स्प्रेडको गणनाविधि परिवर्तनः बैंकहरुको २२ अर्बभन्दा बढी आम्दानी घट्ने, सेयर बजार प्रभावित हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको २२ अर्ब रुपैयाँभन्दा बढी आम्दानी घट्नेगरी कर्जा र निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड दर) परिवर्तन गरेको छ । राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै स्प्रेडको नयाँ गणनाविधि लागू गरेको हो ।

नयाँ गणनाविधि अनुसार अब बैंकहरुले विभिन्न सरकारी सुरक्षणमा गरेको लगानीबाट प्राप्त ब्याज आम्दानीलाई स्प्रेडमा गणना गर्न पाउने छैनन् । यो आम्दानीलाई स्प्रेडमा गणना गर्न नपाउँदा र ०७६ असार मसान्तमा ४.५ प्रतिशत रहेको स्प्रेडलाई ०.७७ असार मसान्तमा ४.४ प्रतिशतमा झार्दा अहिलेभन्दा बैंकहरुको २२ अर्ब रुपैयाँको हाराहारीमा आम्दानी घट्छ ।

बैंकको ब्याजदर महंगो भएको भन्दै व्यवसायीहरु ब्याजदर घटाउन सडक आन्दोलनमै उत्रिएका थिए । त्यतिमात्रै होइन, व्यवसायीहरुले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नर लगायतलाई भेटेर तीब्र लबिङ गरेका थिए ।

राष्ट्र बैंकले गत फागुनमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै स्पेडको गणनाविधि पुनरावलोकन गर्ने घोषणा गरेको थियो । तर, बैंकरको दबाबका कारण अहिलेसम्म कार्यान्वयन गरेको थिएन ।

स्प्रेडको नयाँ गणनाविधिले खासगरी नविल, इन्भेष्टमेन्ट, स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, एसबिआई, एनआइसी एशियालगायतका ठूला बैंकलाई बढी असर गर्छ । यी बैंकको अर्बभन्दा बढी आम्दानी घट्छ ।

राष्ट्र बैंकले यो व्यवस्था गरेसँगै व्यवसायीहरुको माग पूरा भएको छ ।

यो व्यवस्थाले बैंकहरुको २२ अर्ब रुपैयाँको हाराहारीमा आम्दानी घट्ने एक वाणिज्य बैंकका सीइओले बताए ।

‘यो व्यवस्था लागू भएपछि बैंकहरुको अहिलेको भन्दा २२ अर्ब रुपैयाँभन्दा बढी आम्दानी घट्ने देखिन्छ,’ ती सीइओले क्लिकमाण्डूसँग भने, ‘यो व्यवस्था कार्यान्वयन भएपछि बैंकले प्रतिफल दिन निकै कठिन हुन्छ, जससको प्रत्यक्ष असर सेयर बजारमा देखिन्छ ।’

सेयर बजारमा ७५ प्रतिशतभन्दा बढी हिस्सा बैंकिङ समूहको छ । यो समूहको आम्दानी घटेपछि सेयर बजार पनि घट्ने भन्दै विश्लेषकहरुले चिन्ता व्यक्त गरेका छन् ।


पुष्प दुलाल