भ्रमण वर्षलाई लक्षित गरी नेपाल, भारत र चीन मिली नेपालमा पर्यटन मेला आयोजना गर्दै



काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपालमा ‘नेपाल इण्डिया चाइना एक्सपो’ (नाइस) एक्सपो हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्डको समन्वय तथा सहकार्यमा फेब्रुअरी २१ देखि २४ फेब्रुअरी २०२० सम्म आयोजना हुनेछ ।

विश्व पर्यटन इतिहासमै पहिलो पटक तीन वटा मुलुक समावेश भई आयोजना गरिने नाइस पहिलो पर्यटन मेला हो । जुन नेपालको पर्यटन प्रवर्द्धन तथा विकासका लागि सबैभन्दा महत्वपूर्ण निकट छिमेकी पर्यटन स्रोत बजार (चीन र भारत)का सरोकारवालाहरु सहभागी हुनेछन् ।

पर्यटन सम्बद्ध व्यवसायी र निजी तथा सरकारी निकायका सरोकारवालाहरु एवम् संघ संस्थाहरुलाई एकै थलोमा आमन्त्रण गरी आपसी व्यापार प्रवर्द्धन, सम्पर्क सञ्जाल विस्तार, तथा त्रिदेशीय पर्यटनको नयाँ आयामहरु उजागर गराउन प्रेरणा प्रदान गर्ने महत्वपूर्ण मञ्च बन्ने विश्वास लिइएको छ ।

दक्षिण एशिया तथा विश्वकै २ ठूला अर्थव्यवस्था एवम् बृहत पर्यटन स्रोतबजारहरुको बीचमा नेपालको अवस्थिति, ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधता एवम् प्राकृतिक सौन्दर्यता नेपाली पर्यटन क्षेत्रको प्रवर्द्धन, विकास र विस्तारका लागि महत्वपूर्ण आधार एवम् स्रोत हुन ।

चीन र भारत विश्वकै दुई ठूला बृहत पर्यटन स्रोतबजार हुनुका साथै नेपालका निम्ति पनि प्रमुख पर्यटक आगमन हुने र प्रचुर सम्भावना भएका पर्यटकीय स्रोत बजार पनि हुन् ।

सन् २०१८ को तथ्यांक अनुसार चीनबाट वार्षिक १५० मिलियन पर्यटकले विश्व भ्रमण गरेका छन् । जसमध्ये जम्मा ०.१ % प्रतिशत र २५.८५ मिलियन भारतीय आउटबाउण्ड पर्यटकमध्येबाट ०.७५% प्रतिशतले मात्र नेपाल भ्रमण गरेका छन् ।

२ छिमेकी मुलुकको पर्यटक आगमन हेर्दा नेपालले सम्भावना अनुरुप अपेक्षित लाभ लिन नसकेको प्रष्ट देखिन्छ । लामो समयदेखि नै छिमेकी राष्ट्रहरु नेपाल भारत र चीनबीच दुईपक्षीय व्यापार विस्तार एवम् पारस्परिक सम्बन्ध रहँदै आएको छ ।

तर, त्रिदेशीय पर्यटन पवद्र्धनका निम्ति यथोचित पहल नभएको सन्दर्भमा नाइस कार्यक्रमले तीनवटै मुलुकबीच विद्यमान एकीकृत पर्यटकीय सम्भावना र व्यापारिक अवसरहरु उत्थान एवम सहजीकरण गर्दै तीन देश बीचको सम्बन्ध थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास आयोजकले लिएको छ ।

नाइस कार्यक्रमले नेपाल सरकारले लिएको भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्ति तथा सन् २०३० सम्ममा ५० लाख पर्यटक ल्याउने लक्ष्य प्राप्तिको लागि महत्वपूर्ण आधारशीला तयार पार्ने अपेक्षा गरेका छौं ।

यस ऐतिहासिक एक्सपोमा २०० भन्दा बढी क्रेताहरु, १०० बिक्रेताहरु, चीन र भारतका ५० भन्दाबढी सञ्चारकर्मी, विज्ञ वक्तालगायत पर्यटनसँग सम्बद्ध स्थानीय संघसंस्था, सरकारी निकाय, सञ्चारकर्मी तथा सरोकारवाला गरी १ हजारभन्दा बढी सहभागी हुनेछन् ।

कार्यक्रमको सफल आयोजनका लागि नेपाल, भारत तथा चीन तीनवटै मुलुकका पर्यटन सम्बद्ध व्यवसायी तथा सरोकारवालालगायत नेपाली पर्यटनक्षेत्रमा आबद्ध व्यवसायीहरु रहनेछन् ।


क्लिकमान्डु