हातहातमा रेमिट्यान्स पुर्याएको आईएमईको १९ वर्षे यात्रा, अब जनतालाई सेयर

कमलकुमार बस्नेत २०७६ जेठ २९ गते १२:२७ मा प्रकाशित

मंगलबार साँझपख क्लिकमाण्डुको टिम कार्यालयमा पुग्दा भर्खरै बोर्ड मिटिङ सकाएर उनी क्याबिनमा छिरेका थिए ।

सेतो रंगको चेक सर्टमा सजिएका उनी मन्द मुस्कानले हामीलाई स्वागत गरे ।

चिया मगाए, अनि भने, ‘लौ अब सुरु गरौं’ ।

उनी यानेकी आईएमईका प्रबन्ध निर्देशक हेमराज ढकाल ।

आईएमईको १९ वर्षको गौरवशाली यात्रामा उनी बलियो खम्बा हुन ।

आईएमईलाई आजको यो सफलताको उचाइमा पुर्याउनका लागि उनले गरेको अथक मिहेनत र इमान्दारिता कम्पनीको हरेक सफलतामा देख्न सकिन्छ ।

आज कम्पनीको क्षेत्रफल रेमिट्यान्सबाट सुरु भइ पर्यटन, बैंकिङ, हाइड्रो, केबलकार,अटोमोबाइल, कार्गोलगायतका कैयन व्यवसायसम्म फैलिएको छ ।

त्यतिमात्रै होइन, आईएमईले विदेशबाट रेमिट्यान्स भित्राएसँगै यसै प्रणालीमार्फत हजारौं नेपालीहरुलाई देशका सबैजसो ठाउँमा उद्यमीहरु जन्माइसकेको छ ।

कम्पनीका सिईओ सुमन पोख्रेलका अनुसार हालसम्म १० हजारभन्दा बढी मानिसहरु आईएमईका कारण स्वदेश तथा विदेशमा स्वरोजगार भएका छन् ।

मुलुकभर छरिएर रहेका २ सयभन्दा बढी आईएमई सेन्टर र १० हजारभन्दा बढी काउन्टरबाट हरेक दिन विदेशमा दुःख गरी कमाएको पैसा घर घरमा पुर्याइरहेका छन् ।

आईएमईको कम्पनीमा मात्रै २ सयभन्दा बढी कर्मचारीले विदेशबाट आएको रकम आफन्तका सुरक्षित तरिकाले हातहातमा पुर्याइरहेका छन् ।

खाडी मुलुकमा रगत र पसिनासँग साटेको पैसा निमेष भर मै घर घरमा पुर्याउनु कत्तिको चुनौती थियो त ? क्लिकमाण्डूको प्रश्न नसकिँदै ढकाल विगत फर्किए ।

‘झण्डै २ दशक अघि रोजगारीका लागि खाडीबाट नेपाल पैसा पठाउनका लागि निकै कठिन थियो । बैंकबाट लामो र झन्झटिलो प्रक्रिया पुर्याएर मात्रै नेपाल पैसा पठाउन सकिथ्यो । विदेशी भूमिमा दुःख गरी कमाएको पैसा अरुकै हातबाट नेपाल पठाउनु निकै गाह्रो काम थियो’ उनले भने ।

कैयन नेपालीहरु जस्तै वैदेशिक रोजगारीको सिलसिलामा जापानमा थिए । जापानमा काम गर्ने धेरै नेपालीले भोग्दै आएको यो समस्याप्रति ढकाल जानकार थिए ।

जापानबाट पैसा पठाउनका लागि नेपालीहरुले पाएको दुःख उनले बुझेका थिए । त्यसैबेला उनले यसलाई व्यवस्थित गर्नका लागि केही गर्न सकिन्छ कि भन्ने सोच पलाएको थियो ।

आईएमईका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेपालमा वाणिज्य बैंकमा जागिरे थिए । भाइ हेमराजले सुनाएको यो योजना उनलाई मन पर्यो । भाइ हेमराज मनमा पलाएको सोचलाई मूर्तरुप दिन सन् १९९८ मा नेपाल फर्किए ।

जापानबाट फर्किसकेपछि रेमिट्यान्समा हात हाल्ने ढकालको योजना त थियो तर त्यस अनुसारको नीति थिएन । त्यसैले ढकालले सुरुमा इन्टरनेशनल मनि एक्सचेन्जका नामबाट कान्तिपथमा मुद्रा सटही काउन्टर सुरु गरे ।

उनको अग्रसरतामा नेपालमा पहिलो पटक ब्रिपेषण सम्बन्धि नीति बन्यो । मुद्रा सटही व्यवसाय सुरु गरेको झण्डै एक वर्षपछि आईएमईको रेमिट्यान्स कम्पनी सुरु गर्न पायो । अब विदेशी मुद्रा सटही गरिरहेको आईएमईले अब विदेशबाट पैसा ल्याउन पाउने भयो ।

तत्कालिन समयमा विदेशबाट नेपाल पैसा ल्याउन असम्भव जस्तै थियो । भाषागत समस्या र झन्झिटिलो प्रक्रियाले विदेशमा श्रम गर्ने नेपालीहरुका लागि सहज थिएन् ।

श्रमको खोजीमा विदशी भूमि पुगेकाहरुलाई पैसा पठाउनु असम्भव जस्तै थियो । यसको फाइदा अवैधरूपमा हुण्डीको कारोबार गर्नेहरुले लिएका थिए । जसले गर्दा कालो धनको कारोबार पनि मौलाएको थियो । जसका कारण राज्यले प्राप्त गर्ने राजश्वसमेत गुमेको थियो ।

तर आईएमईकै अग्रसरतामा बनेको रेमिट्यान्स सम्बन्धि नीतिगत निर्णयले आज वैधानिक रूपमा विप्रेषण भित्रिएको मात्रै छैन । विदेशमा श्रम गर्न गएका नेपालीले पठाएको रकम सहजरूपमा आफ्ना आफन्तले एकाध मिनेटमा नै पाउने वातावरणसमेत बनेको छ ।

केन्द्रीय बैंकले भर्खरै सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महिनाको आर्थिक विवरणमा ६ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको यही अवधिमा विप्रेषण आप्रवाह ५.६ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७५÷७६ मा सात खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ बराबरको विप्रेषण आएको थियो ।

विप्रेषण आयातमा प्रत्येक वर्ष वृद्धि भइरहेको छ । वैदेशिक रोजगारीको खोजीमा विदेशिएका युवाले पठाएको रकमले देशको अर्थतन्त्रलाई सबल बनाउन मात्रै मद्दत गरेको छैन, आर्थिक रूपमा पछाडि परेका नागरिकको जीवनस्तर सुधार गर्नसमेत मद्दत पुगेको छ ।

त्यो ४७८९० रुपैयाँ

सन् २००१ तिर सरकारले रेमिट्यान्सको नीति पारित गरेसँगै आईएमई मनि एक्सचेञ्जबाट मनि एक्सप्रेस बन्यो । यसले विदेशबाट पैसा नेपाल ल्याउने बाटो खोलिदियो ।

तत्कालिन समयमा विदेशी भूमिका दुःखले आर्जेको सम्पत्ति नेपाल पठाउनका लागि बैंकको झन्झटिलो प्रक्रिया अपनाउनु पथ्र्यो । बैंकमा ड्राफ्ट गरेपछि लामो समयसम्म पनि पैसा नेपाल आउँदैनथ्यो ।

रेमिट्यान्स कम्पनीका रुपमा स्थापित भइसकेपछि ढकालले कम्पनीको मार्केटिङलाई मलेसियामा बिस्तार गरे । पूर्वी नेपालबाट मेलेसियामा रोजगारीका लागि गएका रामशरण थापाले पहिलो पटक ४७ हजार ८९० रुपैयाँ आईएमईबाट नेपाल पठाए ।

त्यो पहिलो कारोबार सम्झँदै हेमराज ढकालले भने, ‘त्यो पल हाम्रा लागि निकै खुसीको पल थियो, यतिसम्म कि पैसा आएपछि लड्डु नै बाँडिएको थियो ।’

आज पहिलो पटक आईएमई गर्ने थापा स्वदेशमै आईएमईमै जोडिएका छन् । पहिलो पटक आईएमई गर्ने थापा अहिले कैयन उपभोक्ताका लागि आईएमई गरिरहेका छन् । उनी मात्रै होइन, उनकी छोरी पनि आईएमईमै आफ्नो करिअर बनाइरहेकी छन् ।

आईएमईले मलेसियाबाट पैसा नेपाल ल्याएको मात्रै थिएन, रेमिट्यान्सको क्षेत्रमा नयाँ जग समेत हालेको थियो । जसबाट बैंकको झन्झटिलो प्रक्रिया हटाएर निमेष भर मै पैसा हात पर्ने वातावरण बनाइदिएको थियो ।

आज त्यही जगमा टेकेर ४८ वटा रेमिट्यान्स कम्पनीहरुले विदेशबाट पैसा नेपाल ल्याउने काम गरिरहेका छन् । तर आईएमईको बजार ४८ वटा कम्पनीमा ३५ प्रतिशतभन्दा बढी छ । जसले प्रत्येक वर्ष २ खर्बभन्दा बढी रुपैयाँ नेपाल भित्राइरहेको छ ।

विशेष गरी मलेसिया, साउदी अरब, कतार, दुवइ दक्षिण कोरिया, जापान र भारतलगायतका देशबाट आईएमईले नियमित रूपमा विप्रेषण नेपाल भित्राइरहेको छ ।

१९ वर्षको साम्राज्य

१९ वर्ष अगाडि सन् २००१ मा पहिलो पटक रेमिट्यान्सका रुपमा ४७८९० रुपैयाँ भित्राएर व्यवसाय सुरु गरेको आईएमईले आजसम्म ३० खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्राइसकेको छ ।

आईएमईले पैसा मात्रै नेपाल ल्याएन, पैसालाई बैधानिक बाटोमा नेपाल ल्याउनका लागि महत्वपूर्ण सुरुवात समेत गरेको थियो । तत्कालिन समयमा पैसा पठाउन बैंकको झण्झटिलो प्रक्रिया थियो । मानिसहरु पैसा पठाउन बैंको झन्झटिलो प्रक्रियालाई पाखा लगाएर हुन्डिको बाटो पैसा नेपाल पठाउन सजिलो मान्थे । मानिसहरुलाई त्यो दैनिकी जस्तै बनेको थियो ।

हुन्डिको कारोबारले गाँजेको मनमा आईएमई स्थापना गराउनु निकै चूनौतीपूर्ण काम थियो । यसका लागि उनले विभिन्न देशमा पुगी बजार व्यवस्थापनलाई विस्तार गरे । आईएमईलाई सबैको मनमा बसाल्नका लागि चुस्त व्यवस्थापनले बलियो काम ग¥यो ।

सन् २००५ मा आइपुग्दा व्यवसायले गति लिन सुरु गरिसकेको थियो । यसैबीच वाणिज्य बैंकका कर्मचारीका रुपमा काम गरिरहेका चन्द्र ढकाल कम्पनीको बागडोर सम्हाल्न आइसकेका थिए । त्यसपछि दिनप्रति दिन गर्दै कम्पनी अगाडि बढ्न थाल्यो ।

मुलुकका अधिकांश ठाउँमा बैंकिङ पहुँच पुग्न सकेको थिएन । तर आईएमई पुगिसकेको थियो । विभिन्न अप्ठ्यारा र चूनौतीका बीच पनि आईएमईले बजार विस्तारलाई बढावा दियो । तीव्रगतिमा बजार व्यवस्थापन तिर लम्कियो ।

बैंकिङ पहुँचको त्यही चूनौतीलाई आईएमईले अवसरका रुपमा लियो । फलस्वरुप हरेक जिल्लामा आईएमई पुग्यो । बैंकमा खाता नहुनेहरुले पनि सहजै पैसा पठाउन र पाउन सक्ने भए । सन् २०१० तिर आइपुग्दा आईएमईले भूगोलमा मात्रै होइन हरेक नेपालीका मनमा पनि बलियो पहुँच स्थापित गरिसकेको थियो ।

कम्पनीले सहज बनाउने क्रममा आईएमईले सुरुमा फ्याक्स र त्यसपछि इमेलमार्फत डाटा ट्रान्सफर गरी सेवालाई छिटो र छरितो बनायो । पछि आफ्नै सफ्टवेयर आएपछि अझ बढी सजिलो भयो । अहिले डिजिटलको प्रविधि आइसकेका छ । हरेकका हातमा स्मार्टफोनले पैसा पठाउन र पाउनका लागि निकै सहज बनिदियो ।

आईएमईले उपभोक्तामैत्री सेवा यति लोकप्रिय भइदियो कि पैसा पठाउने र पाउनु भनेकै आईएमई नै गर्ने हो भन्ने स्थापित भइसकेको थियो । यही लोकप्रिय शब्दलाई टपक्क टिपेर कम्पनीले नयाँ नारा दियो, ‘आईएमई गरौं’ ।
कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले विभिन्न भूमिकामा विदेशबाट आईएमई गरौं भन्ने सन्देश दिए ।

उक्त सन्देश रेडियो, टेलिभिजन, अखबार र अनलाइनका माध्यमबाट प्रत्येक नेपालीकहाँ पुग्यो । जसले रेमिट्यान्सको पर्यायका रुपमा आईएमई गरौं शब्द स्थापित भइदियो । यतिबेलासम्म आईएमई कम्पनीको नाम नभइ रेमिट्यान्सको पर्यायवाची शब्दमा ब्राण्डिङ भइसकेको थियो ।

ढकालका शब्दमा ‘आजका दिनसम्म उपभोक्तको आईएमईप्रतिको गुनासो ०.००१ प्रतिशत पनि छैन, आईएमई गर्नु भनेको दुःख गरी आर्जेको सम्पत्ति सुरक्षित गर्नु हो भन्ने सबै नेपालीहरुले बुझिसकेका छन् ।’

ज्ञानेन्द्रको कु र ती ३ दिन

२०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले ‘कु’ गरे । सञ्चारका सबै माध्यम बन्द भयो । फोन, मोबाइल फोन सबै ठप्प भयो ।

खाडी मुलुकबाट पैसा पठाउनेहरु विभिन्न देशका काउन्टरमा लामबद्ध थिए । पैसा पठाउनका लागि ड्राफ्टको ठूलो चाङ लागेको थियो । तर नेपालमा सञ्चारका सबै माध्यम बन्द हुँदा डाटा पठाउनै सकिएको थिएन् ।

ढकालले भने, ‘तर सञ्चारका सबै माध्यम बन्द हुँदा पनि हाम्रो गति रोकिएन, सेटेलाइट फोनमार्फत डाटा पठाएर भए पनि पैसा भुक्तानी गर्न सक्यौ ।’ कम्पनीको त्यही उपभोक्तामैत्री सेवा भएकाले हामीलाई काम गर्न उत्साह मिल्यो ।

आज आईएमई जुन अवस्थामा पुगेको छ । त्यसका पछाडि १९ वर्षको लगनशिलता, इमान्दारिता र उपभोक्तामैत्री व्यवसाय नै हो । आज प्रत्येक दिन आईएमईका ग्राहकरु बढेका छन् । अहिले हरेक दिन २५ हजारभन्दा बढी नेपालीहरुले विदेशमा पठाएको पैसा ढुक्क मनले आईएमई गरिरहेका छन् ।

अब जनतालाई सेयर

१९ वर्षसम्म विदेशबाट हरेक दिन आएको पैसा नेपालीका हातहातमा पुर्याउँदै आएको आईएमईले अब सबैलाई हातहातमा सेयर दिने भएको छ । आईएमई अब प्राइभेट लिमिटेड कम्पनीबाट लिमिटेडमा रुपान्तरण भइसकेको छ ।

आईएमईले टिनएज पार गरी २० औं वर्षमा प्रवेश गर्दैैगर्दा हरेक नेपालीहरुलाई उपहारस्वरुप हातहातमा सेयर दिने योजनालाई मूर्तरुप दिने तयारीमा जुटेको छ ।

‘आईपीओ जारी गर्नका लागि आईएमई अब प्राइभेट लिमिटेड कम्पनीबाट लिमिटेड कम्पनी भएको छ,’ ढकालले भने ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स