विकास बैंकले ५ करोड ऋण नपत्याएको ग्राहकलाई वाणिज्य बैंकले ९ करोड पत्याएपछि…



काठमाडौं । सामान्यतया ऋणीहरु सबैभन्दा पहिला वाणिज्य बैंकमा ऋण माग्न जान्छन् । किनभने विकास बैंक र फाइनान्स कम्पनीको तुलनामा वाणिज्य बैंकबाट सस्तो ब्याजदरमा ऋण पाइन्छ ।

ऋणको ब्याज र किस्ता बढी तिरौं भन्ने कुनैपनि ऋणीलाई हुँदैन ।

तर, विकास बैंक र फाइनान्स कम्पनीको तुलनामा वाणिज्य बैंकबाट ऋण लिन निकै कठिन हुन्छ । स-साना ऋणीलाई त वाणिज्य बैंकहरुले पत्याउन समेत पत्याउँदैनन् ।

त्यसैले, प्रायः ऋणीहरु वाणिज्य बैंकले नपत्याएपछि मात्रै विकास बैंक जान्छन् ।

तर, पछिल्ला केही वर्षमा नेपाली बैंकिङमा यो प्रवृत्ति उल्टो छ । वाणिज्य बैंकहरु आक्रमक बजार बिस्तारमा उत्रिएसँगै विकास बैंकले करोड नपत्याएका ऋणीलाई विकास बैंकहरुले ५ करोड ऋण दिएर ग्राहक खोसेका उदाहारण पनि प्रसस्तै छन् ।

खराब कर्जा कम गर्न बैंकले गरे बद्मासी, इभरग्रिनिङको समस्या बढ्ने

घटना गत बिहीबारको हो । एक विकास बैंकका कर्जा प्रमुखले बैंकका प्रंमुख कार्यकारी अधिृकत (सीइओ)लाई ब्रिफिङ गरे, ‘सर हामीसँग ५ करोड रुपैयाँ मागिरहेको र हामीले ३ करोड रुपैयाँ मात्रै दिएको ….ग्राहकले ऋण एक वाणिज्य बैंकमा सार्न (लोन स्वाप गर्न) आवेदन दिएको छ ।’

त्यो विकास बैंकबाट मूख्य १२ नम्बरमा पर्ने वाणिज्य बैंकले लोन स्वाप गर्न लागेको ब्रिफिङ सुनेपछि ती सीइओले भने, ‘वाणिज्य बैंकको उच्च व्यवस्थापनले के बैंकिङ गर्छ ? सार्न देउ ।’

त्यो क्लाइन्ट हो डिल्लीबजारमा खाद्यान्न स्टोर सञ्चालन गर्ने व्यावसायिक फर्म । त्यो क्लाइन्टको तराइतिर राम्रै व्यवसाय छ । र, कोल्याटर पनि राम्रै छ ।

‘हाम्रो बैंकसँग त्यो क्लाइन्टले ५ करोड लोन मागेको थियो, हामीले तराईको कोल्याटरमा मात्रै ५ करोड दिन नसक्ने भन्यौं, काठमाडौंको घर पनि धितो राख्ने भए मात्रै ५ करोड दिन्छौं भन्दा उसले मानेन र तराईंको जग्गा धितो राखेर ३ करोड मात्रै दियौं,’ कर्जा प्रमुख सुनाउँदै गए, ‘तर, त्यो वाणिज्य बैंकले तराईको जग्गामै ९ करोड लोन स्वीकृत गरेछ ।’

विकास बैंकका ती सीइओ जिल्ल परे । वाणिज्य बैंहरुले नै यस्तो ‘अनइथिकल कम्पिटिशन’ गरेपछि नेपालको बैंकिङ सिस्टम कसरी बच्ला र खै ?’ उनले भने ।

बैंकहरुको आक्रामक कर्जा प्रवाहमा विश्व बैंक र आइएमएफको असन्तुष्टी

यो त ताजा उदाहारण हो । अब दुई हप्ता अघिको अर्को उदाहारण हेरौं । पूर्वी मोरङको बेलबारीको कुरा हो । एउटा विकास बैंकले बल्लतल्ल १ करोड रुपैयाँ ऋण दिएको एउटा क्लाइन्टलाई वाणिज्य बैंकले ६ करोड रुपैयाँ ऋण दिएपछि कर्जा प्रमुखले यसैगरी सीइओलाई बिफ्रिङ गरेका थिए ।

यी त उदाहारण मात्रै हुन् । विकास बैंकमा दैनिकजसो यसरी लोन स्वापका आवेदनअरु आइरहेका छन् । वाणिज्य बैंकहरु आक्रमक भएपछि विकास बैंकले दिएको भन्दा दोब्बर/तेब्बर बढी ऋण दिएर ग्राहक तान्ने होडबाजी राम्रैसँग चलिरहेको छ बैंकिङ क्षेत्रमा ।

वाणिज्य बैंकहरुको यस्तो हर्कतले विकास बैंकहरु रिसले चुर भएका छन् । आफूले करोड रुपैयाँ दिएको ऋणीलाई वाणिज्य बैंकले सजिलै ५/७ करोड दिएर ग्राहक खोस्न थालेपछि विकास बैंकका सीइओहरु वाणिज्य बैंकको यस्तो क्रियाकलापबाट आजित भएका छन् ।

कतिपयले त राष्ट्र बैंकमा उजुरीसमेत गर्ने गरेका छन् । तर, राष्ट्र बैंकले खासै ध्यान नदिने गरेको उनीहरुको गुनासो छ ।

‘वाणिज्य बैंकले ऋण नदिएपछि त्यो क्लाइन्ट विकास बैंक आउनुपर्ने हो,’ एक विकास बैंकका सीइओले क्लिकमाण्डूसँग भने, ‘यहाँ त विकास बैंकले करोड नपत्याएका ऋणीलाई वाणिज्य बैंकले १० करोड पत्याइदिन्छन्, यो कस्तो बैंकिङ ?’

वाणिज्य बैंकहरु जसरी भएपनि ग्रोथ खोज्न लागेकाले यस्तो समस्या आएको उनको भनाई छ ।

‘वाणिज्य बैंकहरु त ऋण दिन झन् बढी कन्जरभेटिभ हुनुपर्ने हो, तर विकास बैंकभन्दा बढी उदार भइरहेका छन्, २/४ वर्षमा त्यसको परिणाम त बजारले देखिहाल्छ,’ उनले भने, ‘राष्ट्र बैंक समयमै सचेत भएन भने यसले भावी दिनमा ठूलो समस्या निम्त्याउने छ ।’

अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले नेपालका बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जाको तथ्यांकमाथि पटकपटक प्रश्न उठाउँदै आएका छन् । नेपालको वित्तीय क्षेत्रमा इभरग्रिनिङको समस्या रहेको उनीहरुको निष्कर्ष छ ।

खराब ऋणीलाई थप ऋण दिएर ‘मुतको न्यानो’मा बैंकहरु रमाएका कारण यस्तो भएको जानकारहरु बताउँछन् ।


पुष्प दुलाल