राजधानीका तीन मिठाइ पसलमा अनुगमन, फोहोर र मिति गुज्रिएका सामग्री भेटिए



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौंका तीन वटा मिठाई पसलमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा मिति नभएका, मिति नाघेका, सरसफाइमा लापरर्वाही गरिएका खाद्य पदार्थ भेटिएको छ । अनुगमन टोलीले त्यस्ता खाद्य सामग्री नष्ट समेत गरेको छ ।

अनुगमन पछि कृषि राज्यमन्त्री रामकुमारी चौधरीले व्यवस्थापकीय कमजोरी पाइएको बताउँदै उपभोक्तालाई गुणस्तरिय खाना खुवाउने व्यवसायीहरुको पनि कर्तव्य रहेको भन्दै अनुगमनलाई निरन्तरता दिने बताइन ।

उनले मिठाइ पसल मात्र नभई सबै खाद्य पदार्थमा अनुगमन र नियमन गरिरहेको बताइन् । राज्यमन्त्री चौधरीले एक हप्ताभित्र सुधार गर्न सबै पसल सञ्चालकलाई निर्देशन समेत दिइन् ।

विभागकी महानिर्देशक मनिता बैद्यले सरसफाइ र गुणस्तरियता कायम गर्न नसकेको भन्दै विभागमा उपस्थित हुन निर्देशन दिएको बताइन् । टोलीले परिक्षणका लागि १४ प्रकारका खाद्य पदार्थ लिएको जनाएको छ ।

विश्लेषण नमूना सार्वजनिक भएपछि खाद्य ऐन अनुसार नभएको पाइएमा सरकारी वकिलमार्फत मुद्धा चलाइने विभागले जनाएको छ ।

टोलीले त्रिपुरेश्वरमा रहेको पशुपती फुड्स र साजन गोठ तथा सुन्धारामा सालिमार हस्पिटालिटी एण्ड फुड्स प्रलिद्वारा सञ्चालित गुवाफमा अनुगमन गरेको थियो ।


क्लिकमान्डु