साउन महिनामा मात्रै १ अर्ब ७१ करोड रुपैयाँले घट्यो बैदेशिक लगानीको प्रस्ताव



काठमाडौं । सरकारले विदेशी लगानी भित्र्याउनका लागि निकै तामझाम गरेपनि लगानीकर्ताहरु आकर्षित हुन सकेका छैनन् । गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालू आर्थिक वर्षको साउन महिनामा मात्रै प्रत्यक्ष बैदेशिक लगानीको प्रतिवद्धता १ अर्ब ७१ करोड १० लाख रुपैयाँले घटेको छ ।

उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा २ अर्ब ११ करोड रुपैयाँ बराबरको प्रत्यक्ष बैदेशिक लगानीको प्रतिवद्धता आएको छ । विभिन्न ६४ वटा आयोजनामा सो बराबरको बैदेशिक लगानीको प्रतिवद्धता आएको हो । गत आर्थिक वर्षको साउन महिनामा ३ अर्ब ८२ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आएको थियो ।

सरकारले विदेशी लगानी भित्र्याउन गरेको कामलाई लगानीकर्ताहरुले विश्वास नगरेको तथ्यांकबाट पुष्टि हुन्छ । लामो सयमसम्म स्थिर सरकार नभएकाले स्थिर सरकार बनेपछि विदेशी लगानी भित्रिन्छ भन्ने आम विश्वास थियो ।

तर, नेकपाको दुईतिहाइको स्थिर सरकार विदेशी लगानी बढाउन असफल भएको छ । मुलुकमा डेढ वर्षदेखि केपी ओली नेतृत्वको स्थिर सरकार छ ।

प्रधानमन्त्रीले विश्व आर्थिक संघमा सहभागी भएर विश्वभरका लगानीकर्तालाई नेपालमा लगानीको वातावरण बनेको भन्दै लगानीका लागि आह्वान गरिसकेका छन् भने देशभित्रै पनि सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गरिसकेको छ ।

उद्योग विभागका अनुसार उद्योगको संख्या बढेपनि लगानीको प्रस्ताव भने घटेको हो । गत वर्षको साउनमा २४ उद्योगमा ३ अर्ब ८२ करोड लगानी गरेर १२ सय ९३ जनालाई रोजगारी सिर्जना गर्ने प्रस्ताव आएकोमा यो वर्षको साउनमा ६४ उद्योगमा २ अर्ब ११ करोड लगानी गरेर २४ सय २९ जनालाई रोजगारी सिर्जना गर्ने प्रस्ताव आएको छ ।

विभागका अनुसार कृषिका ३ आयोजनामा ४ करोड ३५ लाख, सूचना प्रविधिका ६ वटा आयोजनामा ११ करोड ७९ लाख, उत्पादनमूलक क्षेत्रका ७ वटा आयोजनामा ५४ करोड २२ लाख, सेवा क्षेत्रका २८ वटा आयोजनामा ७ करोड ८९ लाख, पर्यटन क्षेत्रका २० वटा प्रोजेक्टमा ६१ करोड ७७ लाख रुपैयाँ बराबरको लगानीको प्रस्ताव आएको छ ।

जबकी गत आर्थिक वर्षको साउनमा कृषिको एउटा आयोजनामा ५० लाख, उत्पादनमूलक क्षेत्रका २ वटा आयोजनामा २ करोड ५० लाख, सेवा क्षेत्रका ७ वटा आयोजनामा १ अर्ब १५ करोड १० लाख, पर्यटन क्षेत्रका २४ आयोजनामा २ अर्ब ३७ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको थियो ।


पुष्प दुलाल