बैंक तथा वित्तीय संस्थाका कर्मचारीको तलब बढ्ने, कम दिनेलाई बढाउन दवाव



काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको तलब थप बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले तल्लो तहमा कार्यरत कर्मचारीको तलब बढाउनको लागि अप्रत्यक्ष रुपमा दवाव दिएको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले कतिपय बैंकहरुले तल्लो तहका कर्मचारीलाई कम तलब दिने गरेको र आउटसोर्सिङमा समस्या देखिएको गुनासो आएको बताए ।

‘सबैलाई न्याय हुने गरेर तलब दिनको लागि हामी भनिरहेका छौ,राष्ट्र बैंकले यो विषयलाई नजिकबाट हेरेको छ,’डेपुटी गभर्नर शिवाकोटीले क्लिकमाण्डूसँग भने ।

उनले कतिपय संस्थामा भने राम्रो तलब दिने कर्मचारीले समेत अनावश्यक माग समेत राख्ने गरेको बताए ।

‘केही संस्थाले कर्मचारीलाई अन्याय गरेका छन्,कतिपय राम्रो तलब दिने संस्थामा कर्मचारीले अनावश्यक बखेडा निकाल्ने गरेका छन्,यो हुनु राम्रो होइन,’उनले थपे ।

अहिले बैंकहरुले तल्लो तहमा कर्मचारीलाई न्यूनतम ८ घण्टाभन्दा बढी काम लगाउने र त्यो वापत थप पैसा नदिने गरेको गुनासो राष्ट्र बैंकमा गएको छ ।

विभिन्न विभागमा आउटसोर्सिङ गरेर कर्मचारी राख्दा समेत समस्या भएको बुझाई राष्ट्र बैंकको छ ।

बैंक तथा वित्तीय संस्था अन्य क्षेत्रभन्दा कर्मचारीलाई तुलनात्मक रुपमा बढी तलब दिने क्षेत्रको रुपमा चिनिन्छ । तर,कर्मचारीलाई कतिपय बैंकहरुले करारमा मात्र काम लगाउदा आवश्यक पर्ने सुविधा प्राप्त गर्न सकेका छैनन् ।

‘ठूला कर्मचारीले अत्याधिक सुविधा लिने,सानाले नपाउने व्यवस्था न्यायोचित भएन, यसलाई बैंक तथा वित्तीय संस्थाले मिलाउनुपर्ने देखिएको छ,’ शिवाकोटीले थपे ।


क्लिकमान्डु