एनसीसी र एपेक्स मर्जरः जब भयो बिग्रिएका केटाकेटीबीच बिहे…



काठमाडौं । बिग्रिएको केटाकाे बिग्रिएकै केटीसँग बिवाह भयो, अब कल्पना गर्नुस्, उनीहरुको घरजम कस्तो होला ?

पक्कै पनि सफल दाम्पत्य जीबनका लागि त्यो जोडीलाई निकै कठिन हुन्छ नै । हो, त्यस्तै समस्या झेल्नु पर्यो, नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले ।

एनसीसी बैंक आफैं संस्थागत सुशासन र आन्तरिक कलहको दुब्र्यसनीले लामो समय ग्रस्त थियो । अभिभावक (नेपाल राष्ट्र बैंक) ले एनसीसीलाई रोगबाट तंग्र्याउन बिबाह गरिदिने निधो गर्यो ।

कुमारीलगायतसँग बिवाह (मर्जर) को इन्गेजमेन्ट (सैद्दान्तिक समझदारी) पनि भयो । तर, कुमारीको परिवार (सेयरधनी) ले एनसीसी जस्तो बिग्रिएकोसँग बिबाह (मर्जर) गर्न नसकिने निर्णय गरे । र, एनसीसीलाई मर्जरका लागि पार्टनर पाउनै हम्मेहम्मे भयो ।

‘एनसीसीको अब पूर्णरुपमा स्वस्थ हुन लागिसकेको छ । र, भविष्यमा कुनै पनि रोग नलाग्नेगरी औषधी गरेर बैंकलाई अघि बढाउने तयारीमा छौं’- सीइओ, रमेश अर्याल

र, अन्तिममा एनसीसीको एपेक्स डेभलपमेन्ट बैंकलगायत ४ विकास बैंकसँग मर्जर भयो । यद्यपि मर्जरपछि बैंकले अपेक्षित सुधार गर्न सकेन । यसको कारण हो सुधारगृहमा रहेको केटा (एनसीसी) र बिग्रिएको केटी (एपेक्स) बैंकबीचको घरबार अर्थात् संयुक्त कारोबार ।

निवर्तमान गभर्नर युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाबीच एकआपसमा हुने मर्जरलाई विवाह भएको टिप्पणी गर्थे ।

‘हाम्रो समाजमा छोरो बिग्रियो भने बिहे गरिदिनुपर्छ भन्ने चलन छ, त्यस्तै भयो एनसीसी बैंकमा पनि,’ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रमेश अर्यालले क्लिकमाण्डूसँग भने, ‘तर, केटी पनि बिग्रिएकै पाइयो । जसले केही समय त तनाब सिर्जना गर्यो । तर, बिस्तारै सुधार भइरहेको छ । ट्र्याकमा आइसक्यौं । अब राम्रो हुन्छ । सानातिना समस्याले छुँदैन ।’

कसरी सुधारगृहमा पुग्यो एनसीसी ?

स्थापनाकालदेखि नै विवाद र सुशासनको कमी भएर २ दशकको लक्का जवान हुनुपर्ने उमेरमा  पनि कतै भिटामिनकाे कमी हाे कि, कतै कुपाेषणकाे सिकार भयाे कि जस्ता शंका गर्नुपर्ने अबस्थामा थियाे- एनसीसी बैंक ।

बैंकका सञ्चालकहरुले नै बैंकबाट ऋण लिन्थे । भनौं कम्प्लाइन्समा यो बैंक निकै कमजोर थियो । जसकारण बैंक लिक्विडेशनमा जानसक्ने खतरासमेत बढ्दै गएको थियो ।

मुख्य लगानीकर्ता एनबी समुह र निर्मल प्रधानबीच विवाद बढेपछि राष्ट्र बैंकले संचालक समिति भंग गर्यो । केही वर्ष राष्ट्र बैंकको सञ्चालक समितिले व्यवस्थापन जिम्मा लियो । र, सुधार्नका लागि फोर्स मर्जरमा लग्यो ।

मर्जरपछि तनाब र अहिले सुधार

बिहेपछि तनाब पनि हुन्छ । र, सुधार पनि । केही समय तनाब झेल्दै सुधारको बाटोमा उन्मूख भयो, एनसीसी ।

मर्जपछिको पहिलो वासलात निकै खराब देखियो । तर, पछिल्ला क्वाटरहरुमा व्यवस्थापनले वासलातलाई चामत्कारिक सुधार गर्न सफल भएको छ ।

पहिला पहिला प्रबाह भएको ऋण उठाएर बैंकलाई ट्र्याकमा ल्याइएको सीइओ अर्याल बताउँछन् । संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकम फिर्ता (राइटब्याक) भएपछि बैंकले नाफा कमाएको हो ।

र, सोही सुधारका कारण गत वर्ष एनसीसी बैंक पहिलोपटक अरबपति बन्यो । अर्थात् अर्ब बढी नाफा कमायो ।

लगानीकर्ताले २० वर्षमा एनसीसीबाट केही पनि पाएनन् । तर, अहिले पहिलो पटक लगानीकर्तालाई ५ प्रतिशत लाभांश दिइयो ।

मर्जर तोडिएपछि…

राष्ट्र बैंकले चुक्ता पुँजी २ अर्बबाट ८ अर्ब रूपैयाँ पुर्याउने नीति पनि लियो । राष्ट्र बैंकले २ समुह एनबी र निर्मल प्रधान समुहकाे सेयर स्वामित्व घटाउने नीति लियो । र, संचालक समिति नियन्त्रणमा लिएको समय बिग मर्जर गर्नेगरी कुमारी बैंकसहित ४ वटा विकास बैंक गाभेर एकैपटक ८ अर्ब चुक्ता पुँजी पुर्याउने सम्झौता भयो ।

तर, सो सम्झौताबाट कुमारी बैंक बाहिरियो । कुमारी बैंक बाहिरिए पनि एनसीसीसँग ४ वटा विकास बैंक गाभिए ।

पुसले तर्सायो, असारले आशा देखायो

एनसीसीका लगानीकर्ता, कर्मचारी सबैलाई अब एनसीसी वित्तीय रुपम बलियो भएको तथा बैंक अगाडि बढ्नेमा आशावादी थिए ।

तर, पुस मसान्तको वित्तीय विवरणले सबैलाई आश्चर्यमा पार्याे । बैंकको नाफा जम्मा ७ करोड ७६ लाख रुपैयाँ थियो । बैंकले नोक्सानी व्यवस्थाको लागि ६६ करोड रुपैयाँ छुट्याएको थियो ।

मर्जरमा जोडिन आएको एपेक्स डेभलपमेन्ट बैंकको खराब कर्जाको कारण एनसीसीको मर्जरको सुरुवात नै नराम्रो तरिकाबाट भयो ।

अहिले एपेक्सको मर्जरको विषयमा उच्च अदालत पाटनमा मुद्दा चलेको छ । उच्च अदालतले पनि एपेक्सको छुट्टै खाता राख्न भनेको छ । जुन व्यवहारिकरुपमा कार्यान्वयन गर्न कठिन भने छ ।

र, पहिलोपटक अर्बपति

चैतमा आइपुग्दा बैंकले नोक्सानी व्यवस्थाका लागि १ अर्ब छुटउनुपर्ने स्थिति आयो । धेरैलाई लागेको थियो- मर्जरपछि बैंकको अवस्था सुधार हुँदैन ।

तर, असारको वित्तीय विवरण आउँदा बैंकले उठाउन नसकेकेको १ अर्ब ३३ करोड रुपैयाँ ऋण उठाउदै पहिलो पटक अर्बपति क्लबमा प्रवेश गर्यो । बैंकले १ अर्ब ३२ करोड कमाएको छ । नोक्सानी व्यवस्थाको लागि ८२ करोड छुट्याएको छ ।

एकैपटक अर्बपति क्लबमा पुगेपछि बैंकका सीइओ अर्यालले धेरैबाट बधाई पाए । एकाएक बैंकको अवस्थामा सुधार ल्याएका अर्याल टिम स्पिरिटको कारण पुरानो ऋण उठाउन सम्भव भएको दाबी गर्छन् ।

स्टाण्र्डर्ट चार्टर्डबाट बैकिङ करिअर सुरु गरेका अर्याल एनसीसी बैंक संचालनमा आएको १ वर्षदेखि आबद्ध छन् ।

अब रोग लाग्न दिन्नौं

‘हाम्रो पुरानो इमेज परिवर्तन हुँदै गएको थियो,’ अर्यालले आफ्नो अनुभव सुनाउँदै भने, ‘मर्जरपछि सशक्त ढंगले अगाडि जान एउटा संस्थाको बिग्रेको कर्जाले समस्यामा पार्यो ।’

उठ्न नसकेको ९० करोड रुपैयाँ ऋण एपेक्सको उठाएको बताउँदै अर्याल धितो भएको हुँदा ऋण उठाउन गार्हो नहुँने तर्क राख्छन् ।

‘एनसीसी अब पूर्णरुपमा स्वस्थ हुन लागिसकेको छ,’ उनले थपे, ‘भविष्यमा पनि कुनै पनि रोग नलाग्नेगरी औषधी गरेर बैंकलाई अघि बढाउने तयारीमा छौं ।’

बिरामी नभएको व्यक्तिभन्दा बारम्बार बिरामी हुने व्यक्तिलाई अन्य खालका रोगले छिटो च्याप्ने गर्छ । तर, अब एनसीसी रोगबाट मुक्त भएको र नयाँ रोग पनि नलाग्ने गरी काम गरिरहेको अर्याल बताउँछन् ।

यसरी भयो सुधार

एनसीसीमा अझैपनि सुधारको प्रक्रिया भने चलिरहेको छ । विगतमा मुख्य लगानीकर्ता रहेको एनबी ग्रुपसँग सम्बन्धित ऋणहरु धेरै उठिसकेको थियो । त्यो सुधार काम सकिएको पनि थियो ।

अब पुरानो मध्येको हरिसिद्दिको जग्गा बिक्रीको विषय मात्र टुंगो लाग्न बाँकी छ । अदालतमा मुद्दा परेको हुँदा जग्गा लिलामीको प्रक्रिया अघि बढेको छैन । जग्गा धितोमा राखेर दिएको ऋण उठाउन गार्हो नहुँने अनुभव सिइओ अर्यालको छ ।

एक वर्ष, २ वर्ष समस्या भए पनि कुल ऋण रकमको ७० देखि ८० प्रतिशत सजिलै उठ्ने अनुभव आफुले सिकेको अर्याल बताउँछन् ।

‘मुख्यरुपमा संस्थागत सुशासनको इस्यु अब बैंकमा रहेको छैन,’ अर्यालले आफ्नो योजना सुनाउदै भने, ‘अदालतमा मुद्दा परेको हुँदा केही ऋण उठाउन समस्या पर्छ ।’

बैंकले मर्जरपछि बिग्रेको ऋण उठाउनको लागि लोन फाइलको शुक्ष्म अध्ययन गर्दा मर्जर सम्झौतापछि एपेक्समा ऋण दिदा कतिपय क्षेत्रमा गल्ती भेटिएको अर्यालको भनाई छ ।

‘ऋण दिएपछि नियमित फलोअप पनि नगरेको भेटियो,’ उनले थपे, ‘अब ऋण उठाउनको लागि केही समस्या छैन ।’

बैंकको अहिले खराब कर्जा अनुपात (एनपिएल) ४.८ प्रतिशत छ । एनपिएलमा सुधार ल्याएर १ वर्षभित्रमा १ प्रतिशतभन्दा तल झार्ने लक्ष्य भएको उनले सुनाए ।

अब आक्रमक

एनसीसीले यो वर्ष १२ वटा शाखा विस्तार गर्दैछ । १२ वटा दोहरिएका शाखालाई काठमाडौंका विभिन्न स्थानमा स्थानान्तरण गर्ने योजना बैंकले बनाएको छ ।

एक वर्षभित्रमा १ सय शाखा पुर्याउने तयारी बैंकले गरेको छ । रिङरोडका सबै चोकहरुमा एनसीसीका शाखा हुने अर्याल बताउँछन् ।

चुक्ता पुँजी ८ अर्ब पुर्याउन ५० प्रतिशत  हकप्रद सेयर जारी गर्ने र यो वर्षको नाफाबाट दिने बोनसले ८ अर्ब पुँजी सजिलै पुग्ने छ ।

एपेक्सको खराब कर्जा उठेपछि बाँकी मर्जरमा भएका संस्था राम्रोसँग चलेको हुँदा व्यवसायको लागि त्यती गार्हो नहुँने बुझाई अर्यालको छ ।

अर्बपति भइराख्ने चुनौति

बैंकले यो वर्ष पुरानो ऋण उठाएको कारण अर्बपति क्लबमा प्रवेश पाएको छ । यसलाई निरन्तरता दिनुपर्ने चुनौती बैंकसँग छ ।

‘हक प्रदबाट चुक्ता पुँजी बढाएपछि स्वभाविक रुपले आरओइको दवाव पर्छ,’ अर्यालले आफ्नो योजना सुनाउदै भने,‘ बैंकले पुरानो ऋण उठाउँदा अर्को वर्ष पनि सजिलै अर्ब नाफा कट्छ । थप व्यवसायको लागि हामीले अरु काम गर्छौं।’

नियमित आम्दानी बढाउनको लागि एक सय शाखा पुर्याएपछि एउटा शाखाले वर्षमा औसतमा १ करोड नाफा दिने लक्ष्यका साथ अगाडि बढेको बताउँदै अर्यालले १ अर्ब रुपैयाँ नाफा गर्ने लक्ष्य सजिलै पुग्ने बताउँछन् ।