बैंकहरुको आक्रामक कर्जा प्रवाहमा विश्व बैंक र आइएमएफको असन्तुष्टी



काठमाडौं । भदौको अन्तिम साता काठमाडौंमा आएको अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)को टोलीले राष्ट्र बैंकका गभर्नर सहित केन्द्रीय बैंकका उच्च अधिकारी तथा वाणिज्य बैंकका अधिकारीसँग राखेको जिज्ञासा खराब कर्जा अनुपात(एनपीएल)सँग सम्बन्धित थियो ।

नेपालको एनपीएल दक्षिण एशियामा नै सबैभन्दा कम छ । यसको अर्थ बैंकले दिएको ऋण उठेको छ र खराब ऋण छैन भन्ने हो । बैंकको काम नै निक्षेप संकलन गर्ने ऋण दिने हो । तर,आइएमएफका अधिकारीहरु नेपालको एनपीएल यती कम भएको मान्न तयार छैनन् ।

‘यत्रो आक्रामक कर्जा लगानी विस्तार गर्दा एनपीएल कसरी कम भयो,यो तथ्यांक विश्वास योग्य देखिएन,’आइएमएफका प्रतिनिधिले नेपाली बैंकरसँग भने । त्यसको जवाफमा बैंकरहरुले नेपालमा पूर्वाधार क्षेत्रमा बैंकहरुको कर्जा प्रवाह कम भएको र धितो त्यसमा पनि जग्गाको धितोमा ऋण जाने हुँदा खराब कर्जाको अनुपात कम भएको जानकारी दिए ।

अहिले दक्षिण एशियामा मुख्य गरेर भारतमा एनपिएलको ठूलो समस्या छ । १० प्रतिशत रहेको एनपिएलको मुख्य कारण बैंकहरुले गरेको पूर्वाधार क्षेत्रमा गरेको ऋणलाई मानिएको छ ।
आइएमएफले सार्वजनिक गरेको दक्षिण एशियाली देशको अपडेटमा नेपालको बारेमा भनिएको छ,‘दुईवर्षमा चारगुणा चुक्ता पुँजी बैंकहरुले बढाएसँगै आक्रामक ढंगले कर्जा विस्तार गरे,यसले बैकिङ क्षेत्रको सुधारको गतिलाई रोक्ने छ।’

आइएमएफले बैंकको जोखिम व्यवस्थापनका कामलाई समेत सुधार्न सुझाव दिएको छ ।
विश्व बैंकले सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपटेडमा बैंकहरुको खराब कर्जा अनुपात कम भएपनि यसको कारण इभरग्रिनिङलाई मानेको छ ।

‘खराब कर्जालाई इभरग्रिनिङ गरेर असल कर्जामा परिणत गरिएको छ,’विश्व बैंकले आफ्नो प्रतिवेदनमा भनेको छ ।

राष्ट्र बैंकले २०७२ सालमा चुक्ता पुँजी बृद्धिको नीति लियो । जसले गर्दा २ अर्ब रहेको वाणिज्य बैंकको पुँजी ८ अर्ब पुग्यो । चुक्ता पुँजी बृद्धि गर्दा विकास बैंक र फाइनान्स कम्पनीको संख्या घटेपनि वाणिज्य बैंकको संख्या घटेन । जसले गर्दा दुई वर्ष अगाडिदेखि बैकिङ प्रणालीमा सुरु भएको कर्जा संकटको समस्या समाधान भएको छैन ।

असार मसान्तमा बैंकहरुसँग ऋण दिनको लागि अत्याधिक पैसा थियो । सरकारको विकास खर्चको कारण बैंकहरुको कर्जा निक्षेप अनुपात ७५ प्रतिशतबाट तल झर्यो । अघिल्ला वर्षहरुमा पुसदेखि सुरु हुने कर्जा संकटको समस्या यो पटक असोज नसकिदै बैकिङ प्रणालीमा सुरु भएको छ ।


क्लिकमान्डु