राष्ट्र बैंकका कार्यकारी निर्देशक र निर्देशकले सोमबार दौरासुरुवाल र सारीचोलो लगाउनु पर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक र निर्देशक पदमा कार्यरत कर्मचारीहरुका लागि छुट्टै ड्रेस कोटको व्यवस्था गरेको छ ।

पुरुष कर्मचारीका लागि दौरा सुरुवाल र महिला कर्मचारीका लागि सारी चोलोको ड्रेस कोट हप्तामा १ दिन अनिवार्य गरिएको जनशक्ति विभागका कार्यकारी निर्देशक पिताम्बर भण्डारीले जानकारी दिए ।

‘राष्ट्रिय पोशाकलाई प्रोत्साहन गर्ने उद्देश्यले हप्ताको १ दिन दौरा सुरुवाल र सारी चोलो अनिवार्य गरिएको हो,’ सहप्रवक्ता नागिलाले भने ।

‘दौरा सुरुवाल र सारी चोलोलाई पहिले पनि अफिसियल ड्रेसको मान्यता दिइएको थियो,’ भण्डारीले क्लिकमाण्डूसँग भने, ‘साउन १ गतेदेखि लागू हुनेगरी प्रत्येक सोमबार दौरा सुरुवाल र सारी चोलो अनिवार्य गरिएको हो ।’

यो ड्रेस कोट राष्ट्र बैंको उच्च तहका कर्मचारीलाई मात्रै लागू हुने उनले जानकारी दिए ।

‘यो व्यवस्था राष्ट्र बैंकको उच्च व्यवस्थापनभित्र पर्ने निर्देशक र कार्यकारी निर्देशकका लागि मात्रै हो,’ उनले भने, ‘१७ जना कार्यकारी निर्देशक र ५२ जना निर्देशक गरी कूल ६९ जना कर्मचारीलाई मात्रै लागू हुनेछ ।’

यो व्यवस्था लागू भएसँगै आज (सोमबार) देखि निर्देशक र कार्यकारी निर्देशकहरुले तोकिएको ड्रेस लगाउन थालेको सहप्रवक्ता गोविन्द नागिलाले जानकारी दिए ।

‘राष्ट्रिय पोशाकलाई प्रोत्साहन गर्ने उद्देश्यले हप्ताको १ दिन दौरा सुरुवाल र सारी चोलो अनिवार्य गरिएको हो,’ नागिलाले भने ।

यसअघि पनि राष्ट्र बैंकका कर्मचारीले कोट पाइन्ट वा दौरा सुरुवालमध्ये जे लगाए पनि अफिसियल ड्रेसको मान्यता पाउँथ्यो । अहिले पनि त्यो व्यवस्था कायमै छ ।

तर उच्च तहका कर्मचारीलाई हप्ताको १ दिन अनिवार्य गरिएको मात्रै हो ।


पुष्प दुलाल