देशभर २४३ नयाँ पूल बने ९२५ अझै बाँकी



काठमाडौं । सरकारले यस वर्ष देशभरमा जम्मा २४३ सडक पुलको निर्माण सम्पन्न गरेको छ । गत वर्षहरुमा वार्षिक १०० को हाराहारीमा पुल निर्माण हुने गरेकामा यस वर्ष दोब्बरभन्दा बढी सडक पुलको निर्माण सम्पन्न भएको सडक विभागले जनाएको छ ।

यस वर्ष सरकारले ३०० पुल सम्पन्न गर्ने लक्ष्य लिएको थियो । विभागका प्रवक्ता शिवहरि सापकोटाले महत्वाकांक्षी भएकाले मात्रै लक्ष्यमा नपुगिएको बताउनुभयो । एक सयको हाराहारीमा निर्माण हुने गरेकामा दुई सय नाघ्नु नै महत्वपूर्ण भएको उनले बताए । उनले भने ‘अहिले जति निर्माण सम्पन्न भएको छ त्यसमा पनि खुशी हुनुपर्छ ।’

चालू आवको शुरुआतमा पुराना र नयाँ गरेर ९२५ सडक पुल निर्माणाधीन रहेको विभागले जनाएको छ । तीमध्ये निर्माणाधीन ६८२ पुल बजेट नभएकाले सम्पन्न भइनसकेको उनको भनाइ छ ।

पछिल्लो पाँच वर्षमा एक वर्षमा एक सयभन्दा कम मात्रै पुल निर्माण सम्पन्न भएको तथ्याङ्कले देखाएको छ । आव २०७४/७५ मा ८४ र आव २०७३÷७४ मा ७४ पुल निर्माण सम्पन्न भएको थियो । सरकारले यस वर्षको बजेटमा तुइन, फड्के र अस्थायी साँघु दुई वर्षभित्र पूर्णरूपले विस्थापित गर्न आगामी आवको बजेटमा रु २ अर्ब ३८ करोड विनियोजन गरेको छ ।


पुष्प दुलाल