बैंकबाट ऋण लिएर गाडी किन्ने घटे, घर बनाउने र जग्गा किन्ने बढे



काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर गाडी किन्नेको संख्या घटेको छ । तर,ऋण लिएर घर बनाउनेको संख्या भने बढेको देखिएको छ ।

आर्थिक वर्ष २०७४/७५ को तुलनामा आर्थिक वर्ष २०७५/७६ मा गाडी खरिदको लागि जाने कर्जा घटेको छ भने घर निर्माण तर्फको कर्जा बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ मा गाडी खरिदका लागि बैंकहरुले २१ अर्ब ७० करोड करोड रुपैयाँ गाडी खरिदका लागि ऋण दिएका थिए । जबकी आर्थिक वर्ष २०७५/७६ मा ९ अर्ब ९२ करोड रुपैयाँ गाडी खरिदका लागि ऋण दिएका छन् ।

सरकारले गाडी खरिदमा आर्थिक वर्ष २०७४/७५ को ६ महिना कटेपछि सिमा तोकेको थियो । गतवर्ष मौदिक नीतिबाट ५० प्रतिशतमा रहेको सिमालाई ६५ प्रतिशत पुर्याएपनि पुन घटाएर ५० प्रतिशतमा झारिएको थियो ।

राष्ट्र बैंकले सिमा नतोक्दासम्म ९० प्रतिशतसम्म गाडी खरिदको लागि बैंकहरुले कर्जा दिदैं आएका थिए । अहिले विद्युतीय गाडीमा मूल्यको ८० प्रतिशतसम्म कर्जा बैंकहरुले दिने गर्छन् ।

राष्ट्र बैंकका अनुसार २०७५/७६ को असार मसान्तसम्ममा १ खर्ब ८० अर्ब रुपैयाँ ऋण गएको छ । आर्थिक वर्ष २०७४/७५ सम्म १ खर्ब ७१ अर्ब रुपैयाँ ऋण गएको थियो ।

यस्तै घर निर्माण डेढ करोडभन्दा कमसम्मको ऋण ३६ अर्ब रुपैयाँले गएको छ । आर्थिक वर्ष २०७४/७५ मा यस्तो ऋण ३३ अर्ब रुपैयाँले गएको थियो ।

डेढ करोडभन्दा बढीको ऋण पनि घर निर्माणमा यो पटक ६ अर्ब रुपैयाँले बढेको छ । अघिल्लो वर्ष यस्तो ऋण प्रवाह १ अर्ब रुपैयाँले घटेको थियो ।

गतवर्ष व्यवसयिक खाले अपार्टमेन्ट तथा व्यवसायिक भवनमा प्रवाह हुने ऋण भने घटेको छ ।

जग्गा खरिदको लागि ऋण प्रवाह समेत गतवर्ष बढेको छ । गतवर्ष १ अर्ब १५ करोड रुपैयाँ ऋण जग्गा खरिदको लागि प्रवाह भएको छ ।

आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्ममा २ खर्ब ३७ अर्ब रुपैयाँ डेढ करोडभन्दा कमको घर निर्माण तथा खरिदको लागि प्रवाह भएको छ । रियलस्टेटमा १ खर्ब ४६ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ ।


क्लिकमान्डु