उत्पादन सम्बन्धी विषय प्रस्तुत गरेका थिए । वायोग्यास उत्पादनका लागि सरकारले ४० प्रतिशत अनुदान दिएको ६० प्रतिशत निजी क्षेत्रमार्फत लगानी गरेर वैकल्पीक उर्जा उत्पादन गर्न सकिने बताए ।

सेसनमा उपस्थीत युवा उद्यमीहरुले ट्राफिक व्यवस्थापन, कंक्रिट सडक निर्माणलगायतका क्षेत्रमा पीपीपी अवधारणअनुसार लगानीको सम्भावना भएको जानकारी दिए ।

सेसनमा विभिन्न विधामा पीपीपीलगायतका अवधारणामा आधारित १० वटा प्रस्तुति भएका थिए ।
साथै, द्वितियले १ लाख र तेस्रो हुनेले ५० हजार पाएका छन् ।


क्लिकमान्डु