अर्बौं आम्दानी घटाइदिएपछि राष्ट्र बैंकसँग रिसाए बैंकर, बैंकर्स संघले आकस्मिक बैठक बोलायो



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको अर्बौं आम्दानी घट्ने सर्कुलर जारी गरेपछि बैंकरहरु राष्ट्र बैंकसँग रिसाएका छन् । बैंकर्स संघले बुधबार संघको पूर्ण बैठक बोलाएको छ ।

संघमा २८ वटै बैंकका प्रमुख कार्यकारी अधिकृत आवद्ध छन् । बैठकका लागि संघले सबैलाई बोलाएको हो ।

स्प्रेडको गणनाविधि परिवर्तनः बैंकहरुको २२ अर्बभन्दा बढी आम्दानी घट्ने, सेयर बजार प्रभावित हुने

सीइओहरुको भाइवर ग्रुपमा संघले बैठकको निम्ता गरेको छ । एजेण्डाको बारेमा उल्लेख नभएपनि राष्ट्र बैंकले सोमबार जारी गरेको सर्कुलरको विषयमा छलफल हुने एक बैंकका सीइओले जानकारी दिए ।

‘राष्ट्र बैंकले बैंकहरुलाई सिध्याउने उद्देश्यले प्रेरित भएर सोमबार सर्कुलर जारी गरेको छ, त्यसैको विषयमा बुधबारको बैठकमा छलफल हुनेछ,’ ती सीइओले क्लिकमाण्डूसँग भने, ‘राष्ट्र बैंकको सर्कुलर कार्यान्वयन गर्ने हो भने बैंकिङ क्षेत्र ध्वस्त हुन्छ ।’

राष्ट्र बैंकले एक पक्षीय कुरा सुनेर निर्देशन जारी गरेको भन्दै बैंकरहरु रिसले चुर भएका हुन् ।

बैंक सञ्चालक र सिइओकाे उमेर हद तोकियो, एभरेष्टका अध्यक्ष र प्राइमका सिइओले पद छाड्नु पर्ने

राष्ट्र बैंकले सर्कुलरमार्फत स्प्रेडको गणनाविधि परिवर्तन गरेको छ । यो नयानँ व्यवस्था लागू भए अहिलेकै अवस्थामा बैंकहरुको २२ अर्ब रुपैयाँभन्दा बढी आम्दानी घट्ने बैंकरहरुको ठहर छ ।

‘स्प्रेडको गणनाविधि परिवर्तन हुँदा अहिलेकै पोर्टफोलियोमा बैंकहरुको आम्दानी २२ अबर्् रुपैयाँभन्दा बढीले घट्ने देखिन्छ,’ एक बैंकरले भने, ‘बैंकिङ क्षेत्रको हिस्सा ७५ प्रतिशत रहेको नेपाली पुँजी बजारको अवस्था अब के होला ?’

त्यसैगरी, काउन्टर साइक्लिकल बफर, बैंकास्योरेन्स र सीइओ र सञ्चालकको उमेर हद, अन्तर बैंक सापटीलाई सीसीडीमा गण्ना गर्न नपाइने लगायत राष्ट्र बैंकले गरेको व्यवस्थामाथि बुबारको संघको बैठकमा छलफल हुनेछ ।

‘व्यवसायीका कुरा सुनेर बैंकरलाई एकतर्फीरुमा पेलियो’ एक बैंकरले भने, ‘राष्ट्र बैंकले नै हाम्रो व्यथा नबुझेपछि बैंकिङ गर्न गाह्रो हुने भयो ।’

राष्ट्र बैंकले सोमबार जारी गरेको सर्कुलर कार्यान्वयनमा आए ऋणको ब्याजदर भने डेढ प्रतिशतले घट्ने देखिएको छ ।


पुष्प दुलाल