एनसीसी बैंकमा फेरि लफडा, साधारणसभाले नयाँ सञ्चालक समितिको निर्वाचन गर्न सकेन



काठमाडौं । लामो समयदेखि विवादै विवाद र काण्डैकाण्डमा मुछिएको नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा फेरि लफडा भएको छ । एकजना १४ कित्ते सेयरधनीको उजुरीले साधारणसभाले सञ्चालक समितिको निर्वाचन गर्न सकेन ।

राष्ट्र बैंकले व्यवस्थापन छाडेर गएको कामचलाउ सञ्चालक समितिले २ वर्षदेखि साधारणसभाा गरेको छैन । सामान्यतया ६ महिनाभित्र साधारणसभा गरेर निर्वाचित सञ्चालक समितिलाई बैंक सञ्चालन गर्ने जिम्मा दिनुपर्ने हो ।

एनसीसी र एपेक्स मर्जरः जब भयो बिग्रिएका केटाकेटीबीच बिहे…

तर, अहिलेको सञ्चालक समितिले अझै आफ्नो कार्यकाल लम्याउन चाहेका कारण यस्तो भएको सेयरधनीहरु बताउँछन् ।

बैंकको २० र २१ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भयो । साधारणसभामा ७० प्रतिशत सेयधनी उपस्थित थिए ।

साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट चुक्ता पुँजीको १५.८९ प्रतिशत र उक्त बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

एनसीसी बैंकः सुरुवातदेखि मर्जरसम्म विवादै विवाद

तर, बैंक सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट १ जना महिल सहित ३ जना गरी जम्मा ६ जना संचालकहरुको निर्वाचन गर्ने विशेष प्रस्तावमाथि कुनै निर्णय हुन सकेन ।

किन यस्तो भयो ?

साधारणसभामा सञ्चालक समितिको निर्वाचन हुन नसक्नुका पछाडि मूख्य हो, महिला सञ्चालक नियुक्तिको सम्बन्धमा देखिएको विवाद ।

गत बिहीबार बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंकको निर्देशनका कारण सञ्चालकहरुको निर्वाचन स्थगित गरेको जानकारी दियो ।

के भयो एनसीसी बैंकमा ?

राष्ट्र बैंकले एनसीसी बैंकलाई पत्र लेख्दै ‘सञ्चालक समितिमा महिला सञ्चालकको सम्बन्धमा कुन समूहबाट महिला सञ्चालकको प्रतिनिधित्व हुने भन्ने विषयमा प्रष्ट खुलाई नियमावलीमा व्यवस्था गरी उक्त नियमावलीलाई साधारणसभाबाट पारित गरेपछि मात्रै नियमानुसार निर्वाचन गर्ने व्यवस्था गर्नु’ भन्ने निर्देशन दिएको थियो ।

बैंकले संस्थापक समूहबाट ३ जना र १ जना महिलासहित सर्वसाधारणबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने भन्दै सूचना निकालेको थियो ।

कम्पनी ऐन २०६३ मा महिला सेयरधनी भएको पब्लिक कम्पनीमा कम्तीमा १ जना महिला सञ्चालक हुनैपर्ने व्यवस्था छ ।

राष्ट्र बैंक निर्देशन अनुसार भदौ २३ गते हुने साधारणसभामा सञ्चालक समितिको निर्वाचनको साटो नियमावली संशोधनको एजेन्डा प्रस्तुत गरी उक्त एजेण्डा पारित भएपछि मात्रै पछि सञ्चालक समितिको निर्वाचन गर्नुपर्ने थियो ।

तर, करि ७० प्रतिशत सेयरधनी उपस्थित भएपनि यस सम्बन्धी कुनै निर्णय भएको छैन ।

‘एकजना १४ कित्ते सेयरधनीले राष्ट्र बैंकमा उजुरी दिएको बहाना बनाएर अहिलेको सञ्चालक समितिले निर्वाचन गरेन,’ एक सेयरधनीले भने ।


पुष्प दुलाल