एटीएम ह्याकिङ प्रकरणः सबै बैंक तथा वित्तीय संस्थाका सीइओहरुलाई राष्ट्र बैंकले बोलायो



काठमाडौं । अघिल्लो शनिबार भएको एटीएम ह्याक प्रकरणमा छलफल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुलाई बोलाएको छ । राष्ट्र बैंकले भोलि (सोमबार) दिउँसो साढे २ बजे वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका सीइओहरुलाई बोलाएको हो ।

राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका सीइओहरुबीच नेपालमा हालै भएको एटीएम ह्याक, जर्मनीमा भएको ह्याक, विगतमा नेपाल र विश्वमा भएका बैंक ह्याकका विषयमा र, आगामी दिनमा लिनुपर्ने सुरक्षा नीतिका बारेमा छलफल हुने छ ।

राष्ट्र बैंकका तर्फबाट भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले प्रस्तुति दिनेछन् ।

गत शनिबार चिनियाँ ह्याकरहरुले विभिन्न बैंकको भिसा कार्ड प्रयोग गरी साढे ३ करोड रुपैयाँ चोरी गरेका थिए । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को स्वीच ह्याक गरी ह्याकरहरुले बैंकहरुको एटीएम बुथमा भएको पैसा चोरी गरेका थिए ।

उक्त घटनाकमो प्राविधिक परिक्षण (फरेन्सिक टेस्ट) गर्न सिंगापूरको भेरी जोन कम्पनीका २ जना प्राविधिक गत बुधबार साँझ नेपाल आएका थिए । उनीहरु आइतबार साँझ फर्किएका छन् । भोलि (सोमबार दिउँसो)सम्ममा उनीहरुले फरेन्सिक टेस्टको प्रतिवेदन बुझाउने छन् ।

राष्ट्र बैंकले सीइओहरुलाई अध्ययन प्रतिवेदन र फरेन्सिक टेस्टको रिपोर्टको बारेमा उक्त छलफलमा औपचारिक जानकारी गराउने बताइएको छ ।


पुष्प दुलाल